आजको आधुनिक समाजमा ‘विकास’ भन्ने शब्दको अर्थ बुझाइ फरक–फरक हुन थालेको छ । धेरैजसो मानिसहरू विकास भन्नासाथ ठूला–ठूला भवनहरू निर्माण हुनु, फराकिला सडकहरू बन्नु, आधुनिक विद्यालय तथा कलेजहरूको स्थापना हुनु, पर्याप्त रोजगारीको व्यवस्था हुनु, र स्वास्थ्य सेवामा सबैको पहुँच पुग्नु भन्ने बुझ्दछन्। निस्सन्देह सत्य हो यी यावत् तत्वहरू विकासका खम्बा हुन्, भौतिक विकास विना अन्य विकास प्रायः सम्भव नै छैन। त्यसैले यी सबै भौतिक पक्षहरू विकासका महत्वपूर्ण सूचकहरू हुन्। तर आजको समाजमा भौतिक विकासमात्र विकास नभई, यी तत्वलाई मात्र विकास मान्नु अधुरो बुझाइ मान्न सकिन्छ ।
वास्तवमा, विकास भनेको केवल भौतिक संरचना र आर्थिक समृद्धिमा सीमित हुँदैन, यो त समग्र समाजको गुणस्तरीय रूपान्तरण हो । सबैभन्दा पहिले, विकास भनेको समाजलाई एकढिक्का बनाउनु हो । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यहाँ ‘जात/जाति’ र ‘भाषा’ को संख्या फरक–फरक आधारमा गणना गरिएको पाइन्छ। केन्द्रीय तथ्यांक विभागको अनुसार नेपालमा १२५ जात–जाती छन् भने १२३ भाषा छन्। येत्रो जात–जाती र यति धारा भाषा भएको देशमा सहकार्य र समाजका विभिन्न वर्ग, जाति, धर्म र क्षेत्रका मानिसहरूबीच एकताको साथसाथै पारस्परिक सम्मान दिन सक्नु नै वास्तविक विकास हो भन्न सकिन्छ। हरेक जात–जातीले चाली आएको परम्परा, रीतिथिति र मौलिकता हराउन नदिई, उनीहरूको संरक्षण गर्नु नै विकासको ढोका खोल्नु हो। आज देशमा बाहिरी सिको गरिनु पर्ने परम्परा विकास भएको छ र पहिचान हराउने खतरा बढेको छ ।
खाना मा आफ्नै परिकार, पोसाक मा आफ्नै मौलिकता झल्काउने पोसाकलाई संरक्षण दिनु त्यसैगरी, हाम्रो परम्परागत धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्नु पनि विकासकै एक महत्वपूर्ण पाटो हो। विकासको नाममा आफ्ना जरा बिर्सनु भनेको विनाश हुनु जत्तिकै हो, तिनलाई जोगाउँदै अगाडि बढ्नु साँचो प्रगति हो। नेपाल प्राकृतिक धनी भएको जस्तो, जात अनुसारको भाषा र भेष भएको धनी राष्ट्र हो । आफ्नो भाषा आफ्नो पहिचान हो, भाषा को जागरण गर्नु भनेको त्यो समुदायको जागरण गर्नु र कुनै पनि जात–जातीको पहिचानलाई उच्च राख्नु हो । त्यसको साथै आफ्नै जातको सीप र कला संरक्षण गर्नु पनि उत्तिकै आवश्यक छ। कुनै पनि राष्ट्रको पहिचान त्यसको भाषा र संस्कृतिमा लुकेको हुन्छ। त्यसैले आफ्ना मौलिक सीप र कलालाई जोगाउनु तथा प्रवद्र्धन गर्नु विकासको आधार हो ।
