देशमा यतिबेला नवौँ आम निर्वाचन चलिरहेको छ । यो निर्वाचमा सबभन्दा धेरै दलहरू सामेल भएका छन् । ती दल मध्येबाट छ सातवटाले त आफ्ना भावी प्रधानमन्त्री भनेर निर्वाचनअघि नै नाम प्रस्ताव गरिसकेका छन् । व्यक्तिगतरूपमा घोषणा नभएका पनि ती दलले जितेमा कसलाई प्रधानमन्त्री बनाइएला भन्ने निश्चितै छ । यसमा साना र ठूला, नयाँ र पुराना सबै पर्छन् ।यो निर्वाचनको मूल एजेन्डा भनेको सुशासन हो । भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाबाहेक यो निर्वाचनको अर्को उद्देश्य छैन । यो निर्वाचनका लागि पृष्ठभूमिमा रहेको तत्व जेन–जी आन्दोलनको पनि प्रमुखमाँग यही सुशासन थियो । त्यसकारण पनि यो निर्वाचनमा यही सुशासन प्रमुख एजेन्डा बनेको बुझ्न सकिन्छ ।तर चुनावको मुखमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर चिनाउनेहरूले जस्तो काम गरिहेका छन्, त्यसले चाहिँ भ्रष्टाचारको जग निर्माण हुँदैगरेका देखिन्छ । उनीहरूका बुझाइमा उनीहरूले जे गरिहेका छन् त्यो भ्रष्टाचार होइन । तर भ्रष्टाचारसम्बन्धी विश्व मान्यताले भने त्यसैलाई अर्थात् उनले गरेका यस्ता कामलाई नै भष्टाचार भन्छ ।
कस्तालाई प्रवेश गराइँदै छ ?
निर्वाचन आचार संहिता लागू हुने बेलामा जस–जसले जस–जसलाई पार्टी प्रवेश गराए, ती व्यक्तिको पृष्ठभूमि भ्रष्ट थियो । यहीँबाट भ्रष्टाचारको जग बसाउन थालिएको मान्नुपर्छ । पार्टी प्रवेशको सन्दर्भमा तीन दल नेकपा, एमाले र श्रमशक्ति चर्चामा आएका छन् । तिनले कस्ता व्यक्तिलाई भव्य स्वागतका साथ आफ्नो पार्टीमा भित्र्याए भन्ने विभिन्न माध्यममा सार्वजनिक भएका र खण्डन नगरिएका समाचार विवरणका केही नमुना अंश यहाँ प्रस्तुत छ ।
एक ः नेकपा
यो दलले भित्र्याएका व्यक्तिकाबारे सामाचार विवरणको एउटा अंश– भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । भृकुटीमण्डपस्थित फनपार्क जग्गा भाडा प्रकरणमा भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका उनलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे । २०७९ फागुन २६ गते विशेष अदालतले उनलाई नौ वर्ष छ महिना) कैद र दुई करोड ४३ लाख ६८ हजार आठ सय तीन जरिवाना तथा त्यही बराबरको बिगो असुल गर्न आदेश दिएको थियो । विशेष अदालतले सजाय सुनाए पनि उनी बाहिरै रहँदै आएका छन् । विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित नौ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १४ जनाविरुद्ध २०७५ माघ २१ गते मुद्दा चलाएको थियो । सुरूमा पाँच लाख रुपैयाँ धरौटी बुझाएर छुटेका उनलाई विशेष अदालतले अन्तिम फैसलामा दोषी ठहर गरेको थियो । समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपको ६० रोपनी जग्गा नियमविपरीत सस्तो दरमा फनपार्कलाई भाडामा दिएर संस्थालाई हानि पु¥याएको आरोप उनीमाथि थियो । विशेष अदालतले नौ वर्ष छ महिना कैद सजाय सुनाए पनि अहिलेसम्म उनी जेल गएका छैनन् । यो मुद्दामा प्रमोद मेहतालाई आठ वर्ष छ महिना कैद, हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई आठ वर्ष कैद र अरुलाई जति नै बिगो र जरिवानाको फैसला भएको थियो । त्यसैगरी रवीन्द्रकुमार यादवलाई बद्री न्यौपानेलाई जस्तै नौ वर्ष कैद सजाय तोकिएको थियो । उनीबाट अरुलाई जतिनै बिगो भराउने फैसला पनि विशेष अदालतले गरेको थियो ।
नेपाली कम्युनिष्ट पार्टी र चुरे भावर पार्टीबीचको सहमति यस्तो–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष प्राप्त गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक आजको वस्तुगत आवश्यकता हो । यही आवश्यकतालाई ध्यानमा राखी नेपालको कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलनका विभिन्न धारहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टी र चुरे भावर पार्टीबीच देशमा राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनमार्फत सुशासन, समाजिक न्याय र समृद्धि हासिल गर्ने साझा लक्ष्य र उद्देश्यका आधारमा एकीकृत गर्ने सहमति भएको छ ।
