विश्व अहिले तीव्र गतिमा परिवर्तनको दिशातर्फ अघि बढिरहेको छ । यो डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, सामाजिक सञ्जाल र विश्वव्यापीकरणले आर्थिक संरचनालाई पुनः परिभाषित गरिरहेको छ । यही परिवर्तनको केन्द्रमा रहेको नयाँ पुस्ता जेन–जी हो । यो पुस्ता पूर्ण रूपमा डिजिटल वातावरणमा हुर्किएको पहिलो पुस्ता हो । तसर्थ जेन–जी समूह सन् १९९७ देखि २०१२ बीच जन्मिएका व्यक्तिहरू अहिले विश्व अर्थतन्त्रमा एक महत्वपूर्ण शक्ति बन्दै गएका छन् । उनीहरू डिजिटल युगमा जन्मिएका, प्रविधि–मैत्री, सामाजिक रूपमा सचेत र उपभोग तथा रोजगारीका नयाँ ढाँचाहरू निर्माण गर्ने पुस्ता हुन् । विश्व श्रम बजारमा उनीहरूको हिस्सा बढ्दै गएको छ । र उपभोग, लगानी, रोजगारी, प्रविधि प्रयोग, तथा सामाजिक मूल्यहरूमा उनीहरूको प्रभाव गहिरो छ । तसर्थ जेन–जी विश्व जनसंख्याको ठूलो हिस्सा हुन् । जुन अमेरिकी श्रम विभागका अनुसार, आगामी दशकमा जेन–जी विश्व श्रम बजारको करिब ३० प्रतिशत हिस्सा ओगट्ने छन् । उनीहरूको श्रम बजार प्रवेशले उत्पादनशीलता, रोजगारीको स्वरूप र काम गर्ने तरिकामा परिवर्तन ल्याएको छ । हालैको ताजा तथ्यांकअनुसार बैंक अफ अमेरिकाको अध्ययनअनुसार, आगामी पाँच वर्षमा जेन–जीले विश्वभर करिब ३६ ट्रिलियन अमेरिकी डलर बराबरको आय आर्जन गर्नेछन् । जुन सन् २०४० सम्ममा ७४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । उनीहरू डिजिटल प्लेटफर्ममार्फत सामान खरिद गर्न रुचाउँछन् । त्यसकारणले गर्दा सामाजिक मूल्य र वातावरणीय सचेतनाले उनीहरूको उपभोग निर्णयलाई प्रभावित गर्छ । उदाहरणका लागि, टिकाउ उत्पादन, नैतिक ब्रान्ड र सामाजिक उत्तरदायित्व भएका कम्पनीहरूलाई प्राथमिकता दिन्छन् । जेन–जी डिजिटल युगमा जन्मिएका भएकाले उनीहरूको आर्थिक गतिविधि प्रविधिसँग गहिरो रूपमा जोडिएको छ । वस्तुतः अक्सफोर्ड इकोनोमिक्सको अध्ययनअनुसार, सन् २०३० सम्ममा जेन–जीको श्रम आय ४४० बिलियन डलरबाट बढेर ३.५ ट्रिलियन डलर पुग्ने छ, र उनीहरूको उपभोग खर्च ३ ट्रिलियन डलर हुने अनुमान छ ।
जेन–जीलाई डिजिटल नेटिभ्स पनि भनिन्छ । यो पुस्ता स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन शिक्षा र डिजिटल सेवाहरूको बीचमा हुर्किएको छ । यसले उनीहरूको सोच, व्यवहार र आर्थिक गतिविधिलाई गहिरो रूपमा प्रभावित गरेको छ । जेन–जीका प्रमुख विशेषताहरूमा डिजिटल दक्षता, छिटो सूचना ग्रहण गर्ने क्षमता, स्वतन्त्रता र लचिलोपनको चाहना, सामाजिक चेतना र वातावरणीय संवेदनशीलता, उद्यमशीलता र आत्मनिर्भरता आदि रहेका छन् । यी विशेषताहरूले जेन–जीलाई अघिल्लो पुस्ताभन्दा फरक आर्थिक भूमिका प्रदान गरेको छ । साथै विश्व अर्थतन्त्रमा जेन–जीको उदय भएको छ । हाल आएर विश्वभर जेन–जीको संख्या