विकासको अर्को महत्वपूर्ण पक्ष भनेको मानिसको मानसिकता सकारात्मकतामा परिवर्तन गर्नु हो। सकारात्मक सोच भएको मानिसले जिम्मेवार व्यवहार गर्छ, त्यसको साथै इमानदारी, अनुशासन र सहकार्यको भावना विकास गर्न प्रयास गर्छ । सकारात्मक मानसिकता ल्याउन सकेमात्र पनि समाजमा दिगो परिवर्तन आउन सक्छ। शिक्षा, सचेतना र व्यवहारिक अभ्यासमार्फत मानिसको सोच परिवर्तन गर्न सकिन्छ, अन्यथा एकले अर्कोलाई बिगार्ने र समाजलाई धमिराले सिध्याउने काम हुन्छ। अन्ततः, सभ्य र जिम्मेवार नागरिक बन्नु नै विकासको मुख्य आधार हो। जब प्रत्येक व्यक्ति आफ्नो कर्तव्यप्रति सचेत हुन्छ, कानुनको पालना गर्छ, र समाजप्रति उत्तरदायी बन्छ, तब राष्ट्र आफैं विकसित बन्छ। मानिसमा आध्यात्मिकता को विकास पनि उत्तिकै जरुरी छ। आज विकासको नाममा प्रकृति नष्ट हुने काम भइरहेको छ, वातावरणको कम क्षति हुने गरी भौतिक निर्माण गर्नु पर्छ। त्यस्तै, वातावरणलाई प्राकृतिक र सन्तुलित राख्नु पनि विकासकै हिस्सा हो। यदि विकासको नाममा प्रकृति नष्ट गरियो भने त्यो विकास होइन, विनाश हो। त्यसैले दिगो विकासका लागि वातावरण संरक्षण अपरिहार्य छ ।
गुणस्तरीय शिक्षा विस्तार गर्नुः नेपालमा धेरै सरकारी विद्यालयको साथै त्रिभुवन विश्वविद्यालयको शाख केही हदसम्म गिरेको छ। यत्रो इतिहास बोकेको विश्वविद्यालय सबै भौतिक पूर्वाधार भएको, हजारौं (लगभग ५२१८) रोपनी जग्गा आफ्नै स्वामित्वमा रहेको भए पनि दक्ष जनशक्ति हुनुको साथै विश्वविद्यालयका मुख्य प्रशासनिक भवन, शिक्षण क्याम्पसहरू र प्रयोगशालाहरूसमेत भएको, कृषि अनुसन्धान, वन व्यवस्थापन र पर्यावरणसम्बन्धी प्रयोगका लागि विश्वविद्यालयको जग्गा हुँदासमेत आज चरम राजनीति हुने र शिक्षा मा विकास नहुने भनेको लज्जास्पद विषय हो ।
त्यस्तै, सरकारी विद्यालय २७००० भन्दा माथि र निजी ८००० भन्दा माथि भए पनि सबैको शिक्षा मा पहुँच नपुग्नु गम्भीर विषय हो। गरीब, जेहन्दार, पिछडिएका हरु, र अल्पसंख्यक, जनजातिलगायत सम्पूर्ण बालबालिकालाई शिक्षा को ज्योति दिई अन्धकारबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता र विकासको ढोका खोल्नु हो। किनकि सबै नागरिकले समान रूपमा गुणस्तरीय शिक्षा पाउनु विकासको मुख्य आधार हो। शिक्षाले मात्र मानिसको सोच, सीप र जीवनस्तर परिवर्तन गर्न सक्छ ।
आर्थिक समानता कायम गर्नु : संसारमा समानता त सम्भव नै छैन, तर अन्य भौतिक कुरा हरुमा समानता नहुँदा पनि धनी र गरिबबीचको ठूलो अन्तर घटाउनु पनि विकास हो। जब सबैले अवसर पाउँछन्, तबमात्र सन्तुलित समाज निर्माण हुन्छ ।
सुशासन र पारदर्शिता सुनिश्चित गर्नु : भ्रष्टाचाररहित, जिम्मेवार र पारदर्शी शासन व्यवस्था विकासको मेरुदण्ड हो। राम्रो शासन विना कुनै पनि देश दिगो रूपमा अगाडि बढ्न सक्दैन ।
