काठमाडौँ । रामनवमी पर्वका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्वको उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा शुक्रबार दिउँसो विशेष प्रवचन कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिको कार्यालयका कार्यालय सचिव वसन्तबहादुर खड्काले जानकारी दिए । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।
त्रेतायुगमा अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा आजकै दिन विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको इतिहास छ । त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजाआराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन श्रीरामको व्रत बसी पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको जानकारहरू बताउँछन् । यसैले उनलाई आदर्श राजाका रूपमा स्मरण गरिन्छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।