वास्तवमा शिक्षा भनेको केवल अक्षर चिन्ने वा परीक्षा पास गर्ने प्रक्रिया मात्र होइन । शिक्षा भनेको ज्ञान प्राप्त गर्नु, बुद्धि बढाउनु, विवेकशील बन्नु, आफ्नो विचारलाई फराकिलो बनाउनु, विनम्रता प्रकट गर्न सक्नु, सही र गलत छुट्याउन सक्नु, संयमी र ज्ञानी बन्नु हो । सबैभन्दा ठूलो कुरा त आत्मज्ञान प्राप्त गर्नु अर्थात् आफ्नो आत्मालाई चिन्न सक्नु नै वास्तविक रूपमा शिक्षित हुनु हो । जसले आफूलाई चिन्छ, आफ्नो कर्तव्यलाई बुझ्छ, आफ्नो सीमालाई स्वीकार गर्छ र आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउँछ, ऊ नै साँचो अर्थमा शिक्षित व्यक्ति हो ।
तर हाम्रो समाजमा सामान्यतया शिक्षा भन्नासाथ मानिसले विद्यालय वा कलेज गएर प्रमाणपत्र प्राप्त गरेपछि मात्र शिक्षित भएको ठान्छन् । आजको युगमा प्रमाणपत्रको आवश्यकता अवश्य छ । डिग्री हासिल गर्नु नराम्रो कुरा होइन । वास्तवमा अध्ययन गरेर नै डिग्री प्राप्त गरिन्छ । तर यदि कसैसँग प्रमाणपत्र छैन भने उसले जति नै अध्ययन गरे पनि ‘पढेको छैन’ वा ‘डिग्री पाएको छैन’ भन्ने बुझाइ समाजमा पाइन्छ । आजको समाजले को कहाँ पढ्छ, कति पैसा तिरेर पढेको छ र के विषय पढेको छ भन्ने कुरामा धेरै चासो राख्ने गरेको छ । अझ महँगो विद्यालय वा कलेजमा धेरै पैसा तिरेर पढाउनु नै प्रतिष्ठाको विषय जस्तो मानिन्छ ।
तर यहाँ मुख्य प्रश्न उठ्छ— जुनसुकै स्थानमा पढे पनि, जस्तोसुकै पाठ्यक्रम पढे पनि, के आजको शिक्षा प्रणालीले समाजलाई आवश्यक मानव संसाधन तयार पारेको छ ? के आज ‘पढे–लेखे’ भनिएका मानिसहरूले देश विकासमा अपेक्षित योगदान दिएका छन् ? के महँगो विद्यालयमा पढ्दैमा विद्यार्थी उत्कृष्ट हुन्छ ? के पाठ्यपुस्तकमा लेखिएको ज्ञान मात्र ग्रहण गर्दैमा मानिस साँचो अर्थमा शिक्षित बन्छ ?
यदि त्यसो हो भने, किन शिक्षित भनिएका मानिसहरूले नै कहिलेकाहीँ झगडा गर्छन्, कलह फैलाउँछन्, बाटोमा फोहोर फाल्छन्, ट्राफिक नियम उल्लंघन गर्छन्, भ्रष्टाचार गर्छन् ? यदि शिक्षित भनिएका व्यक्तिहरूबाटै यस्ता नकारात्मक क्रियाकलाप भइरहेका छन् भने त्यो कस्तो शिक्षा हो ? के केवल प्रमाणपत्रले मानिसलाई नैतिक बनाउँछ ? यदि नैतिकता, अनुशासन र जिम्मेवारीबोध छैन भने त्यस्तो शिक्षालाई कसरी पूर्ण शिक्षा भन्न सकिन्छ ?
