आम निर्वाचन २०८२ ले एउटै दलबाट बलियो सरकारको आकार दिएको वा पाएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला दुईतिहाइ नजिकको सरकार निर्माणको क्रममा लागेको छ । केही औपचारिक प्रक्रिया बाहेक अवका प्रधानमन्त्री बालेन साह नै हुन् भन्नेमा कतै शंका रहेन । उनले बनाउने सरकारको आकार २५ सदस्यीय हुने छ । विद्यमान संविधानले नै प्रधानमन्त्रीसहितको मन्त्रिपरिषद्को आकार २५ सदस्यीय हुने छ भनेको छ । उक्त संख्या घट्न सक्दछ, तर यो संविधानअनुसार योभन्दा बढाउँन भने पाइँदैन । अब हुने मन्त्रीमा अधिकांश नयाँ अनुहार आउने अनुमान गर्न थालिएको छ । तर यो निर्वाचनले यस अघिको सरकार अर्थात् चुनावका लागि नागरिक सरकार भनिएकै अवस्थामा त्यस्तो सरकार छाडेर चुनाव लड्न गएका व्यक्तिहरू पनि छन् । जो चुनाव जितेर संसद्मा आइसेका छन् । यस्ता पुराना मन्त्रीहरूको संख्या तीन जनाको छ । बाँकी सबै अनुहारहरू सर्वथा नयाँ हुनेछन् । पहिलेका अर्थात् पुराना दलका सरकारले एउटै व्यक्तिलाई पटक–पटक मन्त्री बनाइएको विषय सर्वाधिक आलोचित भइरहेको थियो । ती मन्त्री आफैं पनि विज्ञताभन्दा अरू कतिपय कारणले आलोचित पनि हुँदै आएका थिए । जसले जेनजी आन्दोलन निम्त्याउने काम गरेको भन्ने चर्चा नै छ ।
यसैकारण पनि अबका मन्त्री सबै नयाँ हुनेछन्भन्ने आम तहमा नै अपेक्षा गरिएको हुनुपर्छ । तर यी नयाँ मन्त्रीहरू तत्कालै आवास भने पाउने छैनन् । कारण हो, जेनजीका नाममा सार्वजनिक भवनहरूमा लगाइएको आगो, जस कारण मन्त्री क्वार्टर नै ध्वस्त अवस्थामा छ । यसै कारण यसअघिका एक मन्त्रीले आफ्नो भागमा परेको मन्त्रालयको कार्यालयमा नै आफ्नो निवास बनाएका थिए । यतिबेलाको संयोग कस्तो परेको छ भने, जसले यस्ता भवनहरूमा आगो लगाए उनैले सरकार चलाउनुपर्ने अवस्था आयो तर उनले न कार्यालय पाउने भएका छन्, न निवास । भदौ २४ मा संसद्भवन सिंहदरवार र सर्वोच्च अदालतसहितका भवनहरूमा आगो लगाइएको घटनाको जिम्मेवारी स्वयम् अहिले बन्नलागको दलका नेताहरूले लिइसकेका छन् । रास्वपा र बालेन्द्र साहबीच भएको लिखित सम्झौताको पहिलो बुँदामै यो अर्थात् जेनजी आन्दोलनको स्वामित्व लिने भनिएको छ । यसको अर्थ हो आन्दोलनका क्रममा जे–जति रूपमा सार्वजनिक भवन भस्म भए त्यसको नेतृत्व पनि आफैँले गरेको भन्ने बुझ्नुपर्ने हुन्छ । रास्वपाका सभापतिलाई जेल तोडेको र अहिले प्रधानमन्त्रीका रूपमा चर्चित बालेद्र साहलाई सरकारी भवनमा आगो लाग्दा आगोे निभाउँने प्रयास नगरेको मात्र होइन निभाउँने काममा अवरोधसमेत गरेको भन्ने आरोप लागेको थियो । त्यसलाई स्वामित्व लिएर औपचारिक रूप दिइएपछि त्यो आरोपले औपचारिक मान्यता पाएको भनेर बुझ्नुपर्ने हुन्छ ।
नयाँ सांसद आए तर ससद्को बैठक बस्ने ठाउँ छैन । सरकार बनेर मन्त्री आउँछन् तिनका पनि सरकारी आवास हुने छैनन् । त्यसकारण पनि अहिले कहाँ बस्लान् नयाँ मन्त्री भनेर जिज्ञासा बढ्न थालेको हो । भैंसीपाटी सैंबुको नवनर्मित मन्त्री निवासमा यो आन्दोलनको करिब छ महिना पहिलेदेखि मन्त्री बस्न थालेका थिए । यो आन्दोलनमा ती यसरी जलाइए, जहाँ यो आन्दोलनले बनाएको नयाँ सरकारका नवनियुक्त मन्त्रीलाई पनि त्यहाँ राख्न सकिने अवस्था छैन । नवनियुक्त मन्त्रीलाई भाडामा राख्नुपर्दाको व्ययभार आफैं धेरै ठूलो हुन्छ । यो मन्त्री निवास झण्डै दशकदेखि प्रस्ताव भएर आधावर्ष अघिमात्रै प्रयोग गर्न थालिएको थियो । तर जेन–जी आन्दोलनले लगाएको आगोले यसलाई यस्तो क्षति पुर्यायो कि टालटुल गरेर मात्रै बस्ने बनाउँन मिल्दैन । यसका २७ ब्लकमध्ये २६ ब्लक त्यसदिनको आगोले ध्वस्त भएका छन् । ध्वस्त भएका यी २६ ब्लकमध्ये ११ ब्लकका मात्रै ठेक्काको काम सम्पन्न भई पुनर्निर्माणको काम थालनी हुने क्रममा छ । अरुको त ठेक्कासमेत भएको छैन । यसले नयाँ सरकारका मन्त्रीहरू लामै सयमसम्म भाडामा नै बस्नुपर्ने अवस्था देखिँदै छ । सायद यो आगोसँग खेल्दाको परिणती होला ।