प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको प्रारम्भिक रुझानमा नेकपा एमालेका अधिकांश शीर्ष नेताहरू प्रतिस्पर्धी दलका उम्मेदवारसँग पछाडि परिरहेका छन्। अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू भारी मतान्तरका साथ पछि देखिएका छन्।
तर तेह्रथुममा एमाले सचिव भानुभक्त ढकाल ले भने अग्रता कायम राखेका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा भन्दा ६ सयभन्दा बढी मतले अगाडि छन्। त्यहाँ तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्की ले आफ्नो मत बढ्ने क्षेत्रको गणना बाँकी रहेको बताएका छन्।
रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल सँग भारी मतान्तरले पछाडि परेका छन्। यस्तै काठमाडौं–५ मा पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल भन्दा पनि पछि छन्।
काठमाडौं–४ मा एमाले सचिव डा. राजन भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाली कांग्रेसका सचिन तिमल्सेना पछि परेका छन्। भक्तपुर–2 मा सचिव महेश बस्नेत लाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री ले उल्लेख्य मतान्तरले पछाडि पारेका छन्।
गुल्मी–२ मा उपाध्यक्ष गोकर्ण विष्ट, कैलाली–४ मा उपमहासचिव लेखराज भट्ट र धनुषा–४ मा उपमहासचिव रघुवीर महासेठ को क्षेत्रमा मतगणना भर्खरै सुरु भएको छ। प्रारम्भिक परिणाममा उनीहरू तेस्रो स्थानमा देखिए पनि बाँकी बुथको गणनापछि परिणाम बदलिन सक्ने आशा गरिएको छ।
यसैबीच गुल्मी–१ मा एमाले नेता प्रदीप ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल सँग प्रतिस्पर्धा गर्दै दोस्रो स्थानमा छन् र मतान्तर बढ्दो छ।प्रारम्भिक गणनामा एमालेका अधिकांश शीर्ष नेताहरू आफ्नै ‘कोर एरिया’ मानिने बुथहरूबाट अपेक्षित मत नपाएपछि परिणामबारे पार्टीभित्र नै चिन्ता बढेको छ। केही नेताहरू भने बाँकी क्षेत्रको मतगणनाबाट स्थिति बदलिने आशामा रहेका छन्।