अर्को पक्ष भनेको आजको युगमा आधुनिक प्रविधिको प्रयोग गरेर शिक्षा, स्वास्थ्य, कृषि र व्यवसायलाई अझ प्रभावकारी बनाउनु हो। त्यसको साथै लैङ्गिक समानता कायम गरी महिला, पुरुष तथा अन्य सबै लिङ्गका व्यक्तिहरूलाई समान अवसर दिनु पनि विकासको महत्वपूर्ण सूचक हो ।
स्वास्थ्य प्रणाली सुदृढ बनाउनु : नेपालमा पुरानो अस्पताल, वीर अस्पतालको हालत आज पनि नाजुक छ। त्यसैगरी अन्य सरकारी अस्पतालको हालत पनि नाजुक देखिन्छ। आजको विश्वमा स्वास्थ्यमा भएको प्रगतिअनुसार नेपालमा पनि सरकारी स्तरमा २०० भन्दा बढी अस्पताललाई स्वास्थ्य सेवा प्रभावकारी बनाउनु र सबैलाई सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनु आवश्यक छ । अहिले पनि उचित व्यवस्थापनको कमी, जताबाटि फोहोर र शौचालयदेखि बेडमा पनि उचित सरसफाई समेत नहुनु लज्जास्पद विषय हो ।
लघु उद्योग, माझौला तथा ठूला उद्योगको संचालन गरी पर्याप्त बिजुली उत्पादन गरी देशमै रोजगारीको अवसर बढाउनु, युवालाई विदेश पलायन हुनबाट रोक्नु पनि विकासकै हिस्सा हो। त्यसैगरी, सार्वजनिक यातायातको विकास, स्वच्छ खानेपानी, अन्तर्राष्ट्रिय विमानस्थल, बनाइ सबैतिर पार्किङ, सही ट्राफिक व्यवस्थापन गरी नागरिकलाई सहज जीवनयापन गराउनु पनि आजको विकासको आवश्यकता हो ।
कृषि र उत्पादन वृद्धि गर्नु, बिसादी रहित खाने कुरा आफ्नो देशमा उत्पादन बढाउनु, आत्मनिर्भर बन्नु र आयातमा निर्भरता घटाउनु, कृषि उद्योग, जडिबुटीको उत्पादन बढाउनु, मौलिक कपडा उत्पादन र भूमि जोगाउनु अनि माटो जोगाउनु पनि विकास हो ।
न्याय दिनु राज्यको कर्तव्य हो। एक जना दोषी पनि छुट्नु हुँदैन र एक जना निर्दोषले सजाय पाउनु हुँदैन। न्यायालयलाई बलियो बनाई जनताको हक र अधिकार सुनिश्चित गरी सबै नागरिकले न्याय पाउने वातावरण सिर्जना गर्नु, हरेक जात, वर्ग, धर्मका आधारमा भेदभाव हुन नदिनु पनि विकासको कडी हो ।
पूर्वाधारको दिगो विकास गर्नुपर्छ। सडक विना विकास सम्भव छैन। चौडा सडक, पुल, विद्युत्, स्वच्छ खानेपानी जस्ता पूर्वाधार बनाउँदा दीर्घकालीन सोच राख्नु आवश्यक छ। ठाउँ र स्तर हेरी, बाटो नभएको ठाउँलाई बढी प्राथमिकता दिनुपर्छ। भएको ताल–तालैया, निकुञ्ज सबैलाई संरक्षण गर्नुपर्छ। त्यसैगरी समाजमा शान्ति, सहिष्णुता र सद्भाव कायम हुने गरी विकास गर्नुपर्छ ।
नेपालको भौगोलिक पहिचान, नदी–नाला, हिमाल, पहाड र तराई साथै बन–जंगल जोगाउनु पनि विकास हो। मठ, मन्दिर र भएको सम्पदा संरक्षण गर्नु । प्रमुख मठ, मन्दिरको संरक्षण गर्दै विश्व सम्पदा सूचीमा रहेका हाम्रो धरोहरहरूलाई जोगाउनु आजको चुनौती र राष्ट्रको विकाससँग जोडिएको मामला हो ।
आफ्नो खाना र पहिचानलाई मर्न नदिनु : यहाँ जात अनुसारको खाना परिकार पाइन्छ, आफ्नो ठाउँ अनुसारको खाना खान पाउँछ। यस्तो पहिचानयुक्त खानालाई जोगाउनु हाम्रो विकास हो ।
