काठमाडौं । नक्कली गहना (सुनजस्तै देखिने)को पसल चलाउने एउटा सामान्य व्यवसायीको कम्तीमा १६ करोडको सम्पत्ति देखिएको छ । आफ्नो व्यवसाय र अन्य भिडियोहरू टिकटकमा पोस्ट गरेर चर्चामा आएकी ललितपुरको कुमारीपाटीमा तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीको आम्दानीको स्रोत विश्वसनीय नदेखिएपछि प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै तुल्सीविरूद्ध ठगी, आपराधिक लाभ सँगसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ । उनी चीनमा बसेर पनि ठगी र आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उनीविरूद्ध साउन २२ गते कुमार चिमोरियाले ठगी र आपराधिक लाभको कसुर गरेको भनेर जाहेरी दिएका थिए । त्यस कसुरमा अनुसन्धान भइरहँदा सम्पत्ति शुद्धीकरणको बारेमा पनि अनुसन्धान थालेको हो । शुद्धीकरण अनुसन्धान विभागले गत कात्तिक २० गते सम्पत्ति अनुसन्धानका लागि पत्राचार गरेपछि उनीमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको विषयमा पनि अनुसन्धान गरिरहेको हो । अघिल्लो वर्षको फागुन १९ गते तुल्सीविरूद्ध उजुरी दर्ता भएपछि विभागले प्रहरीलाई कात्तिक २० गते मात्र पत्राचार गरेर अनुसन्धान गर्न भनेको हो ।