काठमाडौं , सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल ले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार इन्धन आपूर्तिमा आएको समस्या व्यवस्थापन गर्न र खपत घटाउन यस्तो कदम चालिएको हो।
यस निर्णयसँगै अब देशभरका सरकारी कार्यालय र विद्यालयहरू हप्तामा दुई दिन बन्द रहनेछन्। निजी क्षेत्रले भने आवश्यकताअनुसार आफ्नै निर्णय गर्न सक्ने जनाइएको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण बजारमा इन्धन अभाव हुन थालेको छ। यातायात, उद्योग तथा दैनिक जनजीवनमा परेको असरलाई ध्यानमा राख्दै सरकारले तत्कालका लागि बिदा दिने नीति अघि सारेको हो।सरकारले यो व्यवस्था अस्थायी रहेको संकेत गर्दै आपूर्ति अवस्था सहज बनेपछि पुनरावलोकन गरिने जनाएको छ।