काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थान गर्ने कम्पनी छनौट भएको छ । सरकारले सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई दिएको हो । उक्त कामका लागि आह्वान गरिएको ठेक्कामा युसिन छनौट भएको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । प्राविधि मूल्यांकनमा सबल देखिएका कम्पनीहरुमध्ये युसिन–एआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो । कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल एक अर्ब १० करोड ४० लाख रुपैयाँमा ठेक्का प्रस्ताव गरेको छ ।
कम्पनीले अनुमानित लागतभन्दा करिब ४० प्रतिशत कम रकम कबोल गरेर ठेक्का पाएको हो । सोमबार सूचना जारी गर्दै आयोजनाले कम्पनीलाई ठेक्का सम्झौताका लागि एक साताको समय दिएको छ । ठेक्का सम्झौतापछि कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्ग ५ वर्षसम्म सञ्चालन र व्यवस्थापन गर्नेछ । सुरुङमार्ग निर्माण लगभग सम्पन्न भएसँगै सञ्चालनको काम अघि बढेको आयोजनाले जनाएको छ ।