काठमाडौं । पोखरा महानगरपालिकाले फेवा तालको मापदण्डभित्रै वन क्षेत्रमा अवैधरूपमा डाँडा कटान गरेर बाराही समूहलाई ५ तारे लक्जरी रिसोर्ट सञ्चालन गर्न दिएको खुलेको छ । वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी छ अर्ब लगानीमा पोखरा १८ स्थित सेदी डाँडा कटान गरेर तारे रिसोर्ट बनिरहेको हो ।बाराही सेदी लिमिटेडले बनाउँदै गरेको ५ तारे लक्जरी रिसोर्टलाई मेयर धनराज आचार्यले गैरकानुनीरूपमा राजस्व छुट दिएका छन् भने अख्तियारलाई समेत अटेरी गरेका छन् । यही रिसोर्ट निर्माणका क्रममा भएको सेदी डाँडा कटानमा करोडौँ अनियमितता भएको भेटिएको छ ।पोखरा महागरपालिकाले २०८० माघ १२ गते बाराही सेदी प्रालिबाट २६ लाख २२ हजार चार सय ३१ रुपैयाँ असुली गरेको छ । तर, बाराही सेदीबाट महानरपालिकाकाले तीन करोड सात लाख रुपैयाँ असुल गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता गरेको थियो । मेयर आचार्यले अख्तियारको ताकेता नै अवज्ञा गरेका थिए । बाराही सेदी प्रालिले सेदीडाँडा कटानका लागि महानगरपालिकाबाट २०७८ वैशाख ६ गते २ दिनलाई मात्रै डोजर चलाउने अनुमति लिएको थियो । तर, निर्माण थालिएदेखि अहिले पनि उक्त डाँडा क्षेत्रमा डोजर चलिरहेको छ । अहिले त्यहाँ पुग्दा रिसोर्ट निर्माण भएको स्थल आसपास डोजर चलिरहेको भेटिन्छ । महालेखा परीक्षकको पछिल्लो आर्थिक वर्षको प्रतिवदेनअनुसार बाराही सेदी प्रालिबाट राजस्व असुली गर्दा महानगरपालिकाले तीन करोड सात लाख रुपैयाँ राजस्व हिनामिना भएको छ ।तर, वर्षौँदेखि न कसैले कारबाही गरेको छ न त अख्तियारले मुद्दा नै अभियोजन गरेको छ । २ दिनको लागि भनेर डोजर चलाउने अनुमति लिएर वर्षौँसम्म चलाए पनि त्यसको राजस्व निर्धारण नगरी छुट दिएको महालेखाको भनाइ छ । अर्कोतर्फ महानगरपालिकाले बनाएको आर्थिक ऐनको धज्जी उडाएर माटोजति पोखरा रंगशालामा बिक्री गरिएको भए पनि त्यो बिक्रीलाई गुपचुप राखेर राज्यले करोडौँ राजस्व गुमाएको स्थिति छ । महानगरपालिकाले छानबिन गर्न गठित समितिले समेत प्राविधिक प्रतिवेदनअनुरूप स्टकमा रहेको सामग्री एक्सेस रोडमा पुरेको माटोको राजस्व यकिन नगरेको र तदारुकता समेत नदेखाएको महालेखाको भनाइ छ । महालेखाका अनुसार महानगरपालिकाले २६ लाख मात्रै राजस्व लिएर करोडौँ राजस्व गुमाएको छ । महानगरपालिकाले समिति बनाएर राजस्व हिनामिनामा सहयोग गरेको पाइएको छ । १४ हजार नौ सय २१ घनमिटर माटो रिसोर्टको जग पुर्न प्रयोग भएको भनी अस्वाभाविक परिमाण देखाएकाले छानबिन गर्नुपर्ने औँल्याएको छ ।