काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढेको छ । प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, कार्तिक १७ गते, २०८२ साल)मा भएको व्यवस्थाअनुसार छुट भएका ८ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको हो । प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ ।
बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ बनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शितल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लम्जुङ रहेका छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी सञ्चालक समितिले लिएको छ ।