काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु¥याईसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ ।आज हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैंगिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दाे प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले आज पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्वअनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको स्मरण गराउँदै तयारी पूरा भएको जनाएको हो ।‘निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो’, कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने, ‘आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र होइन, लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो ।’ सो पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसअघि परेका उजुरीबाहेक हालसम्म अन्य उम्मेदवारहरूको अयोग्यताको विषयमा कुनै उजुरी नपरेको र छानबिनको क्रममा नरहेको स्पष्ट पारे ।
२४ घण्टाभित्र परिणाम दिने तयारी
आयोगले मत गणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मत गणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए । मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘मतपेटिका संकलन पहिलेदेखिकै व्यवस्थाअनुसार हुने हो । नेपाली सेनाले छुट्टै संकलन गर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन । यसका शंका गरिरहनु पर्दैन ।’
कतिपय जिल्लामा उम्मेदवारहरू समेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशंकामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शून्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे । यस निर्वाचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पधामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, तीन सय ८८ महिला र एक अन्य गरी तीन हजार चार सय छ उम्मेदवार मैदानमा छन् । त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार तीन सय ६३ पुरुष र एक हजार सात सय ७२ महिला गरी तीन हजार एक सय ३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ एक सय १० स्थानका लागि निर्वाचन हुने छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष, ९२ लाख ४० हजार एक सय ३१ महिला र दुई सय अन्य गरी एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाता कायम छन् । एक लाख ८६ हजार एक सय ४२ अस्थायी मतदाता रहेका छन् ।