२०७८ सालदेखि निरन्तर डोजर चलेकोले ३ आर्थिक वर्षको मात्रै ६२ रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टबाट डोजरको अनुमतिस्वरूप प्रतिरोपनी आठ हजारका दरले १४ लाख ४८ हजार रुपैयाँ कर असुल्नु भनेको छ । त्यस्तै समितिको रिपोर्टअनुसार बाटोमा राखिएको भनिएको १४ सय घनमिटर माटोको एक सय २० रुपैयाँका दरले एक लाख ६८ हजार रुपैयाँ अर्को राजस्व समेत असुल्न भनेको छ । त्यस्तै चार हजार नौ सय ४० घनमिटरको पाँच लाख ९२ हजार रुपैयाँ राजस्व पनि महानगरपालिकाले छुट दिएको महालेखाले जनाएको छ । बाराही सेदी प्रालिलाई महानगरले बनाएको आर्थिक ऐनअनुसार असुल्नुपर्ने ३९ लाख रुपैयाँ राजस्व छुट दिएर अनियमितता गरेको भेटिएको हो । महालेखाले महानगरको आर्थिक ऐन र अनियमितता ढाकछोप गर्न महानगरपालिकाले बनाएको समितिको प्रतिवेदनको अधारमा हिसाब निकाले पनि सेदी डाँडाबाट कटान भएको माटो पोखराको रंगशाला पुर्ने नाममा बिक्री गरिएको थियो ।भवन निर्माणको लागि अस्थायी स्वीकृति प्राप्त भएपछि मात्र जमिन कटानको अनुमति लिनुपर्ने हुन्छ । तर, बाराही समूहले राजस्व नै नतिरी मेसिन प्रयोगको अनुमति लिएका थियो । हरिप्रसाद पौडेलले महानगरका मेयरलाई स्लिपिङ पार्टनरको रूपमा हिस्सा दिएपछि डाँडा कटान र माटो घोटाला भएको पोखरामा चर्चा हुने गरेको छ । फेवातालको नजिक रहेको डाँडामा डोजर प्रयोग गर्दा त्यहाँको माटो बगाएर तालमा मिसिएको छ । बाराही समुहकै लगानी रहेको पोखराको एक दैनिक पत्रिकामा विज्ञापन नै राखेर सेदी डाँडाभन्दा पश्चिमपट्टि फेवातालको मुहानमा रहेका सिमसार क्षेत्र पुर्नका लागि माटो लैजाने सूचना सार्वजनिकरूपमा नै प्रकाशित गरिएको थियो । पोखरा महानगरले नै गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनअनुसार २०७८ सालदेखि नै जमिन कटान गरिएको र निर्माणास्थलमा भएको माटोमध्ये ५० प्रतिशत सोही स्थानमा उपयोग गरिएको र ५० प्रतिशत निकासी भएको अनुमान गरिएको छ । जम्मा कटान हुने माटोको परिणाममा ३६ हजार सात सय ७५ घनमिटर र हालसम्म ३० हजार एक सय ४७ घनमिटर माटो कटान भएको उल्लेख गरिएको छ । सहकारी ठगी मुद्दामा हाल कारागारमा रहेका महेन्द्र भोटेको समेत लगानी रहेको यो समूहले छ अर्बमा लगानीमा निर्माण गर्दै गरेको यो होटललाई आईपीओमा लगेर सर्वसाधरण ठगी गर्ने प्रपञ्चका लागि एनएमबी क्यापिटलसँग सम्झौता गरिएको छ ।वन तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौंले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नगरी सेदी लक्जरी होटलले भौतिक संरचनाहरू निर्माण तथा डाँडा कटान गर्ने कार्य गरेको हुँदा २०८० वैशाख २४ गते १५ लाख रुपैयाँ जरिबाना गराएको थियो । बाराही सेदी प्रालिको परामर्शदाता नेपाल इन्भाइरोमेन्ट डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रालिले पेस गरेको वातावरणीय प्रभाव मूल्यांकनमा समेत चलाखीपूर्ण ढंगले निर्माणका क्रममा उत्खनन हुने माटो र त्यसको उचित व्यवस्थापनको विषयमा कहीँ कतै केही पनि उल्लेख गरिएको छैन । हाँस्यास्पद त के छ भने महानगरले नै बनाएको छानबीनसमितिले लाखौँ घनमिटर माटो रिसोर्टको जगमा प्रयोग भएको भनी झुटो प्रतिवेदन दिँदा समेत अख्तियार मौन छ ।