काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्कासनको लागि अनुमति पाएकोमा १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र एक करोड ५५ लाख रुपैयाँ बराबरको एक लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ । त्यसैगरी ७७ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३१ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार पाँच सय कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
साधारण सेयरमा २५ लाख ८० हजार चार सय ७० जना योग्य आवेदकले दुई करोड ७७ लाख तीन हजार आठ सय ८० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । बिक्री अवधिभर आईपीओमा मागभन्दा २१ दशमलव ५३ गुणा बढी आवेदन परेकोले गोलाप्रथाद्वारा आईपीओ बाँडफाँट गरिएको हो । ३९ हजार ८७१ जनाको आवेदन भने रद्द भएको छ । बाँडफाँटमा एक लाख २८ हजार छ सय ५० जनाले १०, १० कित्ताका दरले साधारण सेयर हात पार्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।