काठमाडौं । इरान अमेरिका इजरायल द्वन्द्वका कारण एक नेपालीले ज्यान गुमाएका छन् । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (यूएई)मा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले ज्यान गुमाएका हुन् ।
यूएईको अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको यूएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ ।
‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा जिल्ला) को दुःखद निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ’, दूतावासले भनेको छ ।
इरानमा अमेरिका र इजरायलले हमला गरेपछि इरानले आसपासका अन्य देशमा पनि ड्रोन तथा मिसाइलमार्फत हमला गरेको थियो । सोही हमलाका क्रममा शनिबार अबुधाबी विमानस्थलमा तीन जनाको मृत्यु भएको थियो । त्यो घटनामा एक नेपाली घाइते भएका थिए । उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सूचना दूतावासले दिए पनि परिचय खुलाइएको थिएन । सोमबार ती मृतक श्रेष्ठ रहेको पहिचान खुलाइएको हो ।
दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने दूतावासले जनाएको छ । यस्तै संवेदनशील परिस्थितिमा अबुधाबी तथा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाहरूको पूर्णपालना गर्न दूतावासले आग्रह गरेको छ ।
यूएइमा चार लाख ७८ हजार एक सय ४४ जना नेपाली रहेका छन् भने मध्यपूर्वमा मात्र १७ लाख २९ हजार दुई सय ८८ जना नेपाली रहेको परराष्ट मन्त्रालयले जानकारी दिएको छ ।