राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न राजनीतिक स्थायित्व अत्यन्त आवश्यक रहेको बताएका छन् ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले समावेशी शासन प्रणालीको प्रभावकारी कार्यान्वयनबाट मात्रै राजनीतिक स्थायित्व सम्भव हुने बताए । राष्ट्रपति पौडेलले सबै जाति र समुदायलाई विश्वासमा लिएर राज्य सञ्चालन गर्नुपर्नेमा जोड दिँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको उल्लेख गरे । राष्ट्रियगानमा व्यक्त भावना स्मरण गर्दै सबै समुदायको समान पहुँच, अवसर र सम्मान सुनिश्चित गर्नु संविधानको मूल लक्ष्य भएको उनको भनाइ छ । आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा र ज्ञान प्रणाली नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधार भएको उल्लेख गर्दै उनले तिनको संरक्षण, संवद्र्धन र विकासका लागि राज्यले नीतिगत तथा संरचनागत रूपमा थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । आदिवासी ज्ञान प्रणाली सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ भएको उनको भनाइ थियो ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सद्भाव र सहअस्तित्व समृद्ध नेपाल निर्माणका लागि अनिवार्य रहेको बताए । उनले सरकार संविधानको मर्मअनुसार समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । मन्त्री अर्यालले नीतिनिर्माण तहमा सबै समुदायको सहभागिता वृद्धि गर्न सरकार निरन्तर अग्रसर रहेको बताउँदै आदिवासी जनजातिको अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गरे । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विकास र समृद्धिका कार्यक्रम सञ्चालन गर्दा आदिवासी जनजातिको सांस्कृतिक, भाषिक तथा परम्परागत ज्ञानको संरक्षणमा ध्यान दिनुपर्ने बताए । प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङका अनुसार आदिवासी जनजातिको पुख्र्यौली ज्ञान र सीपको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने सम्मेलन आयोजना गरिएको हो । सम्मेलन माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विकासका नाममा आदिवासी जनजातिको संस्कृति र मर्ममाथि आघात हुन नहुने बताए । परम्परागत कला, संस्कृति र ज्ञानको पुस्तान्तरण तथा संरक्षणमा राज्यले जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।