तीव्र रूपमा बढिरहेको छ । अहिले विश्व जनसंख्याको ठूलो हिस्सा जेन–जीमा पर्छ । उनीहरू श्रम बजारमा प्रवेश गर्दैछन् र उपभोक्ता बजारमा निर्णायक शक्ति बन्न थालेका छन् । उनीहरूको उपभोक्ता शक्तिको विस्तार हुँदै गएको छ । फलतः जेन–जीले विश्वको उपभोक्ता बजारमा ठूलो परिवर्तन ल्याएको छ । उनीहरूको प्राथमिकता निम्न प्रकारका छन् । जसमा अनलाइन किनमेल ब्रान्डको सामाजिक उत्तरदायित्व, टिकाउ उत्पादन, व्यक्तिगत अनुभव आदि रहेका छन् । जसलेगर्दा कम्पनीहरूले आफ्नो मार्केटिङ रणनीति जेन–जीलाई लक्षित गरेर परिवर्तन गरिरहेका छन् । यसको साथसाथै डिजिटल अर्थतन्त्रमा जेन–जीको योगदानमा सहयोग हुँदै गएको छ । जसमा भन्ने नै हो भने डिजिटल अर्थतन्त्र जेन–जीको सबैभन्दा ठूलो प्रभाव क्षेत्र हो । यसमा ई–कमर्सको विस्तार दिनप्रति हुँदै गएको छ । यसमा खासगरीकन जेन–जी अनलाइन प्लेटफर्ममा सक्रिय भएकाले ई–कमर्स उद्योग तीव्र रूपमा बढिरहेको छ । नेपालमा पनि दराज, सामाजिक सञ्जाल व्यापार, अनलाइन सेवाहरू जेन–जीको कारण विस्तार भएका छन् । त्यसरी नै डिजिटल वित्तीय सेवामा मोबाइल बैंकिङ, डिजिटल वालेट, अनलाइन भुक्तानी प्रणाली जेन–जीको प्रयोगले तीव्र रूपमा बढेको छ ।
जेन–जी आन्दोलन नेपालको हालैको प्रमुख राजनीतिक–सामाजिक घटना हो । जसले आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्यायो । यो आन्दोलन भदौ २३–२४, २०८२ मा भ्रष्टाचार र बेथितिविरुद्ध युवाको नेतृत्वमा भएको थियो । यसको आर्थिक प्रभावहरू क्षति मूल्यांकन, रोजगारी हानि, लगानीमा असर लगायतका छन् । तथापि, जेन–जी आन्दोलनबाट सार्वजनिक तथा निजी क्षेत्रमा कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको सरकारी प्रतिवेदनले देखाएको छ । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत बराबर हो । राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार सरकारी क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक क्षेत्रमा ५ अर्ब ९७ करोड १७ लाख क्षति भएको छ । जुन क्षतिग्रस्त संरचनाहरूमा २,६७१ भवनहरू (३९ अर्ब ३१ करोड मूल्यको) र १२,६५९ सवारी साधनहरू (१२ अर्ब ९३ लाख मूल्यको) समावेश छन् । सातै प्रदेशका ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित भएका थिए । तसर्थ पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यसरी निजी क्षेत्रमा ३३ अर्ब ५४ करोडको क्षति भएको छ जसमा व्यवसायिक प्रतिष्ठानहरूमा २ अर्ब ७४ करोड र सर्वसाधारणका घरहरूमा ६८ करोड ४० लाखको नोक्सान समावेश छ । ठूला करदाता जस्तै भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप र एनसेलमा ठूलो क्षति पुगेको थियो । यसले निजी क्षेत्रको मनोबल गिराएको छ र बीमालाई दबाब बढाएको छ । जबकि आन्दोलनले व्यापार, पर्यटन र उद्योगलाई अवरुद्ध बनायो जसबाट अर्बौँको अप्रत्यक्ष हानि भएको अर्थशास्त्रीहरूको अनुमान छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि प्रक्षेपण ५.