काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इरान द्वन्द्वले निगमको घाटा १३ अर्ब नाघ्ने भन्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको हो ।
निगमले मूल्य बढाएपछि पुरानै मूल्यमा तेल हाल्न राति १० बजेपछि नेपाल प्रहरीको नक्साल र सामाखुसी पम्पमा लामो लाइन लागेको थियो । १२ बजेपछि मूल्य बढ्ने भएपछि १० बजेदेखि तेल हाल्नेको लाइन लागेको हो ।
पछिल्लो मूल्यवृद्धिपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९९.५० रुपैयाँ, डिजेल/मट्टीतेल १७९.५० रुपैयाँ पुगेको छ । त्यसैगरी सुर्खेत र दाङमा पेट्रोल २०१ रुपैयाँ र डिजेल मट्टितेल १८१ रुपैयाँ तथा काठमाडौं, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।
‘विगत महिनादेखि मध्यपूर्वमा जारी युद्धले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ’, निगमले बिहीबार साँझ भनेको छ, ‘सो युद्धले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि भई इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुनसकेको छैन ।’
मार्च १६ र ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ४७.१२, प्रतिलिटर डिजेलमा १३३.४५ र एलपी ग्यासमा ४१६.३७ प्रतिसिलिन्डर घाटा रहेको निगमले जनाएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि हुँदा र सोहीअनुसार मूल्य समायोजन हुन नसक्दा १५ दिनमै १३ अर्ब २१ करोड घाटा हुने निगमले उल्लेख गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि हुने तर सोअनुसार मूल्यवृद्धि समायोजन हुन नसक्दा घाटा रकम बढ्ने भई आईओसीलाई भुक्तानी दिन नसकिने अवस्था देखिएको हो । आईओसीबाट हालसम्म मागअनुसार नै पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको पनि निगमले जनाएको छ । तर तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति प्रभावित हुनसक्ने निगमको चेतावनी छ ।
यस्तो अवस्थामा उपभोक्ताको हितलाई मध्यनजर गरेर निगमसाग रहेको मूल्य स्थिरीकरण कोषको समेत उपयोग गर्ने गरी उक्त मूल्यवृद्धि गर्नुपरेको निगमको स्पष्टोक्ति छ । मूल्य समायोजन भए पनि निगमलाई प्रतिलिटर पेट्रोलमा ३४.३६, डिजेलमा १२०.५४ र एलपी ग्यासमा ४१६.३७ घाटा हुने निगमले उल्लेख गरेको छ ।
कति पुग्यो अन्तर्राष्ट्रिय बजारमा ?
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रका नाममा सम्बोधन गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । हाल अमेरिकाले इजरायलसँग मिलेर पश्चिम एसियाली देश इरानमा आक्रमण गरिरहेको छ । पछिल्लो समय वार्ता भइरहेका समाचारसँगै कच्चा तेलको मूल्य घटे पनि बुधबार राति ट्रम्पले इरानमाथिको आक्रमण अझै सघन पार्ने चेतावनी दिएका थिए ।
त्योसँगै ब्रेन्ट क्रुड प्रतिब्यारेल १०९ अमेरिकी डलर माथि पुगेको बीबीसीले जनाएको छ । उनको भाषणअघि सय डलरमुनि रहेको मूल्य त्योसँगै ह्वात्तै बढ्न पुगेको थियो । कच्चा तेलको मूल्य बढ्दा एसियाली अर्थतन्त्रमाथि नराम्रो प्रभाव परेको छ । विशेषगरी इरानको नियन्त्रण रहेको हर्मुज घाँटीबाट कच्चा तेल आपूर्ति हुने गरेकामा आक्रमणपछि तेल नै आउन सकेको छैन ।
बिहीबार कच्चा तेलको ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुड ८ प्रतिशतले बढेको थियो । यता अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमेडियट पनि ११० डलर प्रतिब्यारेल माथि कारोबार भएको अमेरिकी मिडियाले जनाएका छन् । आक्रमण बढ्ने संकेत बलियो बनेपछि विश्व सेयरबजार पनि व्यापक घटेको बताइएको छ ।