आज मेरो हातमा एउटा प्रमाणपत्र छ । यो कुनै शैक्षिक प्रतिष्ठानले प्रदान गरेको होइन । साहित्यिक क्षेत्रमा योगदान पु¥याएको हुनाले पनि होइन । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेकोले पनि होइन । अनि राजनीतिक तथा प्रशासनीक क्षेत्रमा उल्लेखनीय कार्य गरेको हुनाले पनि प्राप्त गरेको होइन । अहिलेसम्म मैले कुनै उल्लेखनीय कार्य गरेको पनि छैन र प्रमाणपत्र पनि पाएको छैन । तर, पनि अहिले मेरो हातमा प्रमाणपत्र छ । यो प्रमाणपत्र देख्दा अनौठो लागेर आउँछ । त्यसैले यसलाई घरिघरि ओल्टाइ पल्टाइ हेरिरहेको हुन्छु ।कसैलाई सानो फूलको थुँगाले स्वागत गर्दा त उसको मन कति खुसी हुन्छ । तर, मेरो हातमा भने एउटा सिंगो प्रमाणपत्र छ । जुन प्रमाणपत्रले ईज्जत बढाइदिन्छ । मानिसले हेर्ने दृष्टिकोणमा नै फरक पार्दछ र अन्त्यमा त्यो सानो प्रमाणपत्रले जीवनमा धेरै सहयोग पु¥याएको हुन्छ ।प्रथम दृष्टिमा नै यो प्रमाणपत्रले मलाई असाध्यै खुसी दियो । तर, यो खुसी धेरै बेर रहन सकेन र केही समयमा नै मनभरि आँधीबेरी मडारिन थाले । एकै छिनको त्यो खुसी आकाशमा मडारिएको कालो बादलमा परिणत हुन पुग्यो । आखिर त्यो थियो मेरो बसाइँसराइको प्रमाणपत्र ।बसाइँसराइको प्रमाणपत्र अरु केही नभई आफ्नो थातथलो छोडेर पलायन हुनु हो । अर्को कुरा यो प्रमाणपत्रले मलाई अन्य ठाउँमा गएर बस्न दिने कानुनी आधार गरिदिएको छ । अबदेखि कहिल्यै नफर्कने गरी थातथलो त्यागेर अन्यत्र गइस् है तँ भन्ने एक प्रकारको कानुनी विषय पनि हो । मलाई लाग्छ जन्मथलो र थातथलोमा धेरै भिन्नता छ । आज मैले थातथलो मात्र छोडेको छैन । जन्मथलो पनि छोडेको छु । आज मलाई आफू जन्मिएको, हुर्किएको र खेलेको ठाउँ छोडाउने काम यही बसाइँसराइको प्रमाणपत्रले गरेको छ । त्यसैले यो प्रमाणपत्र मेरो लागि दुश्मनी हुन पुगेको छ । यसैको कारणले गर्दा मेरा साथीहरू गुमाउनु परेको छ । पुर्खाको पसीनालाई बिर्सनु परेको छ । मेरो नङ, मासु र रगतले सिर्जिएको सानोतिनो अलिअलि सम्पत्ति पनि त्याग्नु परेको छ । मैले धर्तीमा पाइला टेकेदेखि दौँतरी भएका सबै कुरा सदाको लागि छोडेको छु । मैले छोड्नु बाध्यता थियो र अनि छोडेँ ।हो, अहिले मैले सात दशक पार गरिसकेको छु । भनौँ, जीवनको उत्तरार्ध । जीवनको उत्तरार्धमा आइपुग्दा पुराना सम्झना आउँदा रहेछन् । कतिपय सम्झनाहरू त समयको अन्तरालमा मेटिँदै गर्दा पनि रहेछन् । तर, आफ्नो जन्मथलो भने मानसपटलबाट कहिल्यै हट्दो रहेनछ । सधैँ नै दिमागमा बस्दो रहेछ ।