२ प्रतिशतबाट घटाएर २.१ प्रतिशतमा झारेको थियो । यस आन्दोलनको कारणले गर्दा रोजगारी र उत्पादन हानि भएको छ । यस आन्दोलनबाट २,३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएका छन् भने कुल २,९९९ जनाको रोजगारी प्रभावित भएको छ । जसमा भन्ने नै हो भने वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाखको नोक्सान भएको छ । केही अनुमानमा १० हजारदेखि १५ हजारसम्मको रोजगारी गुमेको उल्लेख छ ।
नेपालका जेन–जी युवाहरू केवल आर्थिक गतिविधिमा मात्र सीमित छैनन् । उनीहरू सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समानताका लागि सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय छन् । हालैका युवा–नेतृत्वका आन्दोलनहरूले नीति निर्माताहरूलाई युवा केन्द्रित आर्थिक योजना बनाउन दबाब दिएका छन् । नेपालका सहरदेखि गाउँसम्मका जेन–जी युवाहरूले सूचना प्रविधिको क्षेत्रमा काम गरेर वैदेशिक मुद्रा भित्र्याइरहेका छन् । उनीहरूले सफ्टवेयर विकास, डिजिटल मार्केटिङ र कन्टेन्ट क्रिएसन नेपालको नयाँ निर्यात वस्तु जस्तै बनेको छ । नेपालमा जेन–जीको खर्च गर्ने शैलीले खुद्रा व्यापार र रेस्टुरेन्ट व्यवसायमा उछाल ल्याएको छ । यद्यपि, यो पुस्ताको ठूलो हिस्सा वैदेशिक रोजगारी वा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढ्दा देशमा श्रम शक्तिको अभाव जस्ता गम्भीर आर्थिक चुनौती पनि थपिएका छन् ।
समग्रमा भन्नुपर्दा आज जेन–जी केवल भविष्यको श्रमशक्ति मात्र होइन, वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउने सक्रिय उपभोक्ता, उद्यमी, नवप्रवर्तनकर्ता र नीति प्रभावकर्ता पनि हो । नेपालजस्तो युवा जनसंख्या धेरै भएको देशमा जेन–जीको आर्थिक प्रभाव अझै महत्वपूर्ण छ । जेन–जी केवल उपभोक्ता मात्र होइनन् । उनीहरू भविष्यका उद्यमी, नवप्रवर्तक, र नीति–निर्माता पनि हुन् । उनीहरूको आर्थिक प्रभाव बहुआयामिक छ । जसलेगर्दा उपभोग, रोजगारी, प्रविधि, सामाजिक मूल्य र वित्तीय प्रणालीमा आधारित रहेका छन् । उनीहरूले आगामी दशकमा विश्व अर्थतन्त्रको दिशा निर्धारण गर्ने प्रमुख शक्ति जेन–जी नै हुनेछन् । मूलतः जेन–जी केवल एउटा पुस्ता मात्र होइन, यो एउटा आर्थिक क्रान्ति हो । उनीहरूको प्रविधिप्रतिको लगाव, नैतिक उपभोगको चाहना र कार्यस्थलमा खोज्ने नयाँपनले विश्व अर्थतन्त्रलाई अझ बढी दिगो र समावेशी बनाउन मद्दत पुर्याइरहेको छ । यदि नेपालले यो पुस्ताको ऊर्जा र क्षमतालाई स्वदेशमै सदुपयोग गर्न सक्यो भने, २१औँ शताब्दीको आर्थिक विकासमा ठूलो फड्को मार्न सकिने निश्चित छ ।