काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल धितोपत्र बोर्डले बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्देै वित्तीय ज्ञान, सिप र मनोवृतिको विकास गर्ने उद्देश्यले स्मार्ट मनि टक्स भन्ने नाराका साथ ग्लोबल मनि विक २०२६ चैत्र २ गतेदेखि ८ गतेसम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । सोही अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ्गले आइतबार नवोदित कलेज, सामाखुसी, काठमाडौंमा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्यार्थीहरू तथा प्राध्यापकहरूको लागि वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । उक्त सचेतनामूलक कार्यक्रममा कलेजका प्राध्यापकलगायत अध्यनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा आरबीबी मर्चेन्ट बैंकिङ्गतर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेल, सहायक प्रबन्धक सृजना बास्कोटा र वरिष्ठ अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरूको जवाफ सृजना बास्कोटा तथा राम नारायण तिवारीले दिएका थिए । ग्लोबल मनि विकको अवसरमा आयोजित यस कार्यक्रमले पुँजीबजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेछ र सहभागीहरूले सेयर लगानीसम्बन्धी ज्ञान हासिल गरी लाभान्वित भएका भन्ने विश्वास गरिएको छ । आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्र्रतिशत लगानीमा स्थापित संस्था हो ।