काठमाडौं । नेपालभर क्यान्सरको प्रारम्भिक पहिचान र प्रभावकारी उपचार प्रणाली सुदृढ बनाउन एकताबद्ध पहल गरिएको छ ।
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस २०२६को अवसरमा भक्तपुर, भरतपुर र काठमाडौंमा आयोजित विभिन्न कार्यक्रममा सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदारले क्यान्सर पहिचानमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । बाल क्यान्सर समयमै पहिचान गरी उचित उपचार भएमा निको हुन सक्ने उनीहरुको भनाइ थियो । माघ २९ गते भक्तपुर क्यान्सर अस्पतालबाट सुरु भएको साताव्यापी कार्यक्रममा प्रदेश तथा संघीय तहका सरोकारवालाहरूले समन्वित र प्रभावकारी क्यान्सर सेवाको आवश्यकता औँल्याएका थिए । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग मिलेर सुदृढ रेफरल प्रणाली, व्यवस्थित तथ्यांक संकलन तथा प्रतिवेदन प्रणाली, तथा बाल क्यान्सर सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।
यसैगरी भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फागुन १ देखि ३ गतेसम्म आयोजित तीनदिने कार्यक्रमले समुदायस्तरीय सचेतना र सहभागितामा विशेष ध्यान केन्द्रित गरेको थियो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई बाल क्यान्सरका प्रारम्भिक चेतावनी संकेतहरू पहिचान गर्न तालिम पनि दिइएको थियो । यसले छिटो सिफारिस र समयमै उपचार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा क्यान्सर निको भइसकेका बालबालिकाका परिवार र हाल उपचाररत परिवारबीच अनुभव आदानप्रदान सत्र पनि आयोजना गरिएको थियो । अभियानको समापन फागुन ४ गते कान्ति बाल अस्पतालमा गरिएको थियो । सोही अवसरमा ‘अभिभावक सहयोग समूह’ औपचारिक रूपमा गठन गरिएको छ । यस समूहले मासिक भेटघाटमार्फत क्यान्सर उपचार प्रक्रियामा रहेका परिवारहरूलाई मार्गदर्शन, भावनात्मक साथ तथा व्यावहारिक सुझाव प्रदान गर्ने अपेक्षा गरिएको छ । वर्ल्ड चाइल्ड क्यान्सर र रमेश गुप्ता मेमोरियल ट्रस्टले सबै कार्यक्रम स्थलहरूमा उपचाररत बालबालिकाका लागि शैक्षिक सामग्री तथा खेलौना वितरण गरेको थियो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कान्ति बाल अस्पताललाई बाल क्यान्सर वार्डहरूलाई अझ बालमैत्री वातावरणमा रूपान्तरण गर्न विशेष खेल सामग्री पनि प्रदान गरिएको छ । क्यान्सरको प्रारम्भिक पहिचानलाई सुदृढ बनाउने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने तथा परिवारकेन्द्रित उपचार प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढाइएका यी सामूहिक प्रयासहरूले नेपालले प्रत्येक बालबालिकालाई उनीहरूको भौगोलिक अवस्था वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भएपनि समयमै उपचार र सहानुभूतिपूर्ण सहयोग उपलब्ध गराई क्यान्सरविरुद्ध लड्ने समान अवसर सुनिश्चित गर्ने जनाइएको छ ।