काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आगामी आइतबार र सोमबार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ ।
नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुन गइरहेको सम्मेलनमा नियामक निकाय, नीति निर्माता, सरकारी निकायका प्रतिनिधीहरू, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य गरी पाँच सयजना भन्दा बढीको सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ’ भन्ने नारासहित २ दिनसम्म चल्ने सम्मेलनअन्र्तगत सातवटा शत्रमा लघुवित्तका विविध आयामहरूमा सामुहिक छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । जसअन्र्तगत ‘लघुवित्त सदस्यहरूको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौति र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौति र सावधानीका उपाय’, ‘युवास्वरोजगार, तीन शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा छलफल हुनेछ ।
विश्वका एक सय ७७ वटा देशहरूमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा सदस्यहरूको सम्मेलन नेपाल एकमात्र देश रहेको पत्रकार सम्मेलनमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए । लघुवित्तका नीति निर्माता तथा नियामकहरूको सहभागितामा विश्व सम्मेलन, क्षेत्रीय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ । उनले भने, ‘सदस्यहरूलाई सहभागिता गराई उनीहरूको सम्मेलन गर्ने नेपाल एकमात्र देश हो ।’ सदस्यहरू नै लघुवित्तको अभिन्न अंग भएको र उनीहरूलाई केन्द्रविन्दुमा राखी सम्मेलन हुँदै आएको उनको भनाइ छ ।
स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलनको आयोजना गर्दै आएको छ । ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारासहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ नाराका साथ दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र ‘घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ भन्ने नाराका साथ तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७८ सालमा र ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित चौथो सम्मेलन २०८० सालमा सम्पन्न भएको थियो ।
गरिबी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक विकास, साक्षरता वृद्धि, दिगो विकास जस्ता आर्थिक तथा सामाजिक क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरूले भूमिका खेल्दै आएका छन् । लघुवित्तले चुलोचौकोमा सीमित महिलाहरूलाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको बच्चाहरूलाई विद्यालय पठाउन उत्प्रेरित गरेको र विदेशबाट फर्केका युवा लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेका जस्ता सफल उदाहरणहरू रहेको श्रेष्ठले बताए । तर, सरकारले लघुवित्त संस्थाहरूलाई कम्पनी मोडलमा रुपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाड्ने होडबाजी चलेको, यसका लागि आवश्यक्ता भन्दा बढी ऋण दिँदा विकृति बढाएको समेत उनले बताए । अस्वस्थ प्रतिस्पर्धाले समस्या देखिएका भन्दै त्यसलाई सुधार गरेर लघुवित्त कार्यक्रमलाई सदस्यमुखी बनाउनुपर्ने र यसैबाट नेपालको ग्रामीण अर्थतन्त्रले काचुली फेर्ने उनले दाबी गरे ।
विकासको मुख्य शक्ति युवा वर्गमा सिर्जनात्मकता, ऊर्जा, शिक्षा र सीपको ठूलो सम्भावना भएपनि पर्याप्त स्वरोजगार अवसर नहुँदा धेरै युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । अब लघुवित्त संस्थाहरूले युवाहरूलाई स्वरोजगार बनाउन काम गर्नुपर्ने त्यो लघुवित्त कार्यक्रमका लागि नयाँ आयाम हुने अध्यक्ष श्रेष्ठले बताए । अब लघुवित्तहरूले युवाहरूलाई लक्षित गरेर आफ्नो कार्यक्रम अघि बढाउन केन्द्रीत हुनुपर्छ । उनले भने, ‘त्यसैका लागि हामीले यस वर्षको सम्मेलनको नारा पनि युवा उद्यमशिलतामै केन्द्रीत गरेका छौं ।’