काठमाडौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार विना देशको समृद्धि सम्भव नभएको स्पष्ट पारेका छन् ।
भक्तपुर चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले नेपाल प्राकृतिक स्रोतले सम्पन्न भए पनि स्थिर नीति र प्रभावकारी कार्यान्वयनको अभावले अपेक्षित आर्थिक विकास हुन नसकेको बताए । युवाशक्ति देशको सबैभन्दा ठूलो सम्भावना भए पनि रोजगारी अभावका कारण दैनिक ठूलो संख्यामा विदेश पलायन भइरहेको उनको भनाइ छ । युवाहरूलाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘हाल दैनिक २५ सय हाराहारी युवा दैनिक विदेश पलायन भइरहेका छन्, यसलाई रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्छ ।’ अध्यक्ष अग्रवालले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना नै आर्थिक समृद्धिका आधार भएको बताए ।
हालको राजनीतिक अवस्था सकारात्मक रहेको उल्लेख गर्दै उनले स्थायित्वले लगानीमैत्री वातावरण निर्माण हुने बताए । स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र औद्योगिक विकास तीव्र हुने उनको भनाइ छ । आर्थिक लक्ष्य हासिल गर्न कर प्रणाली सुधार, भन्सार दर घटाउने, भ्याटका दरलाई व्यवहारिक बनाउने, साना व्यवसायीलाई कर छुट र प्रशासनिक झन्झट घटाउने लगायतका काम गर्न उनले सुझाव दिए । साथै, सूचना प्रविधिलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा उनको जोड छ । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र तवुज्जा श्रेष्ठले निजी क्षेत्रले ८२ प्रतिशत स्थानीय स्रोत साधन प्रयोग गरिरहेको उल्लेख गर्दै प्रशासनिक जटिलताका कारण उद्योगी–व्यवसायीको ऊर्जा खेर गइरहेको गुनासो गरे ।