अहिलेको सरकारलाई सात दशकपछिको पहिलो भनेर सबैबाट मानिएको छ । यो सरकार उल्लिखित कालखण्डपछिको त्यस्तो पहिलो हो जसले एकलदलीय तहको दुईतिहाइको हैसियत पाएको छ । जनताको ठूलो विश्वास नजितिकन यो सम्भव हुँदैन । गएको फागुनमा सम्पन्न चुनावपछि निर्मित यो सरकारलाई संसद्को पनि पूराका पूरा समर्थन रहेको अवस्था छ । हालै सम्पन्न भएको सभामुखको निर्वाचनमा पनि स्थिति त्यस्तै देखियो । यो चुनावबाट संसद्मा राष्ट्रिय मान्यता पाएका दलहरूको संख्या छ वटा छ । इतिहासमै लेखिने गरी स्वतन्त्र सांसद भने एकजना मात्र छन् । यस्तो बेला सभामुख भने निर्विरोध छानियो । यसको अर्थ हो, अरू दलले यो पदमा उम्मेदवार बनाएर पनि कुनै अर्थ नहुने बुझेर नै निर्विरोध बनाइएको भन्ने प्रष्टै छ । यसले पनि यो सरकार अरू कसैले चलाउन सक्ने अवस्थामा छैन भन्ने बुझाउँछ । स्थिर शासनका लागि योभन्दा अर्को नमुना नहोला । यस्तो बेला यता देशको पुँजी बजारले भने यो सरकारलाई पत्याएको देखिएन । देशको पुँजी बजार भनेको पनि एक प्रकारले खुला रूपको जनमत नै हो भन्ने विज्ञहरू बताउँछन् ।
निर्वाचन समपन्न भएर सरकार गठन हुनुअघिसम्म केही घटबढबाहेक यो बजार खुसी नै थियो । जब सरकारले कतिपय अवस्थामा प्रतिशोध देखिने खालका गतिविधि सुरुभएको ठानियो त्यसपछि यो निरन्तर ओरालोमा गइरहेको छ । त्यसकारण यो अवस्थालाई कुनै मन्त्री वा प्रधानमन्त्रीको कुरासंगमात्र जोड्न नमिल्ने भनिएको हुनुपर्छ । जुन बेला सरकारले आफ्नो गति समात्यो सेयर बजार त्यसैबेलादेखि लगातारको ओरालो यात्रामा आएको थियो । यो साताको पहिलो दिन त विगतमा कहिल्यै नदेखिएको अवस्था प्रकट भयो । सेयर बजार परिसूचक नेप्से यस दिन एक सय पाँच दशमलव ५० अंकले ओरालो लागेर २६ सय ७६ दशमलव ६८ विन्दुमा खुम्चिएको अवस्था प्रकट भयो । यसको अर्को दुःखद्पक्ष भनेको ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आजसम्म विरलैमात्र देखिएको अवस्थामा ओरालो लाग्यो, जो १५ दशमलव ६२ अंकले झरेर चार सय ५७ दशमलव ६१ विन्दुमा आयो । पुँजी बजारका लागि यी धेरै नै संवेदनशील विषय मानिन्छन् र समग्र रूपमा सरकालाई विश्वास गर्न नसकेको यो क्षेत्रको जनमत मानिन्छ । यस दिन तीन सय ४५ वटा कम्पनीहरूको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौ लाख १४ हजार पाँच सय ७० रुपैयाँ कायम भएको देखियो ।
कारोबार भएको रकमको अंक पनि निकै सानो हो, जसले बजार व्यापक रूपले त्रसित भएको बुझाउँछ । जस्तो १३ वटा उपसमूहहरूको सेयर कारोबार हुँदा सबभन्दा बढी अंकमा रहेका वाणिज्य बैंक उपसमूहको सूचक ४८ दशमलव ३६ अंकले घट्यो । यो कुनै एउटा उपसमूहको सूचकमात्र होइन । सबै उपसमूहका सूचकहरूको अवस्था यस्तै देखएका छन् । यो भनेको पुँजी बजार त्रसित भएको अवस्था नै हो । यो हप्ता सरकारद्वारा उद्योगी व्यवसायीको धरपकड र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जसरी व्यापक पारियो जसका कारण लगानीकर्ता मनोवैज्ञानिक रूपले त्रसित भएका हुनुपर्छ । त्यसमाथि कतिपय अवस्थामा सरकाले आफ्नो छनौटमा परेका माथि अनावश्यक शक्ति लगाएको भन्ने दबाब पनि परकोहुनुपर्छ । नेप्से परिसूचक एक सातामै झन्डै ३ सय अंकले घट्नु र पुँजी बजार झण्डै पाँच खर्बले खुम्चिएको अवस्था सामान्य होइन । यो बजारमा निर्वाचनका बेला प्रकट भएको उत्साहलाई कायम राख्न सकिएन, जसले सरकारप्रतिको विश्वासको परीक्षा हुन्छ । सरकार आफैँले यसका कारणहरू खोजेर अबका दिन यसको हैसियतअनुसार पुँजी विश्वास कायम हुने वातावरण बनाइयोस् ।