काठमाडौं । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्।प्रवक्ता अर्यालका अनुसार मन्त्रिपरिषद्ले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि तथ्यांक संकलन गर्ने सम्बन्धी आदेश, २०८२ स्वीकृत गरेको छ। उक्त आदेश स्वीकृत भएसँगै राष्ट्रिय स्तरमा आर्थिक गतिविधिसम्बन्धी तथ्यांक संकलन गर्ने बाटो खुलेको सरकारको भनाइ छ।त्यसैगरी, जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको कार्यावधि थप गर्ने निर्णय पनि बैठकले गरेको छ। आयोगलाई छानबिन कार्य पूरा गर्न थप समय आवश्यक देखिएकाले म्याद बढाइएको जनाइएको छ। सरकारले बैठकका अन्य निर्णयहरू सम्बन्धित मन्त्रालयमार्फत क्रमशः सार्वजनिक गरिने जनाएको छ।