चाड–पर्वलाई भव्य र सभ्य रूपमा मनाउनु र मनाउन प्रेरित गर्नुः नेपालको कला, संस्कृति, जात्रा पर्वसँगै चाडपर्व जोगाउनु पनि यहाँको विकास मानिन्छ। हामी शक्तिको देवतादेखि, धन, दौलतको देवताको साथै सबै प्राणी र वनस्पतिलाई देवता मनाउने देश, हरेक चाडपर्वको पनि उत्तिकै महत्व छ। पुरुषको जनै लगाउने परम्परा होस् वा महिलाको रातो साडी लगाउने परम्परा वा ज्यूँदो देवी कुमारी मनाउने परम्परा, यस्तो संस्कार भएको कला र संस्कृतिको धनि देशमा यो मौलिकता जोगाउनु नै चुनौती हो र यो जोगाउनु हाम्रो कर्तव्य हो।
त्यसको साथै यी यावत् कुरा हाम्रो सम्पत्ति हुन्। त्यस्तै, पिर पर्दा मनाउने चाडपर्वदेखि खुसी हुँदा मनाउने होली पनि उत्तिकै मनाउन योग्य चाडपर्व हुन्। त्यसै सूर्य पूजादेखि, स्वास्थ्य र आनन्दको साथै शान्तिको पूजा गर्ने देश यत्तिकै धनी छ ।
आज पनि यस्ता मौलिकताको जागरण गर्नु पनि विकास नै हो। त्यसै दशै, तिहार लगायत, माघी पर्व, बुद्ध जयन्ती, छठ, ल्होसार, इन्द्रजात्रा, गाईजात्रा, रक्ष्या बन्धन, बिस्केत जात्रा, महापूजा, शिवरात्री, माघी लगायत, घरमा लगाउने पूजा, ब्रतबन्ध संस्कार, विवाह संस्कार, मृत्युसंस्कारदेखि देवगण, पितृगण, आफ्ना कुल देवता, इष्ट देवता हामी सबै मान्छौँ। त्यसै, अन्य धर्मालम्बीहरूको पनि उत्तिकै चाडपर्व छन्। यसप्रकार हामी भूमि पूजा गर्छौँ, आकाश पूजा गर्छौँ, जाल पूजा गर्छौँ, खोला–नालालाई धोच्छौँ। यो हाम्रो अमूल्य सम्पत्ति हो। त्यसैले हामी पाहुना मान्छौँ, पानी नपरे पानी माग्छौँ, पूजा गरेर। हो, अब आफ्नो भूमि, आफ्नो पहिचान, आफ्नो मौलिकतालाई विनाश नगरी गरिएको विकास नै नेपालको मौलिक विकास हो। अन्यथा हामीसँग ठूला–ठूला महल होला, समाज शिक्षित होला, उद्योग–धन्दा चल्ला, रोजगारीको सिर्जना होला, हामी आत्मनिर्भर हौंला, चौडा सडक होला, जीवनस्तर उकसियाला तर हाम्रो मौलिक पहिचान हराउने छ र नेपाल र नेपालीको आफ्नै अस्तित्व मेटिने छ ।
हामीले सर्तार्ती हेर्दा, विकास भनेको केवल भौतिक उन्नति हो जस्तो लाग्छ, तर भौतिक उन्नतिमात्र विकास होइन। सामाजिक, सांस्कृतिक, आम जनताको मानसिकता र वातावरणीय पक्षहरूको सन्तुलित र समग्र उन्नति नै विकास हो। वास्तविक विकास त्यतिबेलामात्र सम्भव हुन्छ, जब हामी भौतिक प्रगतिसँगै मानव मूल्य र पहिचानलाई पनि समान रूपमा अगाडि बढाउँछौं ।
नागरिकको चेतना स्तरमा वृद्धि, शिक्षामा पहुँच, वास्तविक सोचको विकास, बालकदेखि वृद्धसम्म नैतिक संस्कार, सबैलाई समानता देख्ने आँखा, स्वच्छ वातावरण, राष्ट्रमा सुशासन कायम हुनु, स्थिर राजनीति हुनु र आम नागरिकको जीवनस्तरमा स्वास्थ्य सेवासंगै समग्र रुपमा सुधार हुनु नै वास्तविक विकास हो।