१. नेपाली कम्युनिस्ट पार्टीमा चुरे भावर पार्टी एकता प्रक्रियामा समायोजित भएको छ । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा रहने छ ।
२. चुरे भावर पार्टीले उठाउँदै आएको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मुद्दालाई उच्च प्राथकितासाथ आत्मसात गरिने छ ।
३. चुरे भावर पार्टीका अध्यक्ष बद्री प्रसाद न्यौपानेसहितका पदाधिकारी तथा विभिन्न तहका सदस्यहरूलाई योग्यता र क्षमता अनुसार केन्द्रीय समिति÷प्रदेश समिति÷जिल्ला समिति÷स्थानीय समितिमा समायोजन गरिने छ ।
४. प्रतिनिधिसभाको आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट मनोनयन गर्नुभएका उम्मेदवारहरू जिताउन सशक्तरूपमा लाग्ने सहमति गरिएको छ ।
मिति ः २०८२ माघ १३ गते
बद्री प्रसाद न्यौपाने अध्यक्ष, चुरे भावर पार्टी
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक
(विकिपिडियामा राजनीतिक भ्रष्टाचार ः भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूविरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा सङ्गठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको साथ कार्य गर्दा हुन्छ ।)
दुई ः श्रम संस्कृति पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । केही वर्षअघि रास्वपाबाट निष्कासित भएका श्रेष्ठलाई माघ १३ मा अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन् । ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ । अब लागौँ है त,’ साम्पाङले फेसबुकमा लेखेका छन् । रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो । अडिओ बाहिरिएपछि उनलाई रास्वपाले अनुशासनको कारबाही गरेको थियो । त्यस्तै उनको मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । उनी ७५ हजार धरौटी बुझाएर छुटेका थिए ।
यो प्रवेशबाट आफूलाई भावी प्रधानमन्त्री दाबी गरेका अध्यक्ष हर्क साम्पाङ पनि यो रोजाइबाट भावी भ्रष्टाचारको योजनामा लागेको बुझाउछ । श्रेष्ठले मन्त्री नभै ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे दुई जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’ भनेर घुस मागेको त्यो सम्बादको एउटा अंश –
दुर्गा प्रसाईं ः अनि नि, खास कुरा चाहिँ के मलाई अलिकति भन्नु त डाक्टर साब ।
ढाकाकुमार श्रेष्ठ ः स्वास्थ्य हामीले पाउने भयौँ । पार्टीलाई अलि अलि सहयोग गर भनिएको छ । आन्तरिक कोर टिम २÷३ जनाले साढे दुई जति चाहियो भन्दै थिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज त्यो मैले फिक्स गर्नुछ के दाइ, सर । म फेरि आर्थिकमा त्यस्तो उ छैन । मन्त्री पनि बन्न प¥यो । धोइपखाली गरेर यो स्वास्थ्य क्षेत्र सुधार्न छ । केही गर्छु भनेर मैले सोच गरेको छु । त्यसमा हजुरहरूको सहयोग सपोर्ट चाहियो ।
दुर्गा प्रसाईं ः अच्छा, मैले तपाईसँग एउटा कुरा बुझ्न खोजेको । राष्ट्रिय स्वतन्त्र पार्टीमा डाक्टर भनेको मैले त डाक्टर तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ ।
ढाकाकुमार श्रेष्ठ ः होइन नि हामी तीन जना छौँ ।
दुर्गा प्रसाईं ः अब हेर्नुस् है । स्वास्थ्यमा धेरै ठूलो समस्या छ । हैन डाक्टर साब ? देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । दुबईका डान्सबारमा हाम्रै चेलीबेटीले डान्स गरेका छन् । त्यसो गर्नुभन्दा नर्स पढाऔँ । हो कि होइन ?
ढाकाकुमार श्रेष्ठ ः स्वास्थ्य, शिक्षा नलिने...। मुकुलजीलाई यो कुरा त्यति थाहा छैन सर । आन्तरिक कुरा हो । मुकुल जी पनि त्यो कोर टिममा हुनुहुन्न के । बाहिर–बाहिर महामन्त्री नै हो । हजुरलाई पार्टीको कुरा गर्दा त्यहाँ २÷३ जना छुट्टै हुनुहुन्छ रविसरलाई धेरै सहयोग गर्ने । सुरुवाती क्षणदेखि नै धेरै सहयोग गर्ने । त्यो टिमबाट मलाई कुरा आएको हो । आज मैले पैसा पेश गर्नुपर्दछ । उधारो हुन्न भन्छन् फेरि ।
दुर्गा प्रसाईं ः क्यास पैसा । अढाई करोडको कुरा आयो ? कि दुई करोड ?