आजको समयको शिक्षा कताकता पैसासँग तौलिन थालेको देखिन्छ । जसले धेरै खर्च गर्न सक्छ, ऊ राम्रो विद्यालयमा पढ्न सक्छ; जसले खर्च गर्न सक्दैन, ऊ अवसरबाट वञ्चित हुन्छ । यसले वास्तविक ज्ञानी र सच्चा शिक्षित व्यक्तित्वलाई पछाडि पार्ने अवस्था पनि सिर्जना गरेको छ । शिक्षा यदि केवल व्यापारिक वस्तुमा सीमित भयो भने त्यसले समाजमा असमानता बढाउँछ, चेतनाको स्तर घटाउँछ र मूल्य–मान्यतामा गिरावट ल्याउँछ ।
वास्तवमा शिक्षा त्यो हो जसले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ लैजान्छ । शिक्षा त्यो हो जसले ज्ञानको भण्डार दिन्छ, आवश्यक सीप सिकाउँछ, नयाँ–नयाँ प्रविधि सिकाउँछ, समाजलाई शान्त र सुन्दर बनाउन प्रेरित गर्छ, सहकार्य र सद्भाव सिकाउँछ, व्यवहारिक बनाउँछ र सरल जीवन जीउन सिकाउँछ । शिक्षा यदि द्वेष फैलाउने, विभाजन गर्ने र अहंकार बढाउने माध्यम बन्छ भने त्यो शिक्षा होइन, केवल औपचारिक प्रमाणपत्र मात्र हो ।
साँचो शिक्षित व्यक्ति त्यो हो जसले आफूले पढेको विषयलाई व्यवहारमा उतार्छ । केवल किताब पढ्दैमा ज्ञानी भइँदैन, आँखा चिम्लेर बस्दैमा ध्यान प्राप्त हुँदैन । ज्ञान र शिक्षा तब सार्थक हुन्छ जब त्यो कर्मसँग जोडिन्छ । यही सन्दर्भमा श्रीमद्भगवद्गीतामा भनिएको छ— ‘योगः कर्मसु कौशलम् ।’ (अध्याय २, श्लोक ५०) अर्थात् कर्ममा कुशलता नै योग हो । ध्यान भनेको आँखा चिम्लेर बस्नु मात्र होइन, जुनसुकै काम गर्दा पूर्ण ध्यान दिएर गर्नु नै साँचो ध्यान हो । यदि कसैले गाडी चलाउँदा ध्यान नदिएर चलायो भने दुर्घटना हुन सक्छ । त्यसैले शिक्षा ग्रहण गर्दा पनि कर्तव्यनिष्ठ भएर, ध्यान दिएर र लगनशील भएर पढ्नुपर्छ ।
साँचो शिक्षाले मानिसलाई सबैसँग समान व्यवहार गर्न सिकाउँछ । लोभ–लालच त्याग्न, इमानदार बन्न, परिश्रमी बन्न र उत्तरदायी बन्न सिकाउँछ । जसले आफ्ना स्वार्थभन्दा माथि उठेर समाजको हित सोच्न सक्छ, ऊ नै सच्चा शिक्षित हो । शिक्षा यदि केवल व्यक्तिगत सफलता र आर्थिक उन्नतिमा सीमित रह्यो भने त्यो अधुरो शिक्षा हो ।
तिमी जे बन्न चाहन्छौ, बन । चालक बन, पाइलट बन, शिक्षक बन, इन्जिनियर बन, प्लम्बर बन, इलेक्ट्रिसियन बन, एआई इन्जिनियर बन, वैज्ञानिक बन, नेता बन, वकिल बन, किसान बन, कर्मचारी बन, प्रहरी बन वा सैनिक बन—तर सबैभन्दा पहिले असल मानिस बन । कर्तव्यनिष्ठ र नैतिक व्यक्तित्व बन । जुनसुकै पेशामा लागे पनि खराब कर्म नगर । असल सोच राख, असल दृष्टिकोण राख, प्रकृतिलाई माया गर । आजै सबै स्रोत साधन समाप्त नगर, भोलिको सन्ततिका लागि पनि सुरक्षित राख । आफ्नो अस्तित्व मेटिँदा आउने पुस्ताको अस्तित्व मेटाउने प्रयास नगर ।
