काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सवारीसाधन संचालनमा रोक लगाउने निर्णय गरेको हो । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन भने चल्न पाउनेछन् । यस्तै कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनलाई पनि संचालन गर्न दिइने छ । ती बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन संचालनमा रोक लगाइएको हो । फागुन २१ गते साँझ ५ बजे मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
यस्तै आयोगले निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लामा मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्द लगाउने निर्णय गरेको छ । त्यसको लागि मतदानको मितिभन्दा सातदिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्रीवितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई पत्र पठाउने निर्णय गरिएको छ । यस्तै फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ ।
मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलबाट घर/बसोबास गर्ने होटलसम्म र घर/बसोबास गर्ने होटलबाट विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको हो । यसैगरी मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्र लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरिएको छ । सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउनेछन् ।
मतदानको दिनमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाई खडा गरिने जनाइएको छ । सो इकाईमा आयोगको तर्फबाट दुई जना र जिल्ला प्रशासन कार्यालय, काठमाडौँको तर्फबाट दुई जना कर्मचारी तोकिएको छ । निर्णयअनुसार आवश्यक सहजीकरण र समन्वयका लागि सम्पूर्ण सरोकार भएकाहरूमा आयोगले आग्रहसमेत गरेको छ ।