काठमाडौं । नेपाल पर्यटन बोर्ड र जापानको वाकायामा प्रिफेक्चरबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नेपाल र जापानबीच पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले सोमबार पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा संयुक्त प्रवर्द्धन, ज्ञान आदान–प्रदान तथा दिगो पर्यटन विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरेका छन् । समझदारीमा संयुक्त पर्यटन प्रवर्द्धन तथा मार्केटिङ, पर्यटनसम्बन्धी सूचना र उत्कृष्ट अभ्यासको आदान–प्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदान–प्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य र सांस्कृतिक रूपमा सम्मानजनक तथा दीगो पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले जापानबाट गभर्नर नेतृत्वको टोलीको नेपाल भ्रमणलाई स्वागतयोग्य कदम भन्दै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको यो सहकार्य दिगो र उत्तरदायी पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने बताए ।
‘दुवै देशले सांस्कृतिक विषयलाई उच्च महत्व दिएका छन् । ७० वर्षे कूटनीतिक सम्बन्धको सन्दर्भमा भएको यो सहकार्यले दिगो पर्यटनलाई बलियो आधार प्रदान गर्नेछ,’ मन्त्री सिन्हाले भने । त्यसैगरी मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक कदम भएको बताए । ‘नेपाल र जापानबीच लामो समयदेखिको सम्बन्ध रहेको छ । हिमालयको देश तथा भगवान् बुद्धको जन्मस्थल नेपालका लागि बजार विविधीकरणका लागि यो समझदारी उपयुक्त समय हो । यस समझदारीले साझा मूल्य र सहकार्यलाई एकीकृत गर्दै आगामी दिनमा सहयोग थप सुदृढ हुनेछ’, उनले भने ।
वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए । ‘इतिहास र संस्कृतिले समृद्ध नेपालसँग समझदारी गर्न पाउँदा हामी खुसी छौँ । यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास छ’, उनले भने । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जापानलाई नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब ८ प्रतिशत वृद्धि भएको जानकारी दिए । ‘नेपाल विविध जीवन्त अनुभवहरूको गन्तव्य हो । यो समझदारी पत्र केवल औपचारिक सम्झौतामात्र नभई गन्तव्य, ज्ञान र अवसरलाई जोड्ने माध्यम हो । यसले नेपाली पर्यटन बजारका लागि नयाँ सम्भावनाका ढोका खोल्नेछ,’ उनले भने ।
समझदारी हस्ताक्षरको मितिदेखि लागू भई आपसी समझदारीका आधारमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ । सहकार्यसम्बन्धी गतिविधिको समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ । कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक सद्भाव र विश्वासमा आधारित यो समझदारीले सात दशक लामो नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउने विश्वास गरिएको छ ।