स–साना हुँदा हामीले सुन्थ्यौं—इथियोपिया भनेको भोकमरीले ग्रस्त, खडेरीले थिलथिलो परेको देश हो । विशेषगरी १९८० को दशकमा भयानक खडेरीका कारण लाखौं मानिस भोकमरीको चपेटामा परेका थिए । त्यसबेला इथियोपियाको नाम लिँदा गरिबी, अस्थिरता र संकटले भरिएको राष्ट्रको तस्वीर हाम्रो मानसपटलमा आउँथ्यो । लामो समयसम्म सैन्य शासन, राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्वले देशलाई विकासको दौडमा निकै पछाडि धकेलेको थियो । तर समय सधैं एकै ठाउँमा अडिँदैन । पछिल्ला दुई दशकमा इथियोपियाले आफूलाई विस्तारै रूपान्तरण गर्दै गएको छ । यद्यपि आज पनि देशले पूर्ण रूपमा समस्या मुक्त अवस्था हासिल गरिसकेको छैन । जातीय द्वन्द्व, राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप, ग्रामीण पूर्वाधारको कमी, शिक्षा र स्वास्थ्य सेवामा असमान पहुँच, खाद्यान्न असुरक्षा, मुद्रास्फीति तथा युवामा बेरोजगारी जस्ता चुनौतीहरू अझै कायम छन् । तर यी सबै चुनौतीहरूको बीचमा पनि इथियोपियाले सन् २००० पछि उल्लेखनीय विकासको यात्रा सुरु गरेको छ, जुन नेपालजस्ता विकासोन्मुख देशका लागि महत्वपूर्ण अध्ययनको विषय बन्न सक्छ ।
इथियोपियाको विकासको सुरुवात : पूर्वाधारदेखि उद्योगसम्म
इथियोपियाको विकासको आधारभूत स्तम्भ भनेकै पूर्वाधार विकास हो । यस देशमा सडक, रेलमार्ग र हवाइ सेवा विस्तारमा व्यापक लगानी गरिएको छ । यसले देशभित्रको आवतजावतमात्र सहज बनाएको छैन, अन्तर्राष्ट्रिय व्यापारलाई पनि सुदृढ बनाएको छ । यसका साथै कृषि क्षेत्रमा पनि सुधार गरिएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धि र निर्यातमा जोड दिइएको छ । यससँगै औद्योगिकीकरणतर्फ देशले स्पष्ट रूपमा कदम बढाएको देखिन्छ । उत्पादनमूलक उद्योगहरू विस्तार गरिएका छन्, जसले रोजगारी सिर्जना र आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । इथियोपियामा विकास भइरहेका प्रमुख उद्योगहरूमा कृषि–प्रसंस्करण, कपडा तथा गार्मेन्ट, खाद्य तथा पेय पदार्थ, औषधि उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरण, छाला तथा जुत्ता उद्योग, र नवीकरणीय ऊर्जा उपकरण उत्पादन प्रमुख रहेका छन् । कफी, चिया, फलफूल तथा तरकारी प्रशोधन, मासु तथा दुग्धजन्य उत्पादन, रेडिमेड गार्मेन्ट, सिमेन्ट, स्टील, सोलार प्यानल जस्ता उद्योगहरू तीव्र रूपमा विस्तार भइरहेका छन् । राजधानी एडिस अबाबा आज अफ्रिकाको तीव्र गतिमा विकास हुँदै गएको सहरहरूमध्ये एकका रूपमा उभिएको छ, जसले देशको समग्र परिवर्तनको संकेत दिन्छ । जहाँ उत्पादन तथा प्रशोधन केन्द्र र राम्रो वितरण प्रणाली हुन्छ, त्यहाँ रोजगारीका अवसर पनि त्यत्तिकै बढ्ने गर्दछ । यसैगरी यस देशले लगानीमा पनि ठूलो छलाङ मारेको छ । सन् २०२५ र २०२६ मा आयोजित ‘इन्भेस्ट इन इथियोपिया’ फोरममा इथियोपियाको विकासमा विदेशी लगानीले महत्वपूर्ण भूमिका खेलेको छ । सन् २०२५ मा आयोजित यस फोरममार्फत करिब १.६ अर्ब अमेरिकी डलर बराबरको लगानी भित्रिएको थियो भने २०२६ मा यही फोरममार्फत १३.१ अर्ब अमेरिकी डलर बराबरको लगानी सम्झौता भएको छ । एक वर्षमै भएको यो ठूलो वृद्धिले इथियोपिया अहिले लगानीकर्ताहरूको आकर्षणको केन्द्र बन्दै गएको स्पष्ट संकेत दिन्छ । यी लगानीहरू मुख्यतः उत्पादनमूलक उद्योग, कृषि तथा कृषि–प्रसंस्करण, ऊर्जा (विशेष गरी नवीकरणीय ऊर्जा) र निर्माण क्षेत्रमा केन्द्रित छन् । यसले रोजगारी सिर्जना, विदेशी मुद्रा आम्दानी वृद्धि र प्रविधि हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
शिक्षा : विकासको आधारस्तम्भ
