काठमाडौं । नियामक निकायले स्वतन्त्र भएर काम नगर्दा जलविद्युत् क्षेत्र महिनौँदेखि पीडित भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अनुसार २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत नभएको हो ।
इप्पाले ती सेयर सूचीकृत गर्न नयाँ सरकारसँग माग गरेको छ । धितोपत्र निष्काशनसम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने व्यवस्था छ । तर उक्त व्यवस्थाविपरीत सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साधारण सेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक सेयरलाई गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएको छ । त्यसलाई यथाशीघ्र अभौतिकीकरण गरिदिन इप्पानले बुधबार माग गरेको हो ।
इप्पानले सीडीएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो । सिडिएससीले संस्थापक सेयर र साधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अनिवार्य हुनुपर्ने गैरकानुनी अडान लिएपछि ३ वटा सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीहरुको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन सकेको छैन ।
सिडिएससीको गैरकानुनी हठले झण्डै दुई दर्जन ऊर्जा उत्पादक कम्पनीका लगानीकर्ता मर्कामा परेको इप्पानको दाबी छ । ती कम्पनीका लगानीकर्ताको सरकारप्रतिको विश्वास गुमेको ऊर्जा उद्यमीहरु बताउँछन् ।
लगानीकर्ताहरुलाई थप परियोजनामा लगानी गर्नबाट पछि हट्नुपर्ने परिस्थिति सिर्जना गरेको पनि उनीहरुको गुनासो छ । ऊर्जा उत्पादक कम्पनीहरुले मौजुदा कानुनअनुसार ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाउने गरी लकइन गरिएको हुन्छ । ३ वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेको अवस्थामा मात्रै संस्थापक सेयर बिक्री गर्न पाउँछन् । त्यति हुँदा पनि सीडीएससीले गैरकानुनी रुपमा दोहोरो आइजिनको कुरा निकालेर सेयर सूचीकृत नगर्नु लगानीकर्तामाथिको अन्याय भएको उद्यमीहरुको भनाइ छ ।
दोहोरो आईजीन कायम गरेर मात्रै संस्थापक सेयर सूचीकृत गर्ने सीडीएससीको अडानपछि गैरआवासीय नेपाली सँघ (एनआरएनए)ले यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको थियो । जबर्जस्ती यस्तो व्यवस्था कार्यान्वयन गरेमा गैरआवासिय नेपालीबाट नेपालमा थप लगानी नआउने पनि संघले चेतावनी दिएको थियो ।
दोहोरो आईजिनले लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै यसले भोलिका दिनमा नेपालको लगानी वातावरण नै बिगार्न सक्नेतर्फ एनआरएनएले सीडीएससीको ध्यानाकर्षण गराएको थियो ।
इप्पानका अनुसार आर्थिक वर्ष (आव) २०८१/८२ मा ८ वटा ऊर्जा कम्पनीको तीन अर्ब ५२ करोड २६ लाख ५५ हजार २०० रुपैयाँबराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ । त्यसैगरी आव २०८२/८३ मा १४ कम्पनीको १८ अर्ब ६० करोड १४ लाख ७२ हजार ६०० रुपैयाँ बराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख २७ हजार ८०० रुपैयाँबराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।