काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यही फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन तथा बिक्री खुला गरेको साधारण सेयरमा आवेदन दिने समय थप भएको हो ।
सो अनुसार साधारण सेयर खरिदको लागि अब चैत १२ गतेसम्म आवेदन दिन सकिने छ । यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै कुनै पनि निष्कासन बन्द गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँबराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये पाँच करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका पाँच लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । सो सेयर खरिदका लागि दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं. ८ तथा कालिञ्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने, अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । साधारण सेयर निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिञ्चोक हाइड्रोपावर, बिगु गाउँपालिका ८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्ने कम्पनीले जानकारी दिएको छ ।