इथियोपियाले बुझेको मुख्य कुरा के हो भने— दिगो विकासको आधार भनेको दक्ष मानवशक्ति हो, र दक्ष मानवशक्ति शिक्षा प्रणालीबाटै उत्पादन हुन्छ । त्यसैले शिक्षा क्षेत्रमा व्यापक सुधार गरिएको छ । सोहीअनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटीईएम) शिक्षालाई प्राथमिकतामा राखिएको छ । जसले गर्दा प्राविधिक शिक्षाको विकास भएको छ र दक्ष व्यक्तिहरूको बजारमा आगमन भइरहेको छ । यसका साथै विश्वविद्यालय र प्राविधिक शिक्षालाई अनुसन्धानमुखी बनाउँदै लगिएको छ । पछिल्ला वर्षहरूमा विश्वविद्यालयको संख्या उल्लेखनीय रूपमा बढेर हाल करिब ७० पुगेको छ, जुन केही वर्षअघिको तुलनामा ठूलो प्रगति हो । विद्यालय तहदेखि नै डिजिटल साक्षरता, सूचना प्रविधि र कोडिङ शिक्षालाई समावेश गरिएको छ । टाढा–टाढाका क्षेत्रहरूमा इ–लर्निङ र अनलाइन शिक्षा प्रणाली लागू गरिएको छ, जसले सहरी र ग्रामीण क्षेत्रबीचको शैक्षिक दूरी घटाउने प्रयास गरेको छ । यससँगै इथियोपियाले कृत्रिम बुद्धिमत्ता विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ, जसले भविष्यका लागि आवश्यक उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य : मानव पुँजी सुदृढीकरण
शिक्षासँगै स्वास्थ्य क्षेत्रलाई पनि इथियोपियाले प्राथमिकतामा राखेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गरिएको छ, जसले आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाएको छ । स्वास्थ्यकर्मीहरूको तालिम र परिचालनले सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ । मातृत्व र बाल स्वास्थ्यमा विशेष ध्यान दिइएको छ । खोप अभियान, पोषण कार्यक्रम र प्रसूति सेवाको सुधारले मृत्यु दर घटाउन महत्वपूर्ण भूमिका खेलेको छ । डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन र कृत्रिम बुद्धिमत्ता आधारित निदान प्रणालीको प्रयोगले स्वास्थ्य सेवामा गुणस्तरीय सुधार ल्याएको छ । साथै, निजी–सरकारी सहकार्यमार्फत अस्पताल तथा स्वास्थ्य पूर्वाधार विस्तार गरिएको छ ।
ग्रामीण विकास : समावेशी दृष्टिकोण
इथियोपियाले विकासलाई सहरमा मात्र सीमित राखेको छैन । ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेर विद्यालय विस्तार, शिक्षक तालिम, व्यावसायिक शिक्षा र जीवन कौशलमा आधारित पाठ्यक्रम लागू गरिएको छ । यसले ग्रामीण युवालाई आफ्नै क्षेत्रमा अवसर सिर्जना गर्न सहयोग पुर्याएको छ । परिणामस्वरूप सहरतर्फको अनियन्त्रित बसाइँसराइ घटाउन मद्दत पुगेको छ ।
वातावरणीय संरक्षण र हरित विकास
इथियोपियाले विकाससँगै वातावरणीय संरक्षणलाई सन्तुलनमा राख्ने प्रयास गरेको छ । देशव्यापी वृक्षारोपण अभियानमार्फत अरबौं रूख रोपिएको छ । नवीकरणीय ऊर्जा—विशेष गरी जलविद्युत, सौर्य र पवन ऊर्जामा लगानी गरिएको छ । जलस्रोत व्यवस्थापन, स्मार्ट कृषि प्रणाली र बाढी तथा खडेरीका लागि पूर्व चेतावनी प्रणाली लागू गरिएको छ । शहरी क्षेत्रमा फोहोर व्यवस्थापन र औद्योगिक प्रदूषण नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले दिगो विकासलाई सुनिश्चित गर्न सहयोग पुर्याएको छ । कार्बन उत्सर्जन घटाउने लक्ष्य, वातावरणमैत्री ऊर्जा प्रयोग र वन संरक्षणमा पनि विशेष ध्यान दिइएको छ ।
शासन र नीति : लगानीमैत्री वातावरण
इथियोपियाले लगानीमैत्री नीति निर्माणमा विशेष ध्यान दिएको छ । स्थिर नीति, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक प्रक्रिया सरल बनाउने प्रयास गरिएको छ । ‘एकद्वार प्रणाली’ जस्ता उपायहरूले लगानीकर्तालाई सहज सेवा प्रदान गरेका छन्, जसले विदेशी लगानी आकर्षित गर्न मद्दत पुर्याएको छ ।
