नेपाललाई सदियौंदेखि नै कृषि प्रधान देशकोरुपमा चिनिँदै आएको छ । यहाँको भूगोल र हावापानी कृषि क्षेत्रको लागि निकै नै उपयुक्त रहेको छ । त्यहीकारण पनि हुन सक्छ नेपालको कुल जनसंख्याको निकै ठूलो हिस्सा अहिले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर रहेको छ । तर विडम्बना के छ भने, यति ठूलो जनसंख्या कृषिमा आबद्ध हुँदाहुँदै पनि नेपालको कृषि क्षेत्र अझैसम्म पूर्णरूपमा व्यवसायीक हुन सकेको छैन । खाद्यान्न आयातमा निर्भरता बढ्दै गएको छ भने युवाशक्ति विदेश पलायन भइरहेको छ । यस्तो अवस्थामा ‘किन नेपालको कृषि क्षेत्र व्यवसायिक हुन सके न ?’ भन्ने प्रश्न अत्यन्तै सान्दर्भिक र गम्भीर बनेको छ ।
नेपालको कृषि प्रणाली अझै पनि परम्परागत प्रविधिमा आधारित छ । अधिकांश किसानहरू अझै पनि हलगोरु, परम्परागत बिउ, र परम्परागत खेती प्रणालीमा निर्भर छन् । आधुनिक उपकरण, उन्नत बिउ, र वैज्ञानिक प्रविधिको प्रयोग न्यून छ । यसले उत्पादनशिलता कम बनाएको छ । व्यवसायिक कृषि हुनका लागि उत्पादन लागत कम र उत्पादन उच्च हुनुपर्छ, तर नेपालमा यसको उल्टो अवस्था देखिन्छ ।
यसैगरी भूमिको सानो आकार र खण्डीकरण पनि ठूलो समस्या हो । अधिकांश किसानसँग सानो–सानो जग्गा हुन्छ, जुन विभिन्न स्थानमा टुक्राटुक्रा भएर रहेको हुन्छ । यस्तो अवस्थामा ठूलो स्तरमा उत्पादन गर्न, मेसिन प्रयोग गर्न, वा एउटै बालीमा केन्द्रित हुन गाह्रो हुन्छ । व्यवसायीक कृषि प्रायः ठूलो जमिन र समन्वित उत्पादन प्रणालीमा आधारित हुन्छ, जुन नेपालमा अभाव छ । नेपालमा कृषि क्षेत्र व्यवसायीक हुन नसक्नुमा बजार व्यवस्थापनको कमजोरी पनि एक प्रमुख कारण हो । किसानले उत्पादन गरेपछि उचित मूल्य पाउने सुनिश्चितता छैन । बिचौलियाको प्रभाव धेरै छ, जसले गर्दा किसानले मेहनत अनुसारको आम्दानी पाउन सक्दैनन् । कतिपय अवस्थामा उत्पादन खेर जाने अवस्था पनि देखिन्छ, किनकि भण्डारण र ढुवानीको उचित व्यवस्था छैन । यदि बजार सुनिश्चित नहुने हो भने किसान व्यवसायीक रूपमा लगानी गर्न हिच्किचाउँछन् ।
कृषि क्षेत्र व्यवसायीक हुन नसक्नको अर्को कारण भनेको पूर्वाधारको अभावले पनि कृषि व्यवसायीकरणमा बाधा पु¥याएको छ । सिंचाइ सुविधा पर्याप्त छैन, सडक पहुँच कमजोर छ, कोल्ड स्टोर र प्रशोधन केन्द्रको अभाव छ। यी सबै पूर्वाधार विना कृषि उत्पादनलाई बजारसम्म पु¥याउन कठिन हुन्छ । विशेष गरी दुर्गम क्षेत्रका किसानहरू अझै पनि आधारभूत सुविधाबाट वञ्चित छन् । वित्तीय पहुँच र लगानीको कमी पनि गम्भीर समस्या हो । धेरै किसानसँग पर्याप्त पुँजी हुँदैन । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन प्रक्रिया जटिल हुन्छ र धितो आवश्यक पर्छ । यसले गर्दा किसानहरू आधुनिक प्रविधि अपनाउन वा उत्पादन विस्तार गर्न असमर्थ हुन्छन् । कृषि बीमा प्रणाली पनि प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन, जसले जोखिम बढाएको छ ।