ढाकाकुमार श्रेष्ठ ः दुई, साढे दुई करोड भनेका छन् । अहिले मैले एक दिएँ भने पनि मान्छन् होला । पछिको चेक दिए पनि मान्छन् के २÷३ दिनको ।
दुर्गा प्रसाईं ः आज बन्द छ नि त । सुन्नुस् है कुरा । बैंकबाट नौ लाख ९९ हजारभन्दा बढीको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर गर्ने हो भने मैले दिन्छु, म सहयोग गर्छु तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।
ढाकाकुमार श्रेष्ठ ः होइन, होइन त्यो त म गर्छु । मलाई त यो गोविन्द केसी देखेर दिक्क लाग्छ । कहिले मर्छ जस्तो लाग्छ । पूरै एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो ।
तीन ः एमाले
विवादित सेयर कारोबारी दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल एमाले प्रवेश गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । अग्रवाल ठगी आरोपमा पक्राउ परी हाजिर जमानीमा छुटेका थिए । सेयरमा लगानी गर्ने विषयमा छ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको थियो । पीडितलाई सेयर दिने भन्दै रकम लिएको तर नदिलाएको आरोप अग्रवालमाथि छ । उनीमाथि गोल्डम्यान इन्भेस्टमेन्टको नाममा लगानीकर्ताहरूलाई ठगी गरेको आरोपमा अनुसन्धान भएको थियो । साउन ५ गते पक्राउ परेका उनी साउन १५ गते हाजिर जमानीमा छुटेका थिए ।
चार ः बालेनको गाडी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको बालेन्द्र शाहले चुनावी प्रचारप्रसारको क्रममा आफैँ ‘ड्राइभ’ गरेर गएको ‘ल्यान्ड क्रुजर डिफेन्डर’ (बागमती प्रदेश–०१–०३३च४३४३) गाडीको प्रसंगले सामाजिक सञ्जाल मात्र होइन, चिया पसलदेखि राजनीतिक बहससम्म तरंग सिर्जना गरेको छ । उक्त गाडी भोला गुट्खा, जित सूर्ती र करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीले बालेन्द्र शाहलाई निःशुल्क उपलब्ध गराएका हुन् । त्रिमूर्ति इन्डस्ट्रिजका साहू मालपानीले काइरोस इन्टरनेसनल कम्पनीमार्फत नेपाल भित्र्याएको करीब आठ करोड मूल्य पर्ने ‘ल्यान्ड क्रुजर’ चढेर बालेन्द्र चुनावी क्याम्पेनमा डुलिरहेका छन् ।विगतमा राजनीतिक दल र तिनका नेताहरूले भ्रष्टाचारलाई प्रश्रय दिए, आफू पनि भ्रष्ट बने र कुशासनले समाज आक्रान्त बन्यो । भ्रष्टाचारको त्यो दलदलबाट मुलुकलाई त्राण दिन्छौँ भनेर सुशासनको नारा दिने रास्वपाका नेताले व्यापारीको गाडी चुनाव प्रचारप्रसारमा लगाएपछि कसरी सुशासन होला भन्ने प्रश्न उठेको हो ।
बालेन चढेको डिफेन्डर गाडीकामालिक विवादास्पाद व्यापारी करेन्ट चाउचाउ र गुट्खा कम्पनीका मालिक हुन्, जसमाथि करोडौँ करछलीको आरोप छ । यसका अतिरिक्त करेन्ट चाउचाउलाई बालेनको महानगरले डेढ वर्षअघि विशेष गुन लगाएको थियो । १२ वैशाख २०८१ मा चौधरी ग्रुपको वाईवाई चाउचाउको गुणस्तरमा प्रश्न उठाएर कारबाही गर्ने निर्णय गरेको थियो । त्यस दिन महानगरले दुई लाख रुपैयाँ मात्र जरिवाना गरेन, बजारबाट सबै चाउचाउ उठाउनसमेत निर्देशन दियो । यसले यो चाउचाउ महानगरको बजारमा करिब–करिब एक्लो रहनगयो । अहिले करेन्ट चाउचाउका मालिकको गाडीमा मेयर बालेन हुइँकिएपछि त्यतिबेलाको महानगरको निर्णय पनि शंकामा परेको स्थिति छ । करछलीको मुद्दामा परेका व्यापारीको उपहारमा झण्डै छ करोडको गाडी चढेर देशदौडाहामा गएका बालेनमाथि गाडी प्रकरणको जवाफ दिन सामाजिक सञ्जालबाट दबाब आएपनि उनले कुनै उत्तर दिएका छैनन् । व्यापारीबाट सहयोग लिएर, करोडौँ मूल्यको गाडी प्रयोग गरेको चुनावी गतिविधिले सुशासनको दाबी कत्तिको विश्वसनीय हुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । चुनावमा लगानी गर्ने स्वार्थ समूहले सत्ता प्राप्तिपछि आफ्नो लगानीको प्रतिफल खोज्नु स्वाभाविक हुन्छ, जसको मूल्य तिर्न जनता बाध्य हुन्छन् । व्यापारी, घरबेटी र विभिन्न स्वार्थ समूहले राजनीतिज्ञलाई गाडी, कार्यालय, सुविधा र चन्दाका नाममा सहयोग गर्दा त्यसमा निहित स्वार्थले भविष्यमा नीति, निर्णय र शासन प्रणालीमा प्रभाव पार्ने खतरा रहन्छ । बालेन्द्रको ‘ल्यान्ड क्रुजर’को सन्दर्भ सानो विषय भनेर पन्छाउन नमिल्ला ।