नेपालले सिक्नुपर्ने पाठहरू
इथियोपियाको अनुभवले नेपालले धेरै महत्वपूर्ण पाठहरू सिक्न सक्छ । पहिलो कुरा, विकास बहुआयामिक हुनुपर्छ । शिक्षा, स्वास्थ्य, वातावरण, रोजगार र शासन सबै क्षेत्रलाई एकैसाथ सुधार नगरी दीर्घकालीन विकास सम्भव हुँदैन । दोस्रो, मानव पुँजी विकास सबैभन्दा महत्वपूर्ण हो । दक्ष जनशक्ति विना न उद्योग सञ्चालन सम्भव हुन्छ, न विदेशी लगानी आकर्षित गर्न सकिन्छ । त्यसैले दक्ष कामदारलाई विदेश पठाउने मात्र होइन, नेपालमै रोजगारी सिर्जना गर्न आवश्यक छ । तेस्रो, ग्रामीण विकासमा विशेष ध्यान दिनुपर्छ । ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्न सकेमात्र देशको समग्र विकास सम्भव हुन्छ । चौथो, वातावरणीय सन्तुलन अनिवार्य छ । हरित ऊर्जा, वृक्षारोपण र जलस्रोत व्यवस्थापनले दीर्घकालीन विकासलाई दिगो बनाउँछ । पाँचौं, स्थिर र पारदर्शी शासन प्रणाली आवश्यक छ । लगानीकर्ताको विश्वास जित्न र विकासलाई निरन्तरता दिन यसले महत्वपूर्ण भूमिका खेल्छ । छैटौं, प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । आधुनिक शिक्षा, अनुसन्धान र नवप्रवर्तन विना भविष्यको प्रतिस्पर्धामा टिक्न सकिँदैन । आफ्ना विश्वविद्यालयहरूलाई चुस्त, दुरुस्त र आधुनिक बनाउन जरुरी छ ।
निष्कर्ष
हो, इथियोपिया पूर्ण रूपमा समस्या मुक्त देश होइन, त्यहाँ पनि धेरै समस्या अझै छन् । तर सीमित स्रोत र अनेक चुनौतीका बीच पनि उसले विकासको स्पष्ट मार्ग तय गरेको छ । अझै पनि यो एक विकासोन्मुख देश नै हो, जहाँ प्रतिव्यक्ति आय कम छ, धेरै जनसंख्या कृषि क्षेत्रमा निर्भर छ, र पूर्वाधार तथा सामाजिक सेवामा सुधार आवश्यक छ । यद्यपि औद्योगिकीकरण, कृषि–प्रसंस्करण, पूर्वाधार विकास र विदेशी लगानीका कारण रोजगारीका अवसरहरू उल्लेखनीय रूपमा बढेका छन् । युवामा बेरोजगारीको चुनौती अझै पूर्ण रूपमा समाधान भएको छैन, तथापि विकासको बाटोमा अग्रसरता देखिएको छ । नेपालका लागि सन्देश स्पष्ट छ—यदि सही नीति, दीर्घकालीन दृष्टिकोण र मानव पुँजीमा लगानी गर्न सकियो भने विकास सम्भव छ । इथियोपियाले देखाएको मार्गलाई सन्दर्भका रूपमा लिएर नेपालले शिक्षा, स्वास्थ्य, वातावरण, प्रविधि र लगानीका क्षेत्रमा सुधार ल्याउन सके दिगो समृद्धिको बाटोमा अगाडि बढ्न सक्नेछ । इथियोपियाले पछिल्ला दशकहरूमा दिगो विकासका क्षेत्रमा उल्लेखनीय प्रयासहरू गरेको छ र त्यसमा सफलता पनि प्राप्त गरिरहेको छ । एक समय भोकमरी र संकटले चिनिएको यो देश अहिले क्रमशः आर्थिक विकास, वातावरणीय सुधार र सामाजिक सुधारतर्फ अगाडि बढिरहेको छ । अब हामीले इथियोपियाबाट सिक्नुपर्ने कुरा के हो भने—वन संरक्षण र वृक्षारोपण अभियान सञ्चालन गर्ने, अर्बाैं विरुवा रोप्ने कार्यक्रम लागू गर्ने, कार्बन उत्सर्जन घटाउने लक्ष्य निर्धारण गर्ने, वातावरणमैत्री ऊर्जा प्रयोग गर्ने, जलविद्युत् तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने, ठूलो ऊर्जा आयोजना विस्तार गर्ने, आधुनिक कृषि प्रविधि प्रयोग गर्ने, सिँचाइ प्रणाली विस्तार गर्ने, खाद्य सुरक्षा बढाउने प्रयास गर्ने, पूर्वाधार विकास गर्ने, औद्योगिक क्षेत्र निर्माण गर्ने, तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिने । यदि यी सबै क्षेत्रमा समन्वयात्मक रूपमा काम गर्न सकियो भने, इथियोपियाले जस्तै मानव विकास सूचकांक सुधार गर्दै नेपाल पनि दिगो विकासको मार्गमा अघि बढेर विकसित राष्ट्र बन्न समय लाग्ने छैन । अब हामी सबै मिलेर देशलाई उन्नतीतर्फ अघि बढाऔँ ।