काठमाडौं । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपतर्फको चैत महिनाको लागि ब्याजदर सार्र्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चैत महिनाको लागि औसतमा चार दशमलव ४९ प्रतिशत ब्याजदर तोकेका हुन् ।
यो ब्याजदर फागुन महिनाको लागि तोकिएको ब्याजदरभन्दा थोरै कम हो । फागुन महिनामा वाणिज्य बैंकहरूको औसत ब्याजदर चार दशमलव ५६ प्रतिशत रहेको थियो । बैंकहरूले चैत महिनाको लागि तोकेको ब्याजदरमा स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक र ग्लोबल आईएमई बैंकले फागुन महिनाको तुलनामा चैत महिनाको ब्याजदर घटाएका छन् । यीबाहेकका १४ वटा बैंकहरूले भने फागुन महिनामा कायम रहेको ब्याजलाई चैत महिनाको लागि पनि निरन्तरता दिएका छन् ।
यसअनुसार स्टान्डर्ड चार्टर्ड, कुमारी, कृषि विकास र प्राइम कमर्सियल बैंकले चैत महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ क्रमशः चार दशमलव ११, चार दशमलव १२, चार दशमलव १५ र चार दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनाको लागि भने यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः चार दशमलव २५, चार दशमलव ४३, चार दशमलव २५ र चार दशमलव २५ रहेको थियो । नेपाल एसबीआई, एभरेष्ट, सिद्धार्थ र नेपाल बैंकले पनि चैत महिनाको लागि क्रमशः चार दशमलव २५, चार दशमलव २५, चार दशमलव २५ र चार दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनाको लागि यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः चार दशमलव २५, चार दशमलव २५, चार दशमलव २५ र पाँच दशमलव एक प्रतिशत रहेको थियो ।
चैत महिनाको लागि ग्लोबल आईएमई बैंकले भने चार दशमलव पाँच प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाको यो बैंकको यस्तो ब्याजदर चार दशमलव ७५ प्रतिशत रहेको थियो । माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, सनराइज, सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने फागुन महिनामा कायम रहेको चार दशमलव पाँच प्रतिशत ब्याजदरलाई चैत महिनाको लागि पनि निरन्तरता दिएका छन् । प्रभु र नबिल बैंकले पनि चैत महिनाको लागि फागुन महिनामा कायम रहेको चार दशमलव ५५ प्र्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन् । यसैगरी हिमालयन, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एनमबी बैंकले पनि चैत महिनाको लागि फागुन महिनामा कायम रहेको पाँच प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।