काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखा कार्यालयमा बीमा गराएका बीमित अमर बहादुर एडी क्षेत्रीको मृत्यु भएपछि शाखा कार्यालयले बीमितको परिवारलाई घरमै गएर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
मृतक क्षेत्रीले कम्पनीको अत्तरियास्थित शाखा कार्यालयबाट ३ लाख ५० हजार रुपैयाँ बीमांकको ‘सुलभ जीवन बीमा’ योजना खरिद गरेका थिए । उनले दुई किस्ता रकममात्र जम्मा गरेको अवस्थामा घरमै अचानक बेहोस भई अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो । बीमितको निधनपछि कम्पनीले मृत्यु सुविधा, बीमांक रकम र बोनससमेत गरी कुल ३ लाख ७१ हजार १७५ रुपैयाँ बीमितको आश्रित परिवारलाई हस्तान्तरण गरेको छ । उक्त रकम मृतककी श्रीमती धना देवी एडी क्षेत्रीलाई घरमै आयोजित एक कार्यक्रमका बीच चेकमार्फत हस्तान्तरण गरिएको हो ।
दाबी रकम हस्तान्तरण कार्यक्रम आलिताल गाउँपालिका–६ सेरीस्थित मृतकको घरमा आयोजना गरिएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष कुम्भर बुढाको प्रमुख आतिथ्य, शाखा प्रमुख मोहन बहादुर बोहराको अध्यक्षता तथा एजेन्सी प्रमुख धर्म सिंह ऐर र तीनपटक ‘एमडीआरटी’ उपाधि प्राप्त अभिकर्ता प्रेम साउदको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा गाउँबासीहरूको उल्लेखनीय सहभागिता थियो ।
शाखा प्रमुख मोहन बहादुर बोहराले सम्पूर्ण आवश्यक कागजात पेश भएको एक हप्ताभित्रै दाबी रकम भुक्तानी गरिएको जानकारी दिए । उनका अनुसार अत्तरिया शाखाबाट परेका सबै दाबीहरू नियमित र समयमै फरछ्योट गरिएको छ । वडाध्यक्ष कुम्भर बुढाले बीमा प्रत्येक व्यक्तिका लागि आवश्यक रहेको बताउँदै आफ्नो वडाबाट बीमासम्बन्धी सचेतना र सहजीकरणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सानो रकमबाटै भए पनि सबैले बीमा गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख बोहराले बीमा सुखमा मात्र नभई दुःखमा पनि साथ दिने भरोसायोग्य माध्यम भएको उल्लेख गरे । उनले बीमाले बचत गर्ने बानी विकास गराउने र भविष्य सुरक्षित बनाउन सहयोग गर्ने बताए ।
साथै बीमित र अभिकर्ताको हकहितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए । एजेन्सी प्रमुख धर्म सिंह ऐरले मृतकलाई आफूले प्रेरित गरी बीमा गराएको उल्लेख गर्दै कठिन समयमा परिवारलाई आर्थिक सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताए । उनले बीमा करले होइन इच्छाले गर्नुपर्ने विषय भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरे । त्यस्तै तीनपटक ‘एमडीआरटी’ उपाधि प्राप्त प्रेम साउदले बीमाले टुटेको परिवारलाई आर्थिक सुरक्षा दिन सक्ने बताउँदै आगामी दिनमा अझबढी नागरिकलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।