काठमाडौं । पोखराको पहिलो संयुक्त आउटलेटपछि ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन् ।
सन् २०२१मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्णरूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ । यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु हो । काठमाडौंको यो आउटलेटले यस्तो विशेष वातावरण प्रदान गर्दछ, जहाँ ग्राहकहरूले प्रिमियम कफीको स्वाद लिँदै एक–आपसमा भेटघाट गर्न र मोटरसाइकल संस्कृतिको मज्जा लिन सक्नेछन् । यसलाई एउटा सामान्य क्याफे मात्र नभएर उत्कृष्ट ‘लाइफस्टाइल डेस्टिनेसन’को रूपमा विकास गर्ने एसजे मोटो र हिमालयन जाभाको साझा दृष्टिकोण रहेको छ । नयाँ आउटलेटमा ग्राहकको सुविधा, आपसी भाइचारा र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ । एसजे मोटोका संस्थापक सौरभ ज्योतिले ‘पोखरामा पहिलो संयुक्त आउटलेट खोलेदेखि नै हामीले बाइकर र कफी प्रेमीहरूको समुदाय बढ्दै गएको पाएका छौँ । दुवै क्षेत्रप्रतिको यही लगावलाई अझ प्रोत्साहन गर्न र उत्कृष्ट अनुभव प्रदान गर्न हामीले काठमाडौंको यो आउटलेटलाई थप फराकिलो र आकर्षक बनाएका हौँ ।’