प्युठान — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्। उनले २७ हजार ४६९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे। नेकपा एमालेका उम्मेदवार सूर्य थापा १६ हजार ७१० मतसहित तेस्रो स्थानमा सीमित भएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थानमा रहे भने राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ हजार ६५४ मत ल्याएर पाँचौँ स्थान हासिल गरेका छन्।यसअघि सोही क्षेत्रबाट नेकपा एमालेका सूर्य थापाले पाँच हजारभन्दा बढी मतान्तरले विजयी हासिल गरेका थिए। एमालेविरुद्ध अन्य दलहरूको गठबन्धन हुँदासमेत फराकिलो मतान्तरमा जित हासिल गरेका थापा यसपटक भने तेस्रो स्थानमा सीमित भएका हुन्। यसैबीच, थापाले विजयी वैदिकलाई बधाई तथा शुभकामना दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले वैदिकलाई बधाई दिँदै जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार सफल कार्यसम्पादनको कामना गरेका हुन्।