निर्वाचनको मिति आउन अब करिब तीन हप्ताको सेरोफेरो मात्रै बाँकी छ । तर खासगरी यो दिन जति नजिक आउँदै गएको अवस्था छ, त्यति नै एकअर्का प्रति लगाइने गरेका घृणायुक्त आक्षेपहरूको बाढी जस्तै आउन थालेको छ । खासगरी नयाँ दल र त्यसमा पनि विघटित संसद्को चौथो दलले जति बढी अरूमाथि आक्षेप लगाउन सकियो त्यति नै आफ्नो मत बढ्ने नीति बनाएको जस्तो देखिन्छ । शरीरमा चोटपटक लागेर अस्पताल भर्ना भएका यो दलका सभापतिले अरू दललाई सिनो लुछ्ने गिद्ध भनेर लामो प्रतिक्रिया लेखे । याद रहोस् पहिलो निर्वाचनमा यो दलको मुख्य नारा थियो नो नट एगेन । तर निर्वाचनपछि जसलाई लक्ष्य गरेर नो नट एगेन भनेर बहिष्कार गर्ने भनिएकोे थियो निर्वाचनपछिको पहिलो सरकार नै उनीहरूसँग मिलेर भयो । त्यसपछि तिनैसँग सरकार र विपक्षमा रहँदा पनि यो क्रम चलिरह्यो । यति बेला तिनै मित्रहरू कसरी सिनो लुछ्ने गिद्ध भए भन्ने स्वाभाविक प्रश्न उठछ । आफ्ना एजेन्डा राखे पुग्ने ठाउँमा किन अरूमाथि घृणा छर्ने । यसबारे नेपाली काँग्रेसको एउटा निर्देशनलाई यसले अनुशरण गर्नुपर्ने देखिन्छ ।
देशको सबभन्दा ठूलो अर्थात् एक सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको दल काँग्रेसले हालै नर्वाचन निर्देशिका जारी गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने नियम बनाएको पाइयो । प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने नियम बनाएको मात्र होइन त्यसको पालना गर्न आफ्ना नेता कार्यकर्तालाई थप आग्रह गरेको छ । त्यसको पालना नभए अनुशासनको कारबाही हुन सक्ने संकेत पनि गरेको छ । भरखरमात्रै नयाँ नेतृत्व छानेको यो दलले यही निर्वाचनको समयमा अनुशासन समिति गठन गरेर अन्यथा भए कारबाहीको संकेत गरेको हुनुपर्छ । यो दलको केन्द्रीय कार्यसम्पादन समिति नेपाली काँग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ पारित गर्दै भनेको छ– नेपाली काँग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ । चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली काँग्रेसका लागि दुश्मन होइनन् । चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकूून् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नुपर्छ । घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति दिनबाट हाम्रा उम्मेदवार र प्रचारक टाढा रहनेछन् सामान्य र स्वस्थ प्रकृतिको व्यंग्य निर्वाचन मैदानमा स्वभाविक हुन्छ, तर हाम्रो सार्वजनिक प्रस्तुति सम्पूर्णतः संयमित र परिपक्व रहने छ ।
निश्चय नै निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक प्रतिस्पर्धायुक्त बनाउने काम कर्तव्य सहभागी दलहरूकै हो । केही सिट तलमाथि होला तर जस्तो अवस्थामा पनि बस्नुपर्ने त एकैठाउँमा हो । मतदाताको मन जित्नेकाम अरूलाई गाली गरेर होइन आफ्ना नीति कार्यक्रमबाट हुनुपर्छ । काँग्रेसको आफ्ना दलका कार्यकर्तालाई पठाएको यो निर्देशनले अन्य सबै दललाई घच्घच्याउने भूमिकासमेत निर्वाह गरेको खण्डमा एउटा नयाँ परम्परा नै बस्ने छ । व्यापक परिवर्तनका लागि भन्ने खासगरी नयाँ दलले यस्तो परम्परा सुरु गरेको भए यही नै परिवर्तनको प्रारम्भ हुने स्थिति बन्दथ्यो होला । नयाँ भन्नेहरूले यतिबेलासम्म यो मौका गुमाएका छन् । अझै पनि समय छ । बरु निर्वाचनमा सहभागी सबै दलले आपसी सहमति नै गरेर अब आफ्ना कुरामात्र राख्ने भन्ने बाचा गरे भने यहीबाट सुधारको सुरुवात हुने अपेक्षा गर्न सकिन्छ । घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति निश्चय नै तत्काल सुन्दामात्रै रमाइला लाग्लान् तर अन्त्यतः ती निन्दनीय नै हुन्छन् । विगतमा अपनाइएको नो नट एगेनको हालत के भयो भन्ने हेक्का राखिएमा र यही निर्वाचनमा सहभागी एउटा दलले भने जस्तो स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार भए अबका दिन त्यस्तो स्थिति आउँदैन । यो फागुन २१ को चुनावी मैदानमा उत्रिएका साढे तीन हजार उम्मेदवारका लागि सुझाव पनि हो ।