काठमाडौं , भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले चार जना नेपाली सेनाका उच्च अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। सुरक्षाका लागि जिम्मेवारी तोकिएका प्रमुख स्थानहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न नसकेको ठहर गर्दै आयोगले यस्तो सिफारिस गरेको हो।
आयोगका अनुसार नेपाली सेना अन्तर्गत विभिन्न संवेदनशील स्थलमा खटिएका सुरक्षा टोलीका कमाण्डरहरू जिम्मेवारी निर्वाहमा कमजोर देखिएका छन्।कारबाही सिफारिस गरिएका अधिकारीहरूमा शीतल निवास मा खटिएका सुरक्षा प्रमुख सहायक रथी मनोज बैदवार, बालुवाटार स्थित प्रधानमन्त्री निवासमा खटिएका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालय क्षेत्रमा खटिएका प्रमुख सेनानी गणेश खड्का तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बानेश्वरस्थित संसद भवन परिसर) मा खटिएका सेनानी सन्तोष ढुंगेल रहेका छन्।
आयोगले यी चारै स्थानमा सुरक्षाको जिम्मेवारी सम्हालेका अधिकारीहरूले आवश्यक सतर्कता र प्रभावकारी समन्वय कायम गर्न नसकेको निष्कर्ष निकालेको छ।प्रतिवेदनमा ‘उल्लेखित स्थलहरूको सुरक्षा सुनिश्चित गर्न असफल भएकाले सम्बन्धित कमाण्डरहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने देखिएको’ उल्लेख गरिएको छ। साथै, उनीहरूविरुद्ध सैनिक ऐन, २०६३ को दफा १०५ अनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ। आयोगको सिफारिससँगै घटनामा सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ भने आगामी दिनमा उच्च सुरक्षा व्यवस्थामा कडाइ गरिने अपेक्षा गरिएको छ।