काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल इन्टरनेशनल लिमिटेडसँग सम्बन्धित वैदेशिक मुद्रा कारोबारमा गम्भीर अनियमितता भएको छ । उपलब्ध कागजातहरूमा कम्पनीकै खाताबाट भारतमा ठूलो रकम पठाइएको विवरण देखिएपछि उक्त कारोबार कानुनी प्रक्रियाअनुसार भएको हो वा होइन भन्ने विषयमा छानबिनको माग उठेको हो ।
योसँगै यस प्रकरणमा संलग्न बैंक, कम्पनी तथा सम्बन्धित सञ्चालकहरूविरुद्ध कानुनी कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । आर्थिक दैनिकलाई उपलब्ध कागजात अनुसार सन् १९९३ जुन ३ मा होटलसँग सम्बन्धित पदाधिकारीहरूले तत्कालीन नेपाल इन्डोसुएज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) मार्फत भारतस्थित व्यक्तिका नाममा भारतीय रुपैयाँ ५१ लाख ९२ हजार ३१९.७० बराबरको बैंक ड्राफ्ट जारी गर्न अनुरोध गरेका थिए ।
उक्त रकमको नेपाली विनिमय करिब ८३ लाख १५ हजार रुपैयाँबराबर हुने देखिन्छ । कागजातमा उक्त रकम होटल कम्पनीको सेयर खरिद–बिक्रीसँग सम्बन्धित भुक्तानीका रूपमा पठाइएको उल्लेख भए पनि कम्पनीकै खाताबाट विदेशी व्यक्तिलाई रकम पठाइनु वैदेशिक मुद्रा सम्बन्धी कानुनी व्यवस्थासँग मेल खान्छ वा खान्न भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ ।
नियामक अभिलेखमा देखिएको तथ्यअनुसार नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागले कम्पनी रजिस्ट्रार कार्यालयलाई पठाएको पत्रमा होटल एभरेस्ट इन्टरनेशनल लिमिटेडसँग सम्बन्धित विदेशी लगानी, सेयर स्वामित्व तथा रकम फिर्तासम्बन्धी विवरणका विषयमा जानकारी मागिएको उल्लेख छ ।
तर उपलब्ध अभिलेखअनुसार राष्ट्र बैंकले कम्पनीसँग प्रत्यक्ष रूपमा कुनै औपचारिक विवरण मागेको वा छानबिन गरेको प्रमाण देखिएको छैन । यसैबीच उद्योग विभागले पनि सम्बन्धित सेयर स्थानान्तरण तथा वैदेशिक लगानीसँग सम्बन्धित कागजात विभागको अभिलेखमा उपलब्ध नभएको जानकारी दिएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार नेपालभित्र रहेको कुनै संस्था वा व्यक्तिले विदेशमा बस्ने व्यक्तिलाई रकम भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक हुने व्यवस्था छ । उक्त प्रावधान उल्लंघन भएको पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई रकम बराबर वा सोभन्दा बढी जरिवाना तथा अन्य कानुनी कारबाही हुन सक्ने व्यवस्था छ ।
सरोकारवालाहरूका अनुसार यदि कागजातहरूमा देखिएको रकम पठाउने प्रक्रिया कानुनी स्वीकृतिविना गरिएको पुष्टि भएमा सम्बन्धित बैंक, कम्पनी व्यवस्थापन तथा सञ्चालकहरूविरुद्ध आर्थिक अपराधसम्बन्धी कानुनअन्तर्गत कारबाही हुनसक्ने सम्भावना छ । अभिलेखअनुसार एभरेस्ट होटल इन्टरनेशनल लिमिटेडको स्थापना विसं २०३० तिर भएको थियो । त्यसपछि कम्पनीको विदेशी लगानी, सेयर स्वामित्व तथा रकम फिर्तासम्बन्धी विषय विभिन्न समयमा नियामक निकायहरूको चासोको विषय बन्दै आएको देखिन्छ ।
उपलब्ध कागजातहरूमा सन् १९९३ जुन ३ मा कम्पनीसँग सम्बन्धित पदाधिकारीहरूले भारतमा रकम पठाउन बैंक ड्राफ्ट जारी गर्न बैंकलाई पत्र लेखेको देखिन्छ । त्यसपछिका वर्षहरूमा विदेशी लगानी, सेयर स्वामित्व तथा रकम फिर्तासम्बन्धी विषयमा विभिन्न नियामक अभिलेखहरू तयार भएका छन् ।
कम्पनीकै खाताबाट कम्पनीका अध्यक्षलाई रकम भुक्तानी गरिएको अवस्थामा त्यसलाई प्रबन्ध निर्देशक र अध्यक्षबीच भएको सेयर खरिद–बिक्रीको भुक्तानी भन्नु कानुनी तथा वित्तीय दृष्टिले अत्यन्तै अस्वाभाविक देखिन्छ । कम्पनीको रकम प्रयोग गरेर व्यक्तिगत सेयर कारोबारको भुक्तानी गर्नु कम्पनी शासन र वैदेशिक मुद्रासम्बन्धी कानुनी व्यवस्थाको दृष्टिले गम्भीर प्रश्न उठाउने विषय हो । विदेशी लगानीबाट प्रवद्र्धित कम्पनी भएको अवस्थामा त्यस्ता कम्पनीले वितरण गर्ने प्रत्येक लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेश पठाउन पाइँदैन भन्ने स्पष्ट कानुनी व्यवस्था छ । तर हालसम्म उपलब्ध अभिलेखहरूमा कम्पनीले लाभांश फिर्ता पठाउन नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिएको देखिँदैन ।
यदि प्रमोटरहरूले स्वीकृति नलिई नगद रकम निकाली अनौपचारिक माध्यम (हुण्डी) मार्फत विदेश पठाएको पुष्टि भएमा यो वैदेशिक मुद्रासम्बन्धी कानुनको गम्भीर उल्लङ्घन हुन सक्छ । यस्तो अवस्था पुष्टि भएमा कम्पनी र सम्बन्धित व्यक्तिहरूलाई भविष्यमा गम्भीर कानुनी तथा वित्तीय समस्या उत्पन्न हुन सक्ने सरोकारवालाहरूको भनाइ छ ।