त्यो सम्म परेको तरेली फाँट र लमतन्न परेका लामालामा बारीहरू म कहिल्यै बिर्सन सक्दिन । बिर्सन नसक्नु एउटा अवस्था हो तर मैलै सदाको लागि बिर्सनु परेको छ । जहाँ आफ्नो नाभी गाडिएको छ, जहाँ पुर्खाहरूले हड्डी खियाएका थिए र पसिना बगाएका थिए, त्यस्तो ठाउँ पनि आफ्नो हुन नसक्ने ? कस्तो आश्चर्य ! बुढापाकाहरूले भनेको सुनेको थिएँ ‘जुन ठाउँ जन्मिएको, हुर्किएको र जीवन बिताएको छ त्यो आफ्नै हुन्छ । आखिर त्यो मिथ्या पो रहेछ किनभने मैले जन्म लिएको त्यो ठाउँ मेरो कहिल्यै हुन सकेन । मैले आफ्नो भन्नै पाइन । एक पटक च्याँ गरेर टेकेको धर्ती पनि आफ्नो नहुने भए पछि अरु के आफ्नो हुन्छ र ?आफू जन्मिएको ठाउँ असाध्यै प्रिय हुँदो रहेछ । त्यसैले पटक–पटक त्यही बाटो भएर हिँडेको हुन्छु । केवल हेर्नको लागि मात्र भए पनि । यत्तिले पनि धेरै खुसी ल्याउँदो रहेछ । कल्पना गर्छु आफू जन्मिएको त्यो धर्ती आफ्नो भएको भए मन कति खुसी हुन्थ्यो होला । आमाले भनेका कुरा सम्झन्छु । कान्छा ‘तँ जन्मिएको ठाउँ ऊ त्यो जिमिरको रुखको अलिपर हो । त्यहाँ हाम्रो माटोले बनाएको सानो कच्ची घर थियो र तेरो सालनाल गाढेको पनि ऊ त्यो बारीको छेउमा हो ।’ अहिले त यो संसारमा आमा पनि हुनुहुन्न । आमा भएको भए अझ धेरै कुरा बुझ्न सक्ने थिएँ होला । अब त यी सबै कुरा इतिहाँस भइसके ।
मलाई लाग्छ त्यो मेरो सालनालसँग जोडिएको जन्मभूमिले के बिगारेको थियो र ! मैलै चटक्कै छोडेर आएको छु । म आफूले आफैलाई प्रश्न गरेको हुन्छु । धत्, नालायक आफू जन्मिएको ठाउँ पनि आफ्नो बनाउन नसकेर पलायन हुने ? हुन पनि हो आफ्नो थातथलो मैले छोड्नु थिएन । बाटोमा हिडिरहँदा एकै छिन भेट भएका मानिसको त कति सम्झना हुन्छ भने आफू जन्मिएको ठाउँको किन माया लाग्दैनथ्यो र ! यद्यपि परिस्थितिले त्यस्तो भन्दो रहेनछ । बाध्यता हुँदो रहेछ चटक्क छोड्न । असारमा च्याउ उम्रिए जस्तै अनगिन्ति विकर्षण जन्मिदा रहेछन् । तिनीहरूलाई उन्मूलन गर्न नसक्दा स्वाभाविक रुपमा आफ्नो बाटो लाग्नु नै श्रेयस्कर हुँदो रहेछ ।
संसारमा सबैभन्दा मायाँ गर्नेे र माया लाग्ने भनेका नै जन्मदिने आमा र जन्मिएको ठाउँ नै रहेछन् । आमासँग साक्षात्कार हुने त संभव नै भएन । जन्मिएको ठाउँमा भने आकाल झुकल पुगेको हुन्छु । किनकि सम्झनाले मलाई सताइरहेको हुन्छ । म जुन ठाउँमा जन्मिएको थिएँ त्यो ठाउँ फुंग भएको देख्दछु । न त्यसले माया पाएको छ, न त्यसले मलाई माया नै दिन सकेको छ, न त आरामको साथ विश्राम नै गर्न पाएको छ । अहिले उजाड मरुभूमि जस्तो भएर बसेको छ ।त्यति राम्रो, हराभरा र उर्वर भूमि जसले हाम्रो पूरै परिवार पालेको थियो । अहिले आफै निरास भएर बस्नु परेको छ । एउटा दीर्घ रोगीको जस्तो भएर बसी रहेकोछ म जन्मिएको ठाउँ । लाग्छ त्यो जमिन मेरो भएको भए म त्यसलाई कति माया गर्थेँ हुँला । अब त सम्भव नै छैन । त्यसकारण मैले यो कुरालाई चटक्कै बिर्सिएको छु । कुनै कुरा यति गहिरोसँग मनमा बसेका हुँदा रहेछन् कि बिर्सन्छु भन्दा पनि बिर्सन सकिदा रहेनछन्, झन झाँगिएर आउँदा रहेछन् । जे होस् त्यो जमिनको भौतिक उपस्थिति हराएर गएको छैन । मासिएर गएको छैन । उसले आफ्नो अस्तित्व अझै पनि कायम गरेको छ । यसैमा म सन्तुष्ट भएको छु ।
