युवा–युवती र किशोर–किशोरीले नेपालको कुल जनसंख्याको झण्डै २४ प्रतिशत भाग ओगटेको छ । आगामी ३० वर्षसम्म अहिलेको किशोरीहरू प्रजननशील उमेरमा रहनेछन् । त्यस्तै प्रकारले झण्डै २० प्रतिशत जनसंख्याको भार युवायुवतीले ओगटेका छन् । त्यसैगरी ध्यान दिनुपर्ने कुरा के छ भने अहिले नै प्रजननशील उमेरमा र जनसंख्या वृद्धिको कारकको रूपमा छन् । यदि जनसंख्या वृद्धिदरलाई कम गर्ने हो भने हाम्रो कार्यक्रम यी सबै समूहहरूमाथि केन्द्रित हुनु आवश्यक छ । नेपालमा १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूको कुल जनसंख्या ६१ लाख ३१ हजार २ सय ४८ रहेको छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्षसम्मका उमेरसमूहका मानिसहरूको समूह हो । विश्व स्वास्थय सङ्गठनले शारीरिक स्वास्थ्यको दृष्टिकोणबाट १५ देखि २९ वर्षको उमेरसम्मका मानिसको समूहलाई युवा भनी व्याख्या गरेको छ । नेपालमा यो कुल जनसंख्याको करिब २७ प्रतिशत जति पर्न आउँछ ।
युवाशक्तिमा विगतका उपलब्धि, मान्यता तथा आस्था र विश्वास, वर्तमानका समस्याहरूलाई सुल्झाउन तिनलाई हेर्ने दृष्टिकोण र समाजका भावना, आकांक्षाहरूलाई सपना बुन्ने क्षमता हुन्छ । जुनसुकै देशमा युवाशक्तिले समाजको जीवनमूल्य, सभ्यता र सांस्कृतिक सम्पदाको प्रचारप्रसार र सम्बर्द्धन गर्छ भने युवा शक्तिले नै सुसंस्कृत समाजको निर्माण गर्छ । त्यसकारण हरेक युवामा आदर्श व्यक्तित्व, नेतृत्वकी गुण, जिम्मेवार नागरिकको कर्तव्य र स्वयंसेवी भावना, राष्ट्रप्रतिको माया, प्रेरणादायी विचारसहितको उच्च भावना, सांस्कृतिक आधार, स्वाभिमान, त्याग तथा आत्मगौरवको भावना हुनुपर्दछ । किनभने, प्रगतिशील समाज निर्माणमा सबैभन्दा बढी योगदान युवाहरूको हुन्छ । युवा वर्ग समाजको भविष्य हुनुका साथै समाजको विकासका महत्वपूर्ण अंग पनि हुन्, उनीहरू प्रगतिशील समाज र उन्नत समाजका अनिवार्य अक्ष हुन् । युवा सहभागिताले राजनीतिमा पारदर्शिता र जबाफदेहिता बढाउन मद्दत गर्छ । धेरै युवाहरू प्रविधिमा दख्खल राख्छन् र सूचना प्रवाहलाई छिटो, सुलभ र प्रभावकारी बनाउन सक्छन् । उदाहरणका लागि, नेपालमा केही युवाहरूले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारका घटनाहरू सार्वजनिक गरेका छन् र सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब दिएका छन् । यसले राजनीति केवल बन्द कोठाभित्र सीमित नभई आम नागरिकको निगरानीमा रहनुपर्छ भन्ने सन्देश दिएको छ । इतिहास हेर्ने हो भने पनि युवाहरूले ठूलो राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
देशभित्र रोजगारीको पर्याप्त अवसर नभएपछि युवाहरू विदेशिन बाध्य छन् । सरकारी तथ्यांकले पनि प्रतिदिन करिब १५ सय नेपाली युवा वैदेशिक रोजगारीका लागि बाहिरिने गरेको देखाउँछ, जसअनुसार मासिक रूपमा ४५ हजार र वार्षिक रूपमा करिब ५ लाख युवा बाहिरिने गर्छन् । यसबाहेक खुला सीमाना भारत हुँदै वैदेशिक रोजगारमा जाने नेपाली युवाको आधिकारिक संख्या पाउन सकिँदैन । बेरोजगारीकै कारण एकातिर उच्च शिक्षाका नाममा विदेसिने युवाहरूको जमात कम छैन भने शिक्षित युवावर्ग पनि अवसरको खोजीमा विदेशिन बाध्य छ ।
