काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् ।
मन्त्री श्रेष्ठले शुक्रबार मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने गरी काम गर्न आग्रह गरे । स्वच्छ ऊर्जाको माग झन् बढेर गएको उल्लेख गर्दै उनले समयसापेक्ष रुपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिने बताए । मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माणका लागि अर्थ मन्त्रालयसँग समन्वय गरिने उल्लेख गरे । अन्तरमन्त्रालय समन्वय गरेर ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लागिने उनको भनाइ थियो । पानीको अभावले खेतीयोग्य जमिन बाँझो हुने अवस्थाको अन्त्य गरिनुपर्नेमा उनले बताए । मन्त्री श्रेष्ठले सहरी र ग्रामीण क्षेत्रमा पानीको ‘रिचार्ज सिस्टम’ निर्माणका लागि ‘टिम’ बनाएर अगाडि बढ्ने बताए । वैकल्पिक ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई थप बलियो बनाउनुपर्ने उल्लेख गरे ।
मन्त्री श्रेष्ठले २१औँ शताब्दी भनेको अनुसन्धानको युग भएकाले ऊर्जा र सिँचाइ क्षेत्रमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरे । उनले सुशासन ऐनलाई टेकेर मन्त्रालयमा सुशासन समिति गठन गरिने बताउनुभयो । वित्तीय सुशासनलाई प्रभावकारी ढङ्गले अगाडि बढाइने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले मन्त्रालयमा आएको उजुरी र यहाँ भएका चुनौतीलाई अध्ययन गरेर समाधानमा लाग्नुपर्ने बताए । मन्त्री श्रेष्ठलाई मन्त्रालयमा ऊर्जा सचिव चिरञ्जीवी चटौत, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव दीनानाथ मिश्रले मन्त्रालयमा स्वागत गरेका थिए । तीनैजना सचिवले मन्त्री श्रेष्ठलाई आफ्नो नेतृत्वमा मन्त्रालयमा भएका कामका बारेमा जानकारी गराएका थिए ।