पढ जीवन चलाउनका लागि, तर ज्ञान यस्तो ग्रहण गर जसले भोलिको पुस्तालाई मार्गदर्शन गर्न सकोस् । शिक्षा यस्तो होस् जसले जीवनयापन मात्र होइन, जीवनको अर्थ बुझाउन सकोस् । शिक्षा यस्तो होस् जसले संसारमा नराम्रा विचारलाई बढावा नदियोस्, बरु सकारात्मक सोच र सद्भाव फैलाओस् ।
शिक्षा ज्ञान हो । शिक्षा ज्योति हो । शिक्षा यस्तो शक्ति हो जसले अहंकार मेटाउन सक्छ । साँचो शिक्षाले मानिसलाई विनम्र बनाउँछ । आज शिक्षा र प्रविधिका कारण संसार एकै ठाउँ जस्तो भएको छ । यातायात, सञ्चार र विज्ञानको विकासले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा पुग्न सक्ने बनाएको छ । चेतनाको स्तर बढेको छ । तर अझै पनि शिक्षा पूर्ण रूपमा सफल भएको छैन यदि समाजमा भेदभाव, अन्याय र असमानता कायम छ भने ।
शिक्षा महासागर जस्तै हो । यसको गहिराइ अपार छ । जसले यसको गहिराइ बुझ्छ, उसले मात्र समाजलाई उज्यालोतर्फ डोर्याउन सक्छ । शिक्षा यस्तो शक्ति हो जसले मानिसलाई जीवन जिउने कला सिकाउँछ, समस्यासँग जुध्ने साहस दिन्छ र सिर्जनशीलता बढाउँछ ।
अबको शिक्षा देश, परिवेश र भोलिका उदीयमान बालबालिकालाई असल नागरिक बनाउने खालको हुनुपर्छ । केवल दुई–चारवटा पुस्तक पढ्दैमा मानिस ज्ञानी हुँदैन । शिक्षा जहाँबाट पनि लिन सकिन्छ— विद्यालयबाट, परिवारबाट, समाजबाट, प्रकृतिबाट, अनुभवबाट । आजको सभ्य समाजमा सिकाइका धेरै माध्यम छन् । आवश्यक कुरा त सही माध्यमको पहिचान गर्नु हो ।
यसकारण शिक्षा केवल प्रमाणपत्रको नाम होइन, यो जीवनलाई दिशा दिने प्रकाश हो । शिक्षा भनेको आत्मबोध, नैतिकता, जिम्मेवारी, व्यवहारिक ज्ञान र मानवताको संगम हो । जसले मानिसलाई मानव बनाउँछ, समाजलाई सभ्य बनाउँछ र राष्ट्रलाई समुन्नत बनाउँछ— त्यो नै साँचो शिक्षा हो ।
शिक्षा जहाँबाट पनि लिन सकिन्छ । शिक्षा केवल विद्यालयको चारभित्ताभित्र सीमित हुँदैन । घरबाट, आमाबुबाबाट, आफन्तबाट, समाजबाट, साथीसँगको संगतबाट, प्रकृतिबाट, जनावर तथा चराचुरुङ्गीबाट पनि धेरै कुरा सिक्न सकिन्छ । नदीले निरन्तर बग्न सिकाउँछ, रुखले दिन जान्न सिकाउँछ, सूर्यले नियमितता सिकाउँछ, चराले परिश्रम र स्वावलम्बन सिकाउँछ । त्यसैले सिकाइका स्रोत असंख्य छन् । प्रश्न यो होइन कि शिक्षा कहाँबाट लिइयो, प्रश्न त यो हो कि कस्तो शिक्षा लिइयो ।
जस्तोसुकै पेशा अपनाए पनि, जुनसुकै क्षेत्रमा अघि बढे पनि, आफ्नो पेशामा नैतिकता, कर्तव्यनिष्ठता, सत्यता र धैर्यता हुनुपर्छ । आजको शिक्षाले केवल सीप र ज्ञान मात्र होइन, चरित्र निर्माण पनि गर्नुपर्छ । गहन अर्थमा शिक्षा भनेको व्यक्तिको आन्तरिक रूपान्तरण हो । यदि शिक्षाले व्यक्तिको सोच, व्यवहार र दृष्टिकोण परिवर्तन गर्न सकेन भने त्यो शिक्षा अधुरो रहन्छ ।
