काठमाडौं ।
विभिन्न जिल्लामा जारी निषेधाज्ञाका बीच बिहीबारदेखि मध्यम तथा लामो दूरीमा सार्वजनिक बस सेवा सञ्चालन हुनथालेको छ । करिब छ महिनादेखि बन्द बस सेवा एकै पटक सञ्चालन गर्न विभिन्न कठिनाइ भएको कारण करिब १५ प्रतिशत मात्र सञ्चालमा आएको व्यवसायीहरुले बताएका छन् ।
‘कतिपय बसहरु राख्दा राख्दै बिग्रिएका छन् भने भन चालक, सहचालक पनि टाढाटाढा भएको तथा स्थानीय प्रशासनले कतिपय जिल्लामा निषेधाज्ञा नहटाएको कारण पूर्ण रुपमा चल्न नसकेको हो’, एक व्यवसायीले भने । सार्वजनिक बसमा चढ्ने यात्रुको संख्या पनि कम भएको कारण पूर्ण क्षमतामा चल्न नसकेको हो ।
सरकारले बिहीबारसम्म सार्वजनिक यातायातका लागि स्वास्थ्यसम्बन्धी कार्यविधि बनाइसकेको छैन । लामो र मध्यम रुटमा बीचमा रोक्ने स्थान, खाजा र खाना खाने स्थानलगायतका कुरामा अझै स्पष्ट छैन । सबै चालक, सहचालक, यात्रुलाई यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन महासङ्घले अनुरोध गरेको छ । चालक तथा सहचालक दुवैलाई मास्क, पञ्जा र सेनेटाइजर तथा सहचालकलाई फेस भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।
त्यस्तै, यातायात व्यवसायी महासङ्घले यात्रुलाई बस चढ्दा, ओर्लिँदा र खाना तथा खाजा खाने समयमा भीडभाड नगर्न अनुरोध गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहीबारदेखि मध्यम र लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन् ।