राज्यको सम्पत्ति मानिने बौद्धिक जमातलाई देशभित्र राख्न नसक्नु निकै ठूलो समस्या हो । आफ्नो क्षमता र योग्यताअनुसारको उचित अवसर नपाएपछि विदेशिनु उनीहरूको बाध्यता नै हो । विश्वपरिवेशमा परिवर्तनको चाहना युवामा धेरै भएको हामीले पाउँछौँ । युवाहरूको दृष्टिकोण र व्यवहारमा आउने पुस्ताजन्य परिवर्तन, मूल्यमान्यता र आकाङ्क्षा तथा असहमतिको स्वभाव, केही हासिल गर्ने चाहनाले गर्दा उनीहरूका व्यवहारलाई विद्रोही व्यवहार भन्ने गरिन्छ । तर उनीहरूको विद्रोहीपनलाई सकारात्मक र सिर्जनशील बाटोमा डोर्याउन सके शान्ति र विकासका लागि सहयोगी हुने कुरामा दुई मत हुँदैन । यसो हुन नसक्दा युवाहरूमा रहेको विद्रोही भावनाले नकारात्मक रूप लिई उनीहरू हिंसातर्फ उन्मुख हुने गर्दछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ८६ लाख व्यक्तिले आफ्नो योग्यता र सीपअनुरूप रोजगारी पाइरहेका छैनन् । देशमा निरक्षर बेरोजगारी दर १८ प्रतिशत छ भने शिक्षित बेरोजगारी दर ८ देखि ९ प्रतिशतसम्म छ । करिब ७० हजार व्यक्ति स्नातक वा स्नातकोत्तर उत्तीर्ण भए पनि बेरोजगार छन् । खाडी र अन्य मुलुकमा रोजगारीमा गएका करिब आठ लाख युवामध्ये ७४ हजार स्नातकोत्तर पास छन् । दुई लाख १६ हजारले स्नातक गरेका छन्, चार लाखभन्दा बढी १२ उत्तीर्ण छन् । १५ लाखभन्दा बढी एसएलसी पास गरेका युवा देशमा हैसियतअनुसारको काम नभेटेर विदेशिएका छन् । २०६८ को राष्ट्रिय जनगणनामा नेपालका १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति विदेशमा बसेर काम गरेका थिए । २०७८ को जनगणनामा यो संख्या बढेर २१ लाख ९० हजार ५ सय ९२ पुगेको छ । । यी तथ्यले नेपालको शिक्षा प्रणालीमा उद्यमशील शिक्षा समावेश गर्न ढिलो भइसकेको देखाउँछन् ।
नेपाली युवा अवसर र कामको खोजीमा ४० देखि ५० लाख विदेशिएका छन् । जसमध्ये १६ देखि ३५ वर्ष उमेर समूहका युवा शक्ति छन् । आईएलओको तथ्यांकअनुसार नेपालमा युवा बेरोजगारी दर १९.२ प्रतिशत छ । करिब २७ प्रतिशत युवा एक वर्षभन्दा पनि लामो समय जागीरको खोजीमा छन् । नेपाली युवा जनशक्ति अहिले विभिन्न मुलुकमा कठोर श्रम गर्न विवश छन् । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । राजनीतिक परिवर्तनको अग्रमोर्चामा खटेको युवा त्यसबाट प्राप्त उपलब्धीको लाभबाट भने जहिले वञ्चित छन् । एकथरी युवा दैनिक गुजाराका लागि कठोर श्रम गर्न बाध्य छ भने अर्कोथरी सहरीया युवा जसले अमेरिका, क्यानडा, अस्ट्रेलिया, युरोपमा भविष्य देख्छ र त्यहीँ बसाइँ सर्छ । आज देशमा हस्तक्षेपकारी युवा जमात नभएकाले नै राजनीतिक अस्थीरता बढ्दै गएको हो ।