ज्ञान केवल किताबमा पढ्नका लागि होइन, त्यो समाजमा देखिनुपर्छ । ज्ञान व्यवहारमा झल्किनुपर्छ । शिक्षाले जीवनलाई डर र त्रासले भरिएको होइन, आत्मविश्वास र विवेकले भरिएको बनाउनुपर्छ । शिक्षाले असभ्य होइन, सभ्य र सुसंस्कृत नागरिक तयार गर्नुपर्छ । शिक्षा प्रतिस्पर्धी त बनाओस्, तर त्यो प्रतिस्पर्धा स्वस्थ होस् । अरूलाई गिराएर होइन, आफूलाई उचालेर अगाडि बढ्ने प्रतिस्पर्धा ।
शिक्षाले लोभ र लालच सिकाउनु हुँदैन; बरु दानी र सहयोगी बन्न सिकाउनुपर्छ । शिक्षाले देश बिगार्ने होइन, देश बनाउने चेतना जगाउनुपर्छ । समाजलाई टुक्र्याउने होइन, एकताको सूत्रमा बाँध्ने शक्ति दिनुपर्छ । यदि शिक्षित भनिएको सन्तानले आफ्नै आमाबुबा र आफन्तसँग दूरी बढाउँछ भने त्यो कस्तो शिक्षा हो? साँचो शिक्षाले त मायाप्रेम र करुणाको सागर बर्साउनुपर्छ ।
शिक्षाले सेवा भावना जगाउनुपर्छ । धार्मिक बनाउनुको अर्थ अन्धविश्वासी बनाउनु होइन, धर्मको मर्म— सत्य, अहिंसा, करुणा र मानवता सम्झाउनुपर्छ । शिक्षाले द्वन्द्व होइन, मिलन गराउनुपर्छ । झुट बोल्न सिकाउने होइन, सत्य बोल्न साहस दिने हुनुपर्छ । प्रेमभाव जागृत गराउनुपर्छ, समाजलाई शान्त र सुन्दर बनाउने प्रेरणा दिनुपर्छ । हिंस्रक होइन, दयाले भरिएको हृदय निर्माण गर्नुपर्छ ।
शिक्षाले बुद्धि र विवेक दुवैको विकास गर्नुपर्छ । केवल बौद्धिक क्षमताले मात्र मानिस पूर्ण हुँदैन; विवेक नभए ज्ञानले पनि विनाश निम्त्याउन सक्छ । शिक्षाले सकारात्मक सोच विकास गर्नुपर्छ, गरिब, दीनदुःखी र कमजोरप्रति सहानुभूति जगाउनुपर्छ । एकअर्कालाई होच्याउने होइन, समानभावमा राख्न सक्ने चेतना दिनुपर्छ । झुट, छलकपट र अरूलाई पीडा दिने स्वभाव सिकाउनु शिक्षा होइन । शिक्षाले मानिसलाई मानिस बनाओस्, दानव होइन ।
इतिहासले देखाएको छ— अहंकार र दम्भले भरिएको शिक्षाले विश्वमा ठूलो विनाश निम्त्याएको छ । वैज्ञानिक ज्ञानको दुरुपयोग हुँदा युद्ध भएका छन्, करोडौँ मानिसले ज्यान गुमाएका छन्, मानव अस्तित्व नै संकटमा परेको छ । ज्ञान बढ्दै जाँदा यदि विनम्रता घट्दै गयो भने त्यो शिक्षा खतरनाक बन्न सक्छ । आज पनि संसारका धेरै ठाउँमा अशान्ति छ । कतिपय मानिस दुई छाक खान पाउँदैनन्, डर र त्रासमा जीवन बिताउन बाध्य छन् ।