कता कता लाग्छ— त्यो म जन्मिएको, सालनाल गाडिएको ठाउँले मलाई खोजिरेको छ र मैले पनि उसलाई खोजी नै रहेको छु । हामी एक अर्कालाई नियाली रहेका छौँ, आवाज बिहीनहरूको आवाज जस्तै । म त उत्तरार्धमा पुगिसकेको मान्छे । समय नै पो कति बाँकि होला र ! तर, त्यो जमिन त जुगौँ जुगसम्म जे जस्तो भएर पनि बाँच्नै पर्दछ । उसको लागि अब कुनै उपाय नै छैन । स्वामित्व परिवर्तन भएको छ । अधिकार परिवर्तन भएको छ । मालिक परिवर्तन भएको छ । यद्यपि अग्लो धरहरा ठिंग उभिनु जस्तो भएर ऊ बसिरहनु परेको छ ।मेरी आमाले धेरै दुःख गरेर जोगाएर राखेको धर्ती हो त्यो । कसैबाट लुट्नदेखि बचाउनुभयो । कसैबाट बिगार्नबाट बचाउनुभयो । यसरी सुरक्षित गरेर राख्नुभयो कि यसलाई लथालिंग बनाउन कसैले आँटै गर्न सकेनन् ।
आफू जन्मिएको ठाउँ जति प्रिय हुन्छ सायदै अरु होलान् । त्यो धर्ती देख्दा म अहिले पनि आमाको काखमा जस्तै लुटुमुटु हुन मन लाग्छ । भौतिक रुपमा त्यसो गर्न नसके पनि अन्तरात्माले भने त्यसो भनिरहेको हुन्छ । त्यो पनि अहिले सम्भव छैन । स्वामित्वमा नभएको कुनै वस्तुप्रति लालसा राख्नु पनि अर्थहीन नै हुनेछ ।मलाई लाग्छ त्यो मेरो सालनालसँग जोडिएको जन्मभूमिले के बिगारेको थियो र ! मैलै चटक्कै छोडेर आएको छु । म आफूले आफैलाई प्रश्न गरेको हुन्छु । धत्, नालायक आफू जन्मिएको ठाउँ पनि आफ्नो बनाउन नसकेर पलायन हुने ? हुन पनि हो आफ्नो थातथलो मैले छोड्नु थिएन । बाटोमा हिडिरहँदा एकै छिन भेट भएका मानिसको त कति सम्झना हुन्छ भने आफू जन्मिएको ठाउँको किन माया लाग्दैनथ्यो र ! यद्यपि परिस्थितिले त्यस्तो भन्दो रहेनछ । बाध्यता हुँदो रहेछ चटक्क छोड्न । असारमा च्याउ उम्रिए जस्तै अनगिन्ति विकर्षण जन्मिदा रहेछन् । तिनीहरूलाई उन्मूलन गर्न नसक्दा स्वाभाविक रुपमा आफ्नो बाटो लाग्नु नै श्रेयकर हुँदो रहेछ ।
जब मेरो हातमा बसाइँसराइको प्रमाणपत्र हात पर्छ अनि लाग्छ अब मेरो सबै कुरा मेटिइसके । किनभने अब म त्यहाँ फर्कनु पर्ने कुनै आवश्यकता र औचित्य नै छैन । सबै कुरा मेटिइसकेका छन् । क्षणभरको लागि त्यो एउटा सानो बसाइँसराइको प्रमाणपत्रले मलाई खुसी बनायो । तर, सधैको लागि खुसी दिन सकेन । किनभने अहिले मैले आफू जन्मिएको ठाउँ, आफू हुर्किएको थातथलो र आफ्ना साथीसंगी सबै बिर्सिएर केवल रित्तो हात हल्लाउँदै एउटा बसाइँसराइ लिएर अदृश्य गन्तव्यतर्फ लम्किएको छु ।
त्यो सानो एकपन्ने कागजले मेरो धेरै कुरा गुमाइदिएको छ । मेरो जन्मथलो गुमाइदियो । थातथलो गुमाइदियो । साथीभाईबाट बिदा लिनुप¥यो । आफ्ना प्रियजनबाट टाढिनुप¥यो । यसरी म अलग्गिनु मेरा आफ्नै बाध्यता थिए । त्यसैले अलगिएको हुँ र बसाइँसराइ लिएको हुँ । कुनै दिन त्यो ठाउँमा पाइताला टेक्दा त्यो ठाउँले मलाई टुलुटुलु बेबारिसे बच्चाले हेरे जस्तै गरेर हेर्ने छ र म पनि उसले हेरे जस्तै गरेर हेर्ने छु । अनि मनमनै भन्नेछु जीवन भनेको यस्तै रहेछ । कहाँ गएर ठोक्किनुपर्ने हो कसलाई पो के थाहा र !