काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उदार अर्थतन्त्रलाई प्रोत्साहन गरी निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने बताएका छन् ।
नेपाल उद्योग परिसंघको प्रतिनिधिसंगको भेटमा मन्त्री वाग्लेले उदारताको नाममा छाडा हुन भने नदिइने बताए । हाल ओरालोमा रहेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको उनको भनाइ छ । नेपालको निजी क्षेत्र उत्साहित भएपछि नै विदेशी लगानी आउने भएकाले आयात प्रतिस्थापन गर्ने उत्पादनमुलक उद्योगहरूलाई सरकारले फरक रूपमा हेर्ने बताए । साथै, उनले बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याउन भूमिका खेल्न परिसंघलाई आग्रह गरे । निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको र यो सरकारले नीतिगत स्थिरता कायम गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने अग्रसर हुने उनको भनाइ छ । उनले भने, ‘लाइन बस्न नपरोस्, घुस दिन नपरोस् भन्नेतर्फ सरकारले विशेष ध्यान दिनेछ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाली जनताले चाहेको सुशासन तथा उच्च आर्थिक वृद्धिको अपेक्षा हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले दोस्रो चरणको आर्थिक सुधार, असान्दर्भिक तथा धेरै पूराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्दै आगामी बजेटबाटै स्पष्ट रूपमा सरकारले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारको काम गर्ने विश्वास व्यक्त गरे । रोजगारी सिर्जना, उच्च अंकको आर्थिक वृद्धि हासिल तथा आयात प्रतिस्थापन गर्न उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने उनको सुझाव छ । उनले पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेकोमा जोड दिए । ‘कानुनी रूपमा सम्पत्ति आर्जन गर्नु, पैसा कमाउनु अपराध होइन’ भन्ने भाष्य निर्माणका लागि सरकारले पनि सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उनले बजार माग बढ्न नसकिरहेको विद्यमान अवस्थामा समग्र माग बढाउने नीति लिइनुपर्नेमा पनि जोड दिए ।