नीति तथा कार्यान्वयनबीचको अन्तर पनि उल्लेखनीय छ । सरकारले विभिन्न योजना, अनुदान, र कार्यक्रम ल्याए पनि ती सबै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । कतिपय अवस्थामा अनुदान वास्तविक किसानसम्म पुग्दैन, पहुँच भएका व्यक्तिहरूले मात्र लाभ लिन्छन् । यसले गर्दा वास्तविक कृषक निराश हुन्छन् र व्यवसायीक बन्ने प्रेरणा हराउँछ । यसैगरी जनशक्ति पलायनले पनि कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । युवाहरू रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढ्दो छ । गाउँमा श्रमिक अभाव हुन थालेको छ । वृद्ध र महिलामात्र कृषि कार्यमा संलग्न हुने अवस्था छ, जसले उत्पादन क्षमता घटाएको छ । व्यवसायीक कृषि गर्नका लागि दक्ष र ऊर्जावान जनशक्ति आवश्यक हुन्छ, जुन अभाव हुँदै गएको छ ।
कृषि शिक्षा र अनुसन्धानको कमजोरी पनि एक कारण हो । कृषिसम्बन्धी आधुनिक ज्ञान, तालिम, र प्रविधि किसानसम्म प्रभावकारी रूपमा पुग्न सकेको छैन । अनुसन्धान संस्थाहरूबाट निस्किएका नयाँ प्रविधि व्यवहारमा कमै लागू हुन्छन् । किसान र अनुसन्धानबीचको दूरीले पनि कृषि व्यवसायीकरणमा अवरोध पुर्याएको छ । जलवायु परिवर्तनको प्रभाव पनि बढ्दो छ । अनियमित वर्षा, खडेरी, बाढी, र प्राकृतिक प्रकोपले कृषि उत्पादनमा ठूलो असर पारिरहेको छ । यस्तो अनिश्चित वातावरणमा किसानहरू जोखिम लिन डराउँछन् र व्यवसायीक रूपमा लगानी गर्न हिच्किचाउँछन् ।
यद्यपि, यी समस्याहरूको समाधान असम्भव छैन । कृषि व्यवसायीकरणका लागि केही महत्वपूर्ण उपायहरू अवलम्बन गर्न सकिन्छ । पहिलो, आधुनिक प्रविधि र यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्छ । दोस्रो, सहकारी वा समूह खेतीको माध्यमबाट सानो जमिनलाई एकीकृत गरी ठूलो स्तरमा उत्पादन गर्न सकिन्छ । तेस्रो, बजार व्यवस्थापन सुधार गर्दै किसानलाई उचित मूल्य सुनिश्चित गर्नुपर्छ । चौथो, सिंचाइ, सडक, भण्डारण, र प्रशोधन जस्ता पूर्वाधारमा लगानी बढाउन आवश्यक छ । त्यसैगरी, किसानलाई सहज ऋण, बीमा सुविधा, र प्राविधिक तालिम उपलब्ध गराउनुपर्छ । नीति कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता आवश्यक छ । युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न नवीनतम प्रविधि, स्टार्टअप, र उद्यमशिलता प्रवर्द्धन गर्नुपर्छ ।
निष्कर्षमा भन्नुपर्दा नेपालको कृषि क्षेत्र व्यवसायीक हुन नसक्नुका पछाडि धेरै संरचनात्मक, आर्थिक, र सामाजिक कारणहरू रहेका छन् । तर उचित योजना, प्रभावकारी कार्यान्वयन, र दीर्घकालीन सोचका साथ यी चुनौतीहरूलाई अवसरमा परिणत गर्न सकिन्छ । यदि कृषि क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धात्मक, र लाभदायक बनाउने हो भनेमात्र नेपाल आत्मनिर्भर र समृद्ध राष्ट्र बन्न सक्नेछ ।