काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता प्रदान गरेको छ । फाइनान्सले ग्लोबल मनि विक २०२६, स्मार्ट मनि टक्सको अवसरमा नेपालका विभिन्न प्रदेशहरूमा र्याली आयोजना गर्नुका साथै विद्यार्थी तथा विभिन्न साना तथा मझौला व्यापारीहरू र आमा समूहहरूका लागि वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरू तथा विभिन्न साना तथा मझौला व्यापारीहरू र आमा समूहरूलाई बचत, लगानी, बजेट व्यवस्थापन तथा जिम्मेवार वित्तीय व्यवहारसम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको फाइनान्सले जानकारी दिएको छ । कार्यक्रममा सहभागीहरूलाई वित्तीय योजना, डिजिटल बैंकिङको प्रयोग, तथा भविष्यका लागि आर्थिक रूपमा सुदृढ बन्न आवश्यक सीपहरूबारे जानकारी प्रदान गरिएको फाइनान्सको भनाइ छ ।
कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले वित्तीय साक्षरताको महत्वबारे प्रकाश पार्दै युवा पुस्तालाई प्रारम्भिक चरणदेखि नै वित्तीय अनुशासन अपनाउन आग्रह गरेका छन् । साथै, सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानले आफ्नो दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।