काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले कमलादीस्थित करिब ७८.५ मिटर (२५६ फिट) अग्लो स्काइ टावरमा एक विशेष कार्यक्रमको आयोजना गरी हाइब्रिड मोटरसाइकल सार्वजनिक गरेको हो ।
एफजेड सिरिजबाट आएको हाइब्रिड मोटरसाइकलमा रुपान्तरण भएको यसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्दै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात गरेको छ । यामाहाले प्रमाणित १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरेर उन्नत हाइब्रिड प्रणाली प्रस्तुत गरेको हो । यो नेक्स्ट–जेनेरेसन हाइब्रिड प्रणालीले परम्परागत दक्षताका अलावा थप क्षमता प्रदान गर्नेछ । साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्टमार्फत उच्च गतिको एक्सेलेरेसन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन उपलब्ध गराने जनाइएको छ । कम्पनीका अनुसार नेपालभर इन्धनको मूल्यका साथै ट्राफिक जामको समस्या पनि उत्तिकै बढ्दै गइरहेको अवस्थामा हाइब्रिड प्रविधिलाई दैनिक आवागमनका लागि एक अग्रगामी समाधानका रूपमा हेरिएको छ । परम्परागत इन्जिनको विश्वसनीयतालाई स्मार्ट ब्याट्री–असिस्टेड पर्फर्मेन्ससँग संयोजन गरेर यस मोटरसाइकलले ६० प्लस किमि प्रतिलिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्नेछ ।
नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आरामलाई ध्यानमा राखेर विभिन्न सुविधाहरू समावेश गरिएको छ । १३५ केजी तौलको हल्का संरचनामा बनेको यो बाइकले राम्रो एजलिटी र पावर–टु–वेट अनुपात प्रदान गर्नेछ । यसमा सिंगल–च्यानल बोस एबीएस, २२० एमएम रियर डिस्क ब्रेक तथा चौडा रेडियल टायर प्रयोग गरिएको छ, जसले राम्रो पकड र स्थिरता दिन्छ । हाइब्रिड असिस्ट प्रणालीले यसको प्रतिक्रिया क्षमतालाई अझ बढाएको छ । यो मोटरसाइकलमा यामाहाको मौलिक डिजाइन शैली र आधुनिक सुविधाहरू पनि समावेश छ । यसमा अलग–अलग हाई र लो बीम भएको एलईडी हेडलाइट, इन्टिग्रेटेड बडी साइडलाइट, दुई तहको सिट, परिष्कृत ध्वनिसहितको मिडसिप मफलर तथा इन्जिन अन्डर काउल समावेश गरिएको छ, जसले सुरक्षा र स्पोर्टी लुक दुवै बढाउँछ ।
अनावरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यामाहाले कार्यक्रम स्थलमा विशेष ‘एक्सपिरियन्स जोन’ पनि तयार गरेको थियो, जहाँ उत्पादन प्रदर्शनीसँगै २००८ देखि २०२६ सम्मको एफजेड सिरिजको विरासत प्रस्तुत गरिएको थियो । डिजिटल र राइडिङ समुदायसँग बलियो सम्बन्ध भएको यामाहाले कार्यक्रमलाई मौलिक ढंगले दुई फरक चरणमा छुट्याएको थियो । पहिलो चरणमा इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूलाई विशेष प्रिभ्यु र अन्तरक्रियाका लागि आमन्त्रण गरिएको थियो भने दोस्रो चरणमा सञ्चारमाध्यमका प्रतिनिधि, व्यावसायिक साझेदार, डिलर तथा रोडिज ग्याङ लिडर, रेसर र ब्लू स्ट्रिक्स जस्ता यामाहा राइडिङ समुदायको सहभागिता रहेको थियो । यामाहाले अनुपविक्रम शाहीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ ।