पोखराको लिचीबारी जग्गा घुस प्रकरणमा मुछिएकी पूर्वमन्त्री तथा नेकपा नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठ र पाँच जना विचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गत असार २८ गते मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ घुस लिएको भनिएको अडियो सार्वजनिक भएपछि प्रकरण बाहिर आएको थियो। कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिने तथा अनुकूल व्यक्तिलाई व्यवस्थापन गरिदिने आश्वासनसहित चलखेल भएको आरोपमा श्रेष्ठ पनि जोडिएकी थिइन्। अख्तियारले गुप्ता र श्रेष्ठसँग जनही ७८ लाख रुपैयाँ बिगो माग गरेको छ। यसअघि थुनछेक बहसपछि विशेष अदालतले गुप्तालाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।