हालै सम्पन्न भएको आम निर्वाचन २०८२ विशेष परिस्थितिअन्तर्गत खासगरी युवाहरूको चाहनाबमोजिम भएको थियो । युवाहरू राजनीति अर्थात् यस्ता चुनावका सन्दर्भमा उत्साहित देखिँदैनथे भन्ने आरोप लाग्दै आउने गरेको छ । तर छ महिनाअघिको जेन–जी प्रदर्शनपछि उत्पन्न यो परिस्थितिलाई जेन–जीकै उपज मानिनु स्वाभाविक हो । यतिबेला जेन–जी प्रदर्शन परिवर्तनको एउटा प्रतीक जस्तै मानिएका अवस्थामा यो चुनाव सम्पन्न भएको बुझ्न सकिन्छ । यो निर्वाचनबाट जस्तो परिणाम आउँदै छ त्यसमा पुराना भनिएकाहरूले केही मूल्य चुकाउनुपरेको छ भने आफूलाई नयाँ भन्नेहरूले बढी उपलब्धी पाएको देखियो । देशमा आमूल परिवर्तनका लागि जसका प्रस्ताव जस्ता थिए, चुजावमा लहर पनि उनकै पक्षमा आएका देखिन्छ । कम्तीमा यतिबेलासम्म प्राप्त भएका वा प्रकट भएका दृश्यहरूले त्यस्तै बताइरहेका छन् । जेन–जीकै प्रस्तावमा र उनकै अग्रसरतामा निर्वाचन सम्मपन्न भएको बेला यो पटक अभूतपूर्व रूपको मतदान होला भन्ने अपेक्षा थियो । तर खसेको मतको संख्याको हिसाबले त्यस्तो भएन । यो कसको कमजोरी होला भन्ने अहिले व्यापक जिज्ञासा बढेको देखिन्छ ।
उम्मेदवारीदेखिका सबै पक्षमा युवाहरूको बढी सक्रियता देखिएको अवस्थामा पनि मतदानका हिसाबले २०४८ साल यताकै न्यून मतदान भएको पाइयो । यो मतदानमा खसेको मतको संख्या अर्थात् प्रतिशत ५८.५८ रहेको देखिन्छ । निर्वाचन आयोगले नै ६० प्रतिशत हाराहारी मत खस्ने अनुमान गरेकोमा पछि त्यसबाट अझ खस्किएको अवस्था बन्यो । उल्लिखित प्रतिशत प्रजातान्त्रिक अभ्यासअन्तर्गत आवधिक निर्वाचन सुरु भएर त्यसअनुसरको पहिलो निर्वाचन २०४८ सालयताकै थोरै हो । निर्वाचनका दिन बेलुका अर्थात् निर्वाचन समपन्न भएपछि आयोगले पत्रकार सम्मेलन गरेर देशभर खसेको मतबारे प्रारम्भिक जानकारी दिएको थियो । त्यसमा करिब ६० प्रतिशत खसेको अनुमान थियो तर यो अंक पनि कायम रहेन । यो निर्वाचनमा मत दिन योग्यहरूको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ थियो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले युवाहरू नयाँ जोस र उत्साहका साथ प्रवेश गर्नुभएको र निर्वाचन शिक्षालगायत निर्वाचन अगाडि गर्नुपर्ने काम सम्पन्न भइसकेका कारण निर्वाचनप्रति सबैको उत्साह देख्दा बढी मत खस्छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ७८.३४ प्रतिशत मत खसेको थियो । माथि उल्लेख भए जस्तो संसद् पुनःस्थापना भएर गरिएको पहिलो आम निर्वाचन २०४८ मा ६५.१५ प्रतिशत र २०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत मत खसेको देखिन्छ । २०५१ को मध्यावधि निर्वाचन भन्दा पनि यो पटक कम मत खसेको अवस्था निश्चय नै सामान्य नहुनुपर्ने हो ।
२०५६ को आम निर्वाचन संसद्को त्यो कार्यकालको तेस्रो आम निर्वाचन हो । यो निर्वाचन माओवादीको सशस्त्र द्वन्द्वका क्रममा सम्पम्न भएको थियो, जो मतदाताले डरलाग्दो अवस्थाको महसुस गरेका थिए । तर पनि त्यसबेला ६५.७० प्रतिशत मत खसेको विवरणहरूले बताउँछन् । २०६४ पहिलो संविधानसभा निर्वाचनको वर्ष हो । त्यसमा पनि ६१.७ प्रतिशत मत खसेको थियो । यो भन्दाअघि २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको थियो । यो चुनावमा व्यापक परिवर्तन गर्ने भनेर नयाँ दल रास्वपाको उदय भएको थियो । त्यसले संसद्को चोथो हैसियत पनि पायो । यो दल दुई पटक सत्तामा गयो । अहिले उसकै मागबमोजिम मध्यावधि भएको बुझाइ छ । नभन्दै यो दलले परिणाममा ठूलो लहर नै ल्यायो तर मतदानको प्रतिशत भने २०४८ यताका सातवटा आमनिर्वाचन भन्दा कम रहृयो । किन यस्तो भयो भन्ने सबै पक्ष गम्भीर भएनन् भने निर्वाचनबाट आम नागरिक विमुख हुँदै जाने अवस्था आउन सक्दछ । एउटा सत्यचाहिँ के हो भने, मत प्रयोग गर्न योग्य ठूलो संख्या देश बाहिरै छ । त्यसले पनि मतलाई प्रभाव पारेको एउटा सत्य नै हो । तर पनि कम मतको कारण खोज्न आवश्यक देखिन्छ ।