देशलाई समृद्ध बनाउने हो भने ठूला–ठूला परियोजना निर्माणका लागि प्रस्ताव हुनै पर्छ र तिनका लागि स्रोत जुटाउने दृढता पनि हुनुपर्छ । पछिल्लो समय निर्वाचनका बेला राजनीतिक दलहरूले जस्ता प्रतिबद्धता ल्याएका छन्, तिनलाई पूरा गर्न पनि यस्ता परियोजनाहरूकै आवश्यकता पर्छ । समृद्ध नेपाल सुखी नेपाली भन्ने त विगतका दशकदेखि नै लाग्दै आएको नारा हो । यो संविधानअनुसारको पहिलो आम निर्वाचनमा दुईवटा कम्युनिस्ट पार्टीले ल्याएको साझा घोषणापत्रमा नै यो नाराले प्राथमिकता पाएको थियो र त्यसलाई पूरा गर्न आफूहरूलाई दुईतिहाइ मत दिन माग पनि गरिएको थियो र त्यस्तो मत पाइयो पनि तर त्यस बेला घोषणा गरिएका यस्ता ठूलो परियोजनाहरू कार्यान्वयनमा नै आएनन् । यसले खासगरी विकास निर्माणका सन्दर्भमा नागरिकले आशा गर्ने ठाउँ मेटिँदै गएको वातावरण बनायो । त्यो चुनावपछि अर्को चुनाव भएर अब तेस्रो कार्यकालको अर्को चुनाव हुँदैछ । तर यता विकासका कार्यक्रमले गति लिनभने सकेको देखिएन । यो पछिल्लो चुनावका प्रक्रिया चलिरहेका बेला सरकारी निकायले नै यस्तो जानकारी दिइरहेका छन् । खासगरी विकासका कार्यक्रमहरूको वर्गिकरणमा उच्च ठाउँ पाएका परियोजनाहरूको हालत अति दयनीय हुनु त्यसको उदाहरण हुनुपर्छ ।
विकास निर्माणका कार्यक्रमहरूका बारे राष्ट्रिय योजना आयोगले जनाएअनुसार राष्ट्रिय गौरवका आयोजनाले विनियोजित बजेटको तुलनामा खर्चको हिसाबले शून्य जस्तो अवस्था देखाएका छन् । उदाहरणका रूपमा लिइएको चालू आर्थिक वर्षको छ महिनाको खर्च अवस्थाले यस्तो चित्र देखाएको हो । आयोगका अनुसार चालु वर्षको आधासमयमा २३ वटा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव ४९ प्रतिशत अर्थात् १० अर्ब ३९ करोड ३९ लाख मात्रै खर्च भएको देखियो । खर्चले नै कार्यको प्रगति बताउँछ । कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आर्थिक वर्षमा २३ वटा आयोजनाका लागि चालुतर्फ तीन अर्ब ४५ करोड २० लाख, पुँजीगततर्फ ६२ अर्ब ४२ करोड आठ लाख र वित्तीय व्यवस्थातर्फ एक अर्ब २१ करोड ३६ लाख गरी जम्मा ६७ अर्ब आठ करोड ६४ लाख विनियोजन गरिएकोमा यो बेलासम्म चालुतर्फ ७९ करोड ३४ लाख, पुँजीगततर्फ नौ अर्ब ६० करोड पाँच लाख गरी जम्मा १० अर्ब ३९ करोड ३९ लाख खर्च भएको छ । यस्ता आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनाको मात्रै निर्माण कार्य सम्पन्न भएका छन् । २७ मा तीनवटा आयोजना समपन्न हुनुभनेको विकासमा कछुवा गति नै हो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजना त ढिलासुस्तीमा नमुना नै बनेका थिए ।
यसबाट प्रश्न उठ्छ रष्ट्रिय गौरवका आयोजनाको हविगत यस्तो हुन्छ भने अरुको के होला । रष्ट्रिय गौरवका आयोजना अन्तर्गत बबई सिँचाइ आयोजना पनि । यो आयोजना प्रारम्भ भएको इतिहास भइसकेको छ । आयाजना निर्माण वा सम्पन्न हुन ढिलाइ हुँदा पर्ने असर कस्तो हुन्छ भन्ने पनि यही आयोजनालाई उदाहरण माने हुन्छ । बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले २०२४ सालदेखि अध्ययन थालनी गरेको र आर्थिक वर्ष २०४५/४६ देखि त निर्माण कार्य नै सुरु गरिएको थियो । म्याद थपिँदै गएर आव यसलाई सम्पन्न गर्न आर्थिक वर्ष २०८५/८६ सम्म पर्खिनुपर्ने छ । यतिबेलासम्म यो आयोजनाको प्रगति ७८ दशमलव ७४ प्रतिशतमा छ ।
रष्ट्रिय गौरवका आयोजनाले निर्माणकाममा कुनै पनि कठिनाइ भोग्नु नपर्ने गरी व्यवस्था गरिएको मानिन्छ । त्यसमा स्रोतसाधनदेखि जसबाट आयोजना सम्पन्न गर्न कठिनाइ पर्ने अरु कुराहरू पनि पर्छन् । यस्ता परियोजनाहरूले नै यति लामो समय लगाउँछन् भने अरु साधारण आयोजनाहरूको त चर्चा गर्न पनि बेकार होला । स्वाभाविक छ, विकासको यस्तो दुःखद् अवस्थाले देश समृद्धिको बाटोमा लाग्दैन ।