हाम्रो आफ्नै देशमा पनि हामीले द्वन्द्व, हिंसा र मारकाट देख्यौं । ती पीडादायी क्षणहरूले हामीलाई सिकाउनुपर्छ कि अब त्यस्तो दिन फेरि नआओस् । सबैले असल शिक्षा पाऊन्, सबैको भलो होस् । बालबालिकालाई जस्तोसुकै विषय पढाए पनि, सबैभन्दा पहिले मानवता सिकाऔँ । हामी मानिस भएर जन्मिएपछि शान्तिको मार्गमा अगाडि बढ्न सक्नुपर्छ ।
प्रत्येक व्यक्तिले आफैँलाई प्रश्न गर्नुपर्छ— म किन यो धर्तीमा जन्मिएँ ? मेरो उद्देश्य के हो ? के म केवल एउटा पेशा गरेर आफ्नो घर चलाउन मात्र जन्मिएको हुँ, वा म यो संसारका लागि केही सकारात्मक योगदान दिन जन्मिएको हुँ ? यदि यस्तो जागरण आउँछ भने त्यसलाई साँचो शिक्षा भन्न सकिन्छ ।
निस्सन्देह, जीविकोपार्जनका लागि काम गर्नुपर्छ । त्यो पनि आवश्यक छ । तर त्यसबाहेक पनि हामीले यो पृथ्वीका लागि केही राम्रो कर्म गर्न सक्नुपर्छ । समाजलाई सुधार्न, वातावरण जोगाउन, मानवीय सम्बन्ध सुदृढ बनाउन योगदान दिन सक्नुपर्छ । आउने पुस्तालाई पनि असल मार्गमा अघि बढाउन सक्नुपर्छ ।
आजको आवश्यकता यस्तै शिक्षाको हो । जसले जीवन चलाउने मात्र होइन, जीवनको अर्थ बुझाउने होस् । जसले केवल प्रतिस्पर्धा होइन, सहकार्य सिकाओस् । जसले केवल व्यक्तिगत सफलता होइन, सामूहिक समृद्धि सिकाओस् । जसले केवल आर्थिक उन्नति होइन, नैतिक उन्नति पनि सुनिश्चित गरोस् ।
शिक्षा त्यस्तो होस् जसले हामीलाई आत्मचिन्तन गराओस् । आफ्नो कमजोरी स्वीकार्न सिकाओस् । अरूको सफलता देखेर डाहा होइन, प्रेरणा लिन सिकाओस् । आलोचना गर्न होइन, सुधार गर्न अग्रसर बनाओस् ।
यदि शिक्षाले हामीलाई सत्य, करुणा, धैर्य, संयम, सेवा र प्रेमका मूल्यमा दृढ बनायो भने त्यो शिक्षा युगान्तकारी हुन्छ । यदि शिक्षाले हामीलाई प्रकृतिप्रेमी बनायो, सामाजिक उत्तरदायित्व बोध गरायो र विश्वमानवताको भाव जगायो भने त्यो शिक्षा अमूल्य हुन्छ ।
अन्ततः शिक्षा भनेको केवल अक्षरज्ञान होइन; शिक्षा भनेको चेतनाको विकास हो । शिक्षा भनेको आत्मजागरण हो । शिक्षा भनेको मानवतालाई उच्च स्थानमा पुर्याउने साधन हो । आजको विश्वलाई आवश्यक शिक्षा त्यही हो जसले मानिसलाई पेशागत रूपमा दक्ष मात्र होइन, नैतिक रूपमा दृढ, सामाजिक रूपमा उत्तरदायी र आध्यात्मिक रूपमा जागरूक बनाओस् ।
त्यसैले अब हामीले शिक्षा प्रणालीलाई पुनः चिन्तन गर्नुपर्छ । बालबालिकालाई केवल अंक र प्रमाणपत्रको दौडमा नहुत्याई, जीवनका मूल्य सिकाउनुपर्छ । घर, विद्यालय र समाज सबै मिलेर यस्तो वातावरण बनाऔँ जहाँ शिक्षा व्यवहारमा देखियोस्, चरित्रमा झल्कियोस् र समाजमा फलेको–फुलेको अनुभूति होस् ।
यस्तो शिक्षा दिनु आजको अपरिहार्य आवश्यकता हो, जसले हामीलाई केवल सफल होइन, सार्थक जीवन जिउन सिकाओस् ।