अस्वाभाविक रूपले संसद् विघटन भएर आहृवान भएको निर्वाचन बिथोलिने आशंकाहरू प्रकट भइरहेका बेला आम नागरिकको व्यापक सहभागिताका साथ निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचन सारेर राष्ट्रिय सहमतिको प्रसंग चलाएका थिए । त्यसलाई राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले हार्दिक स्वागत गरेर अर्को शंका थपेको थियो । पूर्व राजाको चुनाव सार्न गरिएको यो प्रस्तावपछि नै सुरक्षा निकायले यो निर्वाचनका लागि १२ वटा समूह बढी चुनौतीका देखिको भनेर पहिचान गरेको थियो । त्यसमा राजावादीहरूको समूह पनि पर्थ्यो । चुनावकै बेलामा आफूलाई राजावादी भनेर चिनाउनेहरूले हप्ताभरीको नेपाल बन्दको आहृवान गरे । यस्तो आहृवानले निश्चय नै राजधानी बाहिर एउटा तनावको वातावरण भने बनाएको थियो । पूर्वराजा आफैं चुनाव भाँड्नमा सक्रिय भएका भनेर उनीमाथि गम्भीर आरोप पनि लाग्यो । चुनाव बिथोलिन्छ भन्ने उनको सन्देशले नै बुझाउँन खोजेपछि निर्वाचनका पक्षमा ठूला दल एकजुट भए । अन्ततः निर्वाचनका मुख्य एजेन्ट भनिने ठूला दलले चुनाव बहिष्कार नगरुञ्जेलसम्म चुनाव सार्न सकिने आधार देखिएन । यी सबै पक्षहरूले चुनावलाई घोषित समयमा नै सम्पन्न गराएको छ । जनताको मतबाट देशमा थप परिवर्तनको बाटो खुलेको छ । यो मौकाको सबैले उपयोग गर्नुपर्छ ।
तर यो बीचमा निर्वाचन बिथोल्ने केही पक्ष थप सक्रिय भएको देखियो । देशमा धेरै ठूलो संकट छ । त्यसकारण चुनाव नगरेर वार्ताबाट समाधान खोजौँ भन्दै पूर्वराजाले चुनाव निकट आइसकेपछि जसरी वक्तव्य दिए, त्यसले चुनावको परिणामलाई नै प्रभाव पार्ने हो कि भन्ने शंका गर्ने ठाउँ दिएको जस्तो देखिँदैछ । आफूलाई राजावादी भन्नेहरूले चुनावका मुखमा हप्तादिन लामो आम हडताल अर्थात् नेपाल बन्दको आहृवान गर्नु निश्चय नै सामान्य कुरा होइन । यही क्रममा केन्द्रिय राजधानीको सुकेधारा र नैकापमा सार्वजनिक गाडीमा आगजनी गरियो । प्रतिनिधिसभाको निर्वाचनका लागि मौन अवधि सुरु भएको राति नै यस्तो घटना हुनुले यो पक्षबाट जनताको मतको कदर भएको देखाउँदैन । मौन अवधि सुरु भएपछि कुनै यस्तो हिंसात्मक घटना हुनु निर्वाचनलाई बिथोल्ने प्रयास नै हो । यो बेलासम्म आइपुग्दा यो घटनाबाहेक अरु कुनै अप्रिय घटना भएका थिएनन् । त्यस दिन मध्यरातबाट मौन अवधि सरु भयो र बिहान व्यस्त ठाउँमा गाडीहरूमा आगजनी भयो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ताका अनुसार मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएका हुन् । यी आगजनी गरिएको गाडीमा हाल चुनाव बिथोल्ने काम गरेका भनी प्रहरी हिरासतमा रहेका र अदालतले पनि थुनामै राख्न अनुमति दिएका पात्र दुर्गा प्रसाइँको संलग्नता जनाउने पर्चा फेला परेको थियो । यसले चुनावलाई निर्भयताका साथ सम्पन्न गर्न बाधा पुर्याउन खोजेको बुझाउँछ । यो घटनाको पृष्ठभूमिमा को छन् भन्ने पूर्वराजाको फागुन सातमा आएको वक्तव्य आफैँ एउटा परिचय हुनुपर्छ ।
मौन समय सुरु हुनुअघि प्रधानमन्त्रीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भई निर्धक्क मतदान गर्न अपिल गरेकी थिइन् । सोमबार अपराहृन देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको भन्दै मतदान केवल चुनाव चिहृनमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णयसमेत भएको भनेर उल्लेख भएको अवस्थालाई यो आगजनीले बिथोल्न खोजेको देखाउँछ । यतिबेला यस्तो हिंसाको अभ्यासले पछि निर्वाचनको परिणामलाई नै बहाना बनाएर अमान्य घोषित गर्ने वातावरण बनाएकोे पनि हुन सक्दछ । यद्यपि त्यस्तो नहोस् भन्ने कामना हो, तर निर्वाचनका सबै तयारी पूरा भएको अवस्थामा निर्वाचन रोक्न भनेर जसरी अपिल आयो । यसले निर्वाचनप्रति कसैको नियत ठीक छैन भन्ने बुझाउँछ । निर्वाचनका सहभागी सबै पक्ष विशेष चनाखो रहून् ।