दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–३ निमकोट र लप्से बेँसीको लागि सिँचाइको व्यवस्था गरिएको छ । यहाँका किसानका लागि महत्वपूर्ण सिँचाइ योजना निर्मााण थालिएको हो ।
भस्मेखोलादेखि अर्चले निमकोट–लप्से बेसीँका स्थानीयले खेतीपातीको समय भोग्दै आएको सिँचाइ अभाव अब झेल्न नपर्ने भएको छ । यहाँका किसानको सहजताको लागि अहिले एडिवीको अनुदान सहयोग तथा नेपाल सरकारको समन्वयमा धमाधम भस्मेखोलादेखि निमकोट लप्सेको ६० हेक्टर क्षेत्रको लागि दुई हजार दुई सय मिटर लामो सिँचाइ कुलो निर्माण भइरहेको छ । यसअघि यस क्षेत्रका किसानले आकासे वर्षा र अस्थायी कुलोबाट पानी ल्याएर खेती गर्नुपर्ने बाध्यता थियो । एडीबीको दुई करोड ३२ लाख अनुदान सहयोगमा अहिले धमाधम पक्की आरसीसी ढलान कुलो निर्माण जारी रहेको छ । जेठ अघि नै सिँचाइको लागि पक्की कुलो बनिसक्ने हुँदा खेतीपातीको लागि यहाँका किसानहरूले सिँचाइ उपभोग गर्न पाउने भएका हुन् । अब सिँचाइ अभावको समस्या दीर्घकालीन रूपमा समाधान हुने वैतेश्वर–३ का स्थानीय मनिक तामाङले बताए ।
कुलो निर्माण उपभोक्त समितिका अध्यक्षसमेत रहेका तामाङले पक्की कुलो निर्माणको काम ७० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । कुलो निर्माण एडीबीको अनुदान सहयोगमा ठेक्का र उपभोक्त समितिमार्फत निर्माण भइरहेको छ । यसअघि हातले खनेर अस्थायी रूपमा बनाएको कुलो बाढी आउदा बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्था रहेको थियो । स्थानीय शान्ति बस्नेतले भनिन्, ‘अब पक्की कुलो निर्माण भएसँगै यहाका खेती गर्ने किसानलाई धेरै सहज हुने छ ।’
उनका अनुसार कुलो निर्माण भएसँगै अब खाद्यान्न बाली, धान, गहुँ, मकै, आलु, तरकारीलगायतका नगदेबाली उत्पादनमा धेरै सहज हुने भएको छ । उक्त कुलो निर्माण सम्पन्न हुँदा वैतेश्वर गाउँपालिका २, ३,४ र ५ का एकसय ९५ घरधुरीले सहजरूपमा सिँचाइको उपभोग गर्न सक्नेछन् ।