काठमाडौं, गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा क्रममा सुन लुटिएका राष्ट्रिय वाणिज्य बैंकका पीडित ग्राहकहरूले बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले सुन लुटिएका पीडित ग्राहकहरूलाई सुन लुटिएकै दिनमा कायम रहेको प्रतितोला सुनको मूल्यअनुसार रकम फिर्ता दिने निर्णय गरेपछि उनीहरु आक्रोशित भएका हुन् ।पीडितहरूले राष्ट्रिय वाणिज्य बैंकले गरेको एकतर्फी निर्णय नमान्ने भन्दै बैंकको केन्द्रीय कार्यालय परिसरमा बिहीबार धर्ना तथा नाराबाजी गरेका थिए । ‘सुनको मूल्य बढेर अहिले तीन लाख नाघिसक्यो, भदौ २३ र २४ गते कायम रहेको प्रतितोला मूल्यमा रकम फिर्ता दिने निर्णय हामी मान्दैनौँ’, पीडितहरू भन्छन्, ‘बरु हामी बैंकको कति पैसा साँवाब्याज तिनुपर्छ भने त्यो तिरिदिन्छौँ, हामीलाई पैसा फिर्ता चाहिएन, हामीलाई हाम्रो सुन नै फिर्ता दिनुहोस् ।’ पीडितका अनुसार जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा लुटपाट भएको थियो । उक्त लुटपाटका क्रममा झण्डै दुई सय २४ जनाको धितोमा रहेको झण्डै १८ किलो सुन गायब भएको थियो । त्यसमध्ये सबै सुन गायब भएको पनि होइन । केही ग्राहकको सुन गायब भएको यति लामो समय भइसक्यो तर अहिलेसम्म पीडितहरू चुप लागेर बसेका कारण कसैले पनि आफ्नो सम्पत्ति फिर्ता पाएका छैनन् ।‘यो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकले पीडितहरूसँग कुनै समन्वय नै नगरी एकतर्फी रूपमा भदौ २३ र २४ गते कायम रहेको मूल्यमा सुनबराबरको रकम फिर्ता दिने निर्णय ग¥यो, यो निर्णय हामी कदापि मान्दैनौँ, यो निर्णय तत्काल सच्याउन पर्छ’, पीडितहरू भन्छन्, ‘हामीले पैसा फिर्ता मागेका छैनौँ, हामीले जुन परिमाणमा आफूले दुःख गरेर जोडेको सम्पत्ति धितो राखेका थियौँ, त्यो सम्पत्ति फिर्ता मागेका हौँ, पैसा हामीलाई चाहिएन ।’सो विषयमा कुरा गर्न बैंकका प्रमुख गुनासो अधिकृत उबर पाण्डेसँग पटक–पटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन । यसबीचमा बैंकको तर्फबाट सम्पर्कमा आएका रुद्रप्रसाद अधिकारीले भने यसको विषयमा जानकारी दिने आधिकारिक व्यक्ति आफू नभएको भन्दै सम्बन्धित सूचना अधिकारी अथवा गुनासो अधिकृतलाई सम्पर्क गर्न आग्रह गरे ।