नेपाली युवाका साझा सवाल गुणस्तरीय समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिको पहुँचबाट टाढा हुनु हो । बेरोजगारी, अर्ध बेरोजगारी, अति गरिबी र स्वरोजगार बन्न व्यवसाय ऋणको कठिनाइ आदि छन् । युवाको कमजोर स्वास्थ्य, पोषण र कमजोर मनोबल अनि युवा लगानीमैत्री तथा उद्यमशील वातावरणको अभाव र युवा पलायन आजको वास्तविकता हो । लैंगिक, क्षेत्रिय, जातिगत विभेदीकरण र बहिष्करणका साथै विश्वव्यापीकरण तथा उदारीकरणको प्रभावले ल्याएका चुनौती प्रमुख हुन् । युवा सिर्जनशील, गतिशील, आलोचनात्मक र प्रतिरोधी चेतनायुक्त हुन्छन् भन्ने गरिन्छ । स्वाभाविक रूपमा युवाले बाँचिरहेको जीवन भोगिरहेको वर्तमान र भविष्यको सम्भावित परिदृश्यलाई सचेततापूर्वक हेरिरहेको हुन्छ । युवा पुस्ता विश्वमा भइरहेको विज्ञान, प्रविधि, अर्थतन्त्र र मानव विकासको रफ्तारसँगै अगाडि बढ्न चाहन्छ । युवाका ती आशा, अपेक्षा र आवश्यकता सम्बोधन गर्ने राजनीतिक परिवेश भएन भने युवामा निराशा, आक्रोश र असन्तुष्टि बढ्छन् । अहिले नेपालमा भइरहेको पनि यही नै हो । तर, युवाले चाहेजस्तो राजनीतिक परिवेश आफै बन्नेवाला छैन त्यसैले युवाले सैद्धान्तिक, वैचारिक र नीतिगत रूपमा सशक्त राजनीतिक हस्तक्षेप गर्नुपर्छ । यसका लागि युवा राजनीतिमा सशक्त रूपमा जोडिने मात्रै होइन, विचार र योजनासहित नेतृत्व लिन तयार हुनुपर्छ ।
किशोरकिशोरीमा यसै अवस्थामा यौन परिपक्वताका साथसाथै उनीहरूमा शारीरिक परिवर्तन सुरु हुन्छ । यसैप्रतिको जिज्ञासाका कारण उनीहरू यौन शिक्षा, जनसंख्या शिक्षा र स्वास्थ्य शिक्षाका विषयवस्तुप्रति बढी आकर्षित देखिन्छ । यस अवस्थामा राम्रो नराम्रो छुट्याउन नसक्ने हुनाले शिक्षक तथा अभिभावकको सल्लाह, सुझाव, मार्गदर्शन, निर्देशन र पथप्रदर्शन अत्यावश्यक छ । आफ्नो निर्णय आफैँ लिन नसक्ने तथा आफ्ना नजिकका साथीहरूबाट निर्देशित हुने उमेर भएकोले उचित परामर्श, मार्गदर्शन र शिक्षा प्राप्त भएमा यस्ता किशोरकिशोरीहरू सकारात्मक सामाजिक क्रियाकलापहरूतर्फ उन्मुख हुन सक्ने थुप्रै सम्भावना रहन्छ । त्यसकारण किशोरकिशोरीलाई हेलचेक्र्याइँ गर्नुभन्दा सही मार्गदर्शनसहित जिम्मेवारी र उत्तरदायित्व बोध गराएमा आफ्नो महत्वपूर्ण समयमा दुविधामा बिताउन नसक्ने वातावरण सिर्जना हुन सक्छ । वातावरण अध्ययन गर्ने, गराउने र यसलाई प्रचार प्रसारको माध्यमबाट जनसमक्ष पुर्याउने कार्य युवा वर्गबाट अवश्य हुन सक्छ ।
खास गरी भन्ने हो भने वातावरण संरक्षण, किन र कसरी गर्ने, यसको आवश्यकता र महत्व विषयमा युवा वर्गलाई सर्वप्रथम सचेत गराउनुपर्दछ । तत्पश्चात् ती युवाहरूले आफूले सिकेका कुराहरू आर्जेको ज्ञान आफ्नो आफ्नो क्षेत्रमा गई सम्झाउने, बुझाउने कार्य गर्न सक्छन् । युवा एक यस्तो अवस्था हो, जसले जे पनि गर्न र गराउन सक्दछ । प्रौढ र वृद्ध भइसकेपछि शारीरिक कठिनाइको कारण र बढी जिम्मेवारीको कारणबाट त्यतिको गर्न नसकिएको हुदा युवा अवस्था नै जे पनि सक्ने र गर्ने समय हो । (लेखक अधिवक्ता भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) अर्थशास्त्रका सहप्राध्यापक हुन्)