काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आइतबार विशेष समारोह आयोजना गरिएको हो । सो अवसरमा राष्ट्रिपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेका थिए । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति समेत हुन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गरेका थिए । उनले ‘फ्रि फल जम्प’ मा प्रथम हुनुभएका प्रमुख सेनानी विवेक बिक्रम शाह र दोस्रो भएका हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार समेत प्रदान गरे । राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरुप उपहार प्रदान गरेका थिए ।
समारोहमा सेनाको हेलिकप्टर र ड्रोनमार्फत पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रस्तुत गरियो । कार्यक्रममा सेनाका टुकडीले मार्चपास समेत प्रस्तुत गरेको थियो । साथै नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका हातहतियार, उपकरण र सवारी साधन प्रदर्शन गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमानसिह राउत र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । साथै नेपाल सरकारका मन्त्रीगण, पूर्वमन्त्री, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए । शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
महाशिवरात्रि : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजा–आराधना र दर्शन गरी महाशिवरात्री पर्व मनाइएको छ । महाशिवरात्रि पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजा–आराधना र दर्शनका लागि भक्तजनको उल्लेख्य भीड लागेको थियो ।
महाशिवरात्रीमा व्रत, पूजा र दर्शन गरेमा सुख–शान्ति तथा सद्गति प्राप्त हुने धार्मिक विश्वासका आधारमा श्रद्धालुहरू पशुपतिमा आइतबार शिहानदेखि नै लामबद्ध भएका थिए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार मन्दिरका चारै ढोका बिहान २ बजेदेखि खुला गरिएको थियो । ढोका खुलेसँगै निरन्तर रूपमा दर्शन गर्नेहरु भइरहेको र भीड व्यवस्थापनका लागि बहुप्रवेश तथा बहिर्गमन मार्ग निर्धारण गरिएको कोषले जनाएको छ । कोषले मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोका, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाएको थियो । पश्चिमतर्फ वनकाली ओरालो हुँदै जुत्ता–चप्पल कक्षबाट मूल मन्दिर प्रवेशको छुट्टै लाइन राखिएको थियो भने तिलगङ्गा राममन्दिरतर्फ समेत एक लाइन राखिएको कोषले जनाएको छ । मूल मन्दिर परिसरभित्र उत्तर र दक्षिणबाट तीन–तीन तथा पश्चिमबाट चार आन्तरिक लाइनमार्फत दर्शनको व्यवस्था गरिएको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा लाखौँ श्रद्धालु उपस्थित रहेको अनुमान गरिएको छ । सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय परिसर र वनकाली क्षेत्रमा व्यवस्था गरिएको थियो । महाशिवरात्रिका अवसरमा उपत्यकास्थित गोकर्णेश्वर मन्दिर, नागेश्वर मन्दिर, तारकेश्वर महादेव मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायतका शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । राजधानी बाहिरका प्रमुख शिव मन्दिरहरूमा समेत धूमधामका साथ पूजा, आराधना र मेला सञ्चालन भएको थियो ।
वैदिक सनातन धर्मावलम्बीहरूले शिवरात्रीमा नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पूजा–अर्चना, व्रत र जाग्राम बस्ने गरेका छन् । भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र अर्पण गर्ने तथा धुनी बालेर भजन–कीर्तन गर्ने प्रचलन छ । पशुपतिनाथमा चार प्रहरका विशेष पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती र दीपोत्सव कार्यक्रम आयोजना गरिएको कोषले जनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छा् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आईतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् ।
राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हासहितका